विर्तामोड ।

झापा क्षेत्र नं–५ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. खगेन्द्रपाण्डव अधिकारीले दुई तिहाई बहुमतको सरकार सम्हाल्न नसक्ने व्यक्तिलाई अब जनताले जिम्मेवारी सुम्पन नहुने धारणा राख्नुभएको छ ।
आगामी मंशिर ४ गते हुन लागिरहेको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनबाट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वार अधिकारीले दमक वडा नम्बर–८ को घरदैलो कार्यक्रममा आयोजना गरिएको कोणसभामा बोल्दै यस्तो धारणा राख्नुभएको हो ।
डा. अधिकारीले यस अघिको निर्वाचनमा दुई तिहाईनजिक बहुमतसहित निर्वाचित भएका तत्कालीन प्रधानमन्त्री के.पी. ओलीले त्यसलाई सम्हाल्न नसकेकोे बताउँदै जनताले अब जिम्मेवारी नसुम्पने विश्वास ब्यक्त गर्नुभयो । इतिहासमै शक्तिशाली सरकार बनेको भनेको भएपनि केपी ओलीको दम्भ र घमण्डका कारण मुलुक अस्थिरतामा फसेको बताउँदै डा. अधिकारीले अब नागरिकहरु स्थिरताको पक्षमा रहेको बताउनुभयो । आफुहरु जितको नजिक पुगिसकेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा ख का उम्मेद्वार गगन पुरीले कांग्रेस र माओवादी मिल्दा मुलुकको द्वन्द व्यवस्थापन भएको साथै दुवै दलको मेलका कारण मुलुकमा संबिधान जारी भएको उदाहरण दिँदै अब कांग्रेस माओवादी, एकिकृत समाजवादी सहितका दलहरुको गठबन्धनले मुलुकलाई बिकास र समृद्धिका मुद्दालाई अघि बढाउने बताउनुभयो ।
यसअघि पटक–पटक उएटै व्यक्तिलाई जिताएर पठाए पनि झापा क्षेत्र नं–५ का नागरिकको अवस्था जहाँको तहिं रहेकोले अब नागरिकहरुले परिवर्तन चाहेको उहाँले बताउनु भयो ।


























