बिर्तामोड ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा (एमाले) को सरकार बन्ने दावी गरेका छन् ।
अब कुनै पनि जालझेलले नेकपा (एमाले) लाई फरक पर्ने वाला छैन– अध्यक्ष ओलीले भने– गठबन्धनका नाममा जति नै गठबन्धन गरिए पनि त्यो अब नेपाली जनताले पत्याउनेवाला छैनन्, तसर्थ चुनावपछि नेकपा (एमाले) को सरकार बन्ने निश्चित छ ।
झापाको अर्जुनधारास्थित सुखानी शहीद स्मृति पार्क (सालवारी) मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने दावी गरे ।
उनले राष्ट्र निर्माणको गहन जिम्मेवारी लिएर हिँडेको एमालेलाई कुनै पनि गठबन्धनले रोक्न नसक्ने बताउँदै परमादेशबाट आएको सरकारको समय समाप्त भएको बताए ।
अन्त कतै उम्मेदवार नभेटेपछि हाम्रै मान्छे चोरेर गठबन्धनले झापा २मा उम्मेदवार बनाएको रहेछ, अब आफैं भन्नुहोस् यहाँ त यस्तो हाल छ, गठबन्धनको झन् देशभरको अवस्था कस्तो होला ? – अध्यक्ष ओलीले भने ।
झापा २ मा नेकपा (एमाले) सँग कुनै प्रतिष्पर्धा हुँदैन– अध्यक्ष ओलीले भने– यहाँ उम्मेदवार रहेका देवराज घिमिरे झापाको मात्रै होइन बिगत ४८ वर्षदेखि साविक मेची अञ्चलका आधाजसो मानिसको घर–घरमा जनताका काम गर्न पुग्नु भएको छ, त्यो अर्थमा पनि उहाँको जीत निश्चित छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरे, प्रदेशसभा सदस्यका उम्मेदवारद्वय एकराज कार्की र तिलचन पाठकले समेत बोलेका थिए ।


























