उम्मेदवारलाई टिकट किन्ने र भोज गर्ने पैसा कहाँबाट आउँछ ?:उदासी

0
225

बिर्तामोड।

वरिष्ठ अधिवक्ता एवम् नेपाल कानून आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वसदस्य लीला उदासीले दल र उम्मेदवार विधि मिचेर जसरी पनि चुनाव जित्न लागीपरेको बताएका छन् ।

मंसीर ४को निर्वाचन कसरी स्वच्छ र धाँधलीरहीत तथा भयरहीत बनाउन सकिन्छ भनेर निर्वाचन आयोग र नागरिक समाज चिन्तित भएका बेला दलहरु जसरी पनि चुनाव जित्ने ध्याउन्नमा लागेको उदासीले बताए । उनले भने– ‘चुनाव जित्नुपर्छ, जित तर स्वच्छ र आचरण र विधिपूर्वक लडेर जित ।’

स्वच्छ, विश्वसनीय, निर्वाचनका लागि सबैले खबरदारी गर्नुपर्ने उदासीको भनाइ छ । निष्पक्ष निर्वाचन हुन्छ भनेर निर्वाचन आयोगको मात्र पूर्ण भर पर्नु भ्रम हुने बताउँदै उदासीले भने– ‘आयोगको मूल भूमिकामा प्रश्न उठ्न थालेको छ, यो राम्रो होइन ।’

आयुक्तहरुको नियुक्तिको नियत र आस्थाले आयोग प्रभावित हुन नहुनेमा जोड दिँदै उदासीले नियुक्ति जसरी भए पनि प्राप्त जिम्मेवारीमा इमान्दार हुनुपर्ने बताए । उनले उम्मेदवारहरुका भाषण अरुलाई गाली गर्ने र आरोप लगाउनेमै सीमित बन्ने गरेको भन्दै जनताको मन खिच्ने योजना कोहीसँग नभएको बताए । जनतामा निर्वाचनप्रति उत्साह नभएको पनि उनको भनाइ छ ।

निर्वाचनको बेथितिबारे चिन्ता व्यक्त गर्दै उदासीले प्रश्न गरे– उम्मेदवारलाई टिकट किन्ने र भोजभतेर गर्ने पैसा कहाँबाट आउँछ ? निर्वाचन आयोगले खर्चको सीमा तोकेको छ, यो खर्च गर्ने पैसा पनि कहाँबाट आउँछ ? कमिशन हो कि जग्गा बिक्रीबाट ? दल तथा उम्मेदवारले यसरी हुने खर्चको स्रोत किन पारदर्शी गर्दैनन् ?

अहिले ‘नो भोट’ को कानूनी व्यवस्था नरहेका कारण भोट नदिन पाउने मतदाताको अधिकार कुण्ठित भइरहेको उदासीको भनाइ छ । सर्वोच्च अदालतले यस सम्बन्धी कानून बनाउन आदेश दिए पनि नो भोट बारे कानून बनाउन दलहरु उदासिन भएको उदासीले बताए ।

उनले भोट नदिन पाउने अर्थात् नो भोटको अधिकार सुरक्षित गर्न पनि आग्रह गरे । उदासीले मंगलबार बिर्तामोडमा आयोजित नागरिक समाजको एक कार्यक्रममा उक्त धारणा राखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here