पहिले सहयात्री, अहिले प्रतिष्पर्धी

0
232

प्रकाश नेपाल,
इलाम।

इलाममा प्रतिनिधिसभा सदस्यका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय राजनीतिमा स्थापित शीर्ष नेताहरूसँग जिल्लाका दुई प्रमुख पार्टीका जिल्ला अध्यक्षहरूबीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाली राजनीतिमा ‘हेभिवेट’ मानिने नेता नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको चुनावी जिल्ला हो इलाम । विगत वर्षहरूमा एउटै पार्टीबाट दुई क्षेत्रबाट निर्वाचित हुँदै आएका उनीहरूले यसपटक फरक–फरक दलबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

मंसीर ४ गते नजिकिँदै गर्दा इलाममा थप चुनावी माहोल तातिएको छ । यतिबेला उम्मेदवारहरु मतदाता रुझाउन व्यस्त देखिन्छन् । अहिलेका युवाहरु नयाँ उम्मेदवारीको कुरा गरी रहेका छन् भने कोही भने विकास बुझेको नेताको खोजीमा रहेका छन् । कतिपय उम्मेदवार भने कसैलाई सुइँको नदिई यतिबेला सुटुक्क घरगाउँ पसिरहेका छन् त कोही चोक–चोकमा आफ्ना एजेण्डा सुनाइरहेका छन् । चुनावी प्रतिस्पर्धा त मत परिणामसँगै आउने नै छ । तर, यसपटकको निर्वाचन भने इलाममा रोचक हुने देखिन्छ ।

दुई बटा निर्वाचन क्षेत्र रहेको इलाममा यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाल र संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गर्दै आएका छन् । स्कूल, कलेज हुँदै लामो राजनीतिक यात्रासमेत सँगै तय गरेका पूर्वप्रधानमन्त्री खनाल र संविधानसभा अध्यक्ष नेम्वाङ पहिलोपटक इलाममा फरक दलबाट चुनावी परीक्षामा होमिँदैछन् । इलाम प्रतिनिधिसभा क्षेत्र नं. १बाट चुनाव लड्दै आएका खनाल यसपटक नेकपा (एकीकृत समाजवादी)का तर्फबाट चुनावी प्रतिष्पर्धामा रहेका छन् भने नेम्वाङ आफ्नो पुरानो क्षेत्र इलाम क्षेत्र नबर २मा नेकपा (एमाले)बाट चुनाव लड्दैछन् । खनालको यो संसदीय चुनावी यात्रा लगातार सातौं पटक हो । यता नेम्बाङको संसदीय चुनावी यात्रा लगातार पाँचौं हो ।

कसलाई कति सहज ?

पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर १बाट निर्वाचन लड्दैछन् । २०५६ सालमा नेपाली कांग्रसेका उम्मेदवार बेनुपराज प्रसाईंसँग पराजीत उनी, बाँकी पाँच वटा निर्वाचनमा निर्वाचित भएका थिए ।
नेकपा एमालेबाट लगातर चुनाव जितेका उनी योपटक पाँच दलीय गठबन्धनको सहारामा नेकपा एकीकृत समाजबादीबाट चुनाव लड्दैछन् । उनले यो चुनाव आफ्ना लागि अन्तिम भएको बताउने गरेका छन् । जुनसुकै मूल्य चुकाएर भए पनि योपटकको चुनाव जित्नुपर्ने उनलाई दवाव छ । यदि गठबन्धनले इमान्दार भएर सहयोग नगरेको खण्डमा योपटकको चुनाव जित्न उनलाई निकै कठिन पर्ने देखिन्छ ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसंग तालमेल गरेर झलनाथ खनाल १७ हजार २ सय ६७ को फराकिलो मतान्तरले बिजयी बनेका थिए । नेपाली काग्रेसका उम्मेदवार भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३८ मत प्राप्त गर्दा खनालले ३६ हजार ८ सय ५ मत पाएका थिए । आगामी मंसीरमा भने खनाललाई विगतमा जस्तो चुनाव जित्न सहज छैन । स्थानीय तहको निर्वाचनकोे नतिजाले पनि खनाललाई एक्लै चुनाव जित्न कठिन हुने देखिन्छ । त्यसैले उनी काग्रेस सहितको पाँच दलीय गठबन्धनको सहारामा चुनावी प्रतिस्पर्धामा छन् । तर, यता खनाल भने कुनै शंका नमानी चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।

खनालको निर्वाचन क्षेत्रमा सूर्याेदय र माई नगरपालिका तथा माइजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका गरी ५ स्थानीय तह रहेका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा क्षेत्र नम्बर १मा नेकपा एस निकै कमजोर छ । सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एसका उम्मेदवार रणबहादुर राई बिजयी बनेका छन् । माई नगरपालिकाको प्रमुख र माईजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बिजयी बनेका छन् भने सन्दकपुर र रोङ गाउँपालिकाको अध्यक्ष नेपाली काग्रेसले जितेको छ । ३९ वटा वडा रहेको खनालको निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली काग्रेसले १६, एमालेले १५, समाजवादीले ७ र स्वतन्त्रले एक वडा जितेका थिए । खनालको जितका लागि पाँच दलीय गठबन्धनमध्येको कांग्रेसको भूमिका महत्वपूर्ण हुने देखिन्छ । यदि कांगे्रसका कार्यकर्ताले पार्टीको निर्देशन अनुसार इमान्दार भएर भोट दिएमा खनालको जित सुनिश्चित देखिन्छ ।

खनाल भर्सेस बस्नेत

विगतका निर्वाचनमा खनालको प्रतिस्पर्धी काग्रेस बन्ने गरेको थियो । तर, योपटक खनाल आफ्नै पुरानो पार्टी नेकपा एमालेसंग चुनावी मैदानमा होमिएका छन् । खनालसँग एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतको प्रतिस्पर्धा हुँदैछ । बस्नेत दुईपटक इलाम नगरपालिकाको प्रमुख भइसकेका व्यक्ति हुन् । लामो समयदेखि पार्टीमा राम्रो पकड बनाएका बस्नेतका लागि पनि यो निर्वाचन भने फलामे चिउरा बन्ने देखिन्छ ।

किनकि बस्नेतको प्रतिस्पर्धा हेबीवेट नेतासँग रहेको छ । २०४८ सालदेखि अधिकांश निर्वाचनमा सहजै जित निकाल्दै आएका खनाल आगामी चुनावमा भने त्यति सजिलो सुविधामा छैनन् । २०५६ सालमा कांग्रेसका बेनुपराज प्रसाईसंग पराजित बनेका खनालले यसपटक गठबन्धनका दलहरुको मत सुरक्षित पार्नुपर्ने चुनौति छ । यदि गठबन्धनबाट असहयोग भएमा खनालले २०५६ सालको नियति भोग्नुपर्ने छ ।

नेम्वाङ भर्सेस खड्का

इलामको निर्वाचन क्षेत्र नम्बर २बाट नेकपा एमाले बाट एमाले उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का चुनाबी मैदानमा रहेका छन् । खड्काको उम्मेदवारी सत्तारुढ गठबन्धनबाट रहेको छ । खड्काको उम्मेदवारी परे संगै इलाम क्षेत्र नम्बर २मा ०५६ सालदेखि अपराजित रहेका सुवासचन्द्र नेम्वाङलाई भने गठबन्धनले अप्ठ्यारो पार्ने देखिएको छ ।

यसपटकको निर्वाचनमा नेम्बाङलाई सत्ता गठबन्धन मुख्य चुनौति बन्नेछ । खड्का युवा नेता हुन् । यता विकास निर्माणको काम नगरेको भन्दै एमालेसँग इलाम–२ का मतदाताको असन्तुष्टि बढेको देखिएको छ । विशेषगरी राँके–रवि सडक नबनेकामा नागरिक असन्तुष्ट रहेका छन् ।

०७४ को संसदीय चुनावमा माओवादी र एमालेबीचको गठबन्धनबाट जितेका नेम्बाङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए । नेम्बाङको क्षेत्रमा यो पटक एमाले फुटेका कारण आफूले जित्ने कांग्रेसका जिल्ला अध्यक्ष डम्बर खड्काको दावी छ ।

एमालेको पकड मानिएको यो क्षेत्रमा चुनाव जित्ने रणनीतिका लागि कांग्रेससहित गठबन्धन दल लागीपरेका छन् । इलाम २मा २ नगरपालिका र ३ गाउँपालिका छन् । गत स्थानीय चुनावमा कांग्रेसले इलाम नगरपालिकाको मेयर–उपमेयर नै जितेको थियो भने एमालेले देउमाई नगरपालिकामा मेयर र उपमेयर जितेको थियो । यस्तै, चलाचुली गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । फाकफोक गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको थियो भने माङ्सेबुङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष गठबन्धनले जितेको थियो ।

प्रदेशसभामा को–को कता ?

उता प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ (१) मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकै नेतृ खिनु लङ्वा लिम्बू र एमालेकी शोभा पराजुलीबीच प्रतिष्पर्धा हुँदैछ । लिम्बू प्रदेश १की संस्कृति तथा पर्यटनमन्त्री हुन् भने पराजुली सन्दकपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् । क्षेत्र नम्बर १ (२) मा गठबन्धनका तर्फबाट कांग्रेसका शम्शेर राई र एमालेका दीपककुमार थेवेबीच प्रतिष्पर्धा हुँदैछ । राई रोङ गाउँपालिकाका निर्वातमान अध्यक्ष हुन् भने थेवे माई नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् ।

त्यस्तै क्षेत्र नम्बर २ (१) मा गठबन्धनकातर्फबाट कांग्रेसका गोविन्द गिरी र एमालेका गणेशप्रसाद बरालबीच प्रतिष्पर्धा हुँदैछ । गिरी पहिलोपटक संसदीय राजनीतिमा आएका हुन् भने बराल जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख हुन् । क्षेत्र नम्बर २ (२) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हर्क लावती (कान्छा) र एमालेका रामबहादुर मगर रानाबीच प्रतिष्पर्धा हुने भएको छ । लावती ०६४को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन सभामुख एमाले नेता सुवासचन्द्र नेम्बाङसँग क्षेत्र नम्बर २मा प्रतिष्पर्धा गरी पराजित भएका थिए । राना भने प्रदेश १का पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुन् ।

इलामको विकासमा उम्मेदवारको जोड

यतिबेला सबै उम्मेदबारले इलामको बिकासलाई मुख्य एजेण्डाका रुपमा राखेका छन् । सबैले इलामको बिकासलाई आधार बनाउर मतादाता रिझाउन व्यस्त देखिन्छन् । तर, यसपटक इलामका मतदाता भने बिकासका कुरामा मात्र सीमित राख्ने नभई बिकासप्रेमी नेतृत्को पर्खाइमा रहेका देखिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here