मर्यादा ननाघ

0
333

आसन्न निर्वाचनको निष्पक्षता माथि आशंका भइरहेका बेला कानूनका ज्ञाताहरुले पनि राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन आयोगको भूमिकामाथि सवाल गर्न थालेका छन् । सम्पूर्ण मतदाताहरुको बहुमतको निर्णयले प्रतिनिधि छानिने उपयुक्त विधि निर्वाचन नै हो । तर, पछिल्लो समय उम्मेदवारहरु जसरी पनि चुनाव जित्ने ध्याउन्नमा लागेको देखिन थालेको छ । मंगलबार बिर्तामोडमा नागरिक समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै झापाका बौद्धिक व्यक्तित्व लीला उदासीले उम्मेदवारहरु विधि मिचेर भए पनि चुनाव जित्ने दौडमा रहेको बताए । वरिष्ठ अधिवक्ता एवम् नेपाल कानून आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व केन्द्रीय सदस्य उदासीले स्वच्छ र विश्वसनीय निर्वाचनका लागि सबैले खबरदारी गर्नुपर्नेमा जोड दिए । निर्वाचनको निष्पक्षताका लागि निर्वाचन आयोगको मात्र भर पर्नु नहुने भन्दै उनले उसको मूल भूमिकामै प्रश्न उठ्न थालेको बताए ।

सार्वजनिक पद धारण गरेका व्यक्ति कुनै आस्था, विचार र सिद्धान्तले प्रभावित हुनुहुँदैन । तर, पछिल्लो समय हामीकहाँ संवैधानिक अङ्गहरुका नियुक्ति, तिनको भूमिका र कार्य सम्पादन विवादास्पद रहँदै आएका छन् । अहिले निर्वाचनको माहोल भएकाले सबैको ध्यान निर्वाचनतर्फ नै केन्द्रीत छ । उम्मेदवार तथा राजनीतिक दलहरु स्वस्थ प्रतिष्पर्धाभन्दा आरोप–प्रत्यारोप हुँदै हातपातमा समेत उत्रिन थालेका समाचार आउन थालेको छ । यस्तो बेला आफ्ना घोषणापत्र मार्फत मतदाताको मन जित्ने र योजना लिएर मत माग्नुपर्ने हो । तर, निर्वाचन पैसा, पद र बाहुबलको आधारमा सञ्चालन हुन थालेपछि त्यसको विश्वसनीयता र निष्पक्षता ओझेलमा पर्दै गएको छ ।

उम्मेदवार बन्न कै लागि पैसा तिर्नुपर्ने, मनोनयनपछि भोजभतेर गर्नुपर्ने, अझ मतदातालाई नगद नै दिनुपर्ने परिपाटीको विकास हुन थालेको भन्दै सरोकारवालाहरुले चिन्ता प्रकट गर्न थालेका छन् । यसले निर्वाचनलाई विकृत बनाउने मात्र होइन राजनीतिक प्रणालीलाई नै असफल बनाउँछ । राजनीतिक उपलब्धीलाई संस्थागत र स्थायी बनाउनका लागि समेत निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहीत ढंगले सम्पन्न हुनुपर्छ । तर, त्यस विपरीत आज उम्मेदवारहरु असंयमीत, असहिष्णु, अमर्यादित, अशिष्ट र अशोभनीय व्यवहार देखाउन थालेका छन् । उम्मेदवारहरुको आचरण, नैतिकता र इमान्दारिता देखिने बेला पनि यही हो । तसर्थ, विधिको पालना गरेर जनताको मन जित्ने प्रयास गर्नु उनीहरु कै हितमा हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here