यस्तो छ अपुतालीको सम्पत्ति सम्बन्धी कानूनी व्यवस्था

0
520

जसको नाममा सम्पत्ति छ उसको मृत्युपछि त्यसको हकवाला को हुन्छ भन्ने सन्दर्भमा हाम्रा बुझाई फरक–फरक हुन सक्छन् । कतिपय अवस्थामा सम्पत्ति मालिकको निधनपश्चात त्यो सम्पत्ति हत्याउन दाउँमा विभिन्न किसिमका अपाराधिक घटनाहरु समेत घटने गरेका छन् । यस सन्दर्भमा कानूनमा के छ भन्ने कुरा धेरैलाई जानकारी नहुन पनि सक्छ । सर्वप्रथम हामीले अपुताली सम्पत्ति भनेको के हो भन्ने कुरा बुझ्न जरुरी छ । मुलुकी देवानी संहिताको परिच्छेद ११ मा अपुतली सम्बन्धि व्यवस्था छ । जसले मृतकको ऋण, धन र सम्पत्ति सम्बन्धी दायित्व र अधिकार कानून बमोजिम नजिकको हकवालामा सर्ने कार्यलाई अपुताली भनी व्याख्या गरेको छ ।

निःसन्तान व्यक्तिको मृत्यु भएमा उनको अपुताली खुला भएको मानिने व्यवस्था कानूनले गरेको छ । त्यसरी कुनै व्यक्तिको मृत्यु भई अपुताली खुला भएमा उनको नजिकको हकवालाले त्यस्तो अपुताली पाउने उल्लेख छ । यसरी अपुताली पाउने हकवालाको पनि प्राथमिकता क्रम तोकिएको हुन्छ । पहिलो क्रममा सगोलको पति वा पत्नी दोस्रो क्रममा सगोलको छोरा, छोरी, विधवा बुहारी तेस्रो क्रममा सगोलका बाबु, आमा, सौतेनी आमा, छोराछोरी तर्फका नाति, नातिनी, नातिनी बुहारी चौथो क्रममा भिन्न भएका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सौतेनी आमा पाँचौं क्रममा भिन्न भएका छोरातर्फका नाति, नातिनी, छैटौं क्रममा भिन्न भएका बाजे, बज्यै, सातौँ क्रममा सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारीलाई राखिएको छ भने आठौँ क्रममा सगोलका काका, काकी, भतिजा, भतिजी पर्छन् भने नवौँ क्रममा भिन्न भएका दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारीलाई राखिएको छ । मुलुकी देवानी सहिता २०७४को दफा २३९को (२) कुनै व्यक्तिको मृत्यु भई अपुताली खुला हुँदाका बखत प्राथमिकताक्रममा पहिलो प्राथमिकताक्रममा रहेको व्यक्ति भएसम्म त्यसपछिको प्राथमिकताक्रममा रहेको व्यक्तिले अपुताली नपाउने व्यवस्था छ ।

एउटै प्राथमिकताक्रमका एकभन्दा बढी हकवाला भएमा निजहरू सबैले समानरूपमा अपुताली पाउने व्यवस्था कानूनले गरेको छ । अपुताली पाउने प्राथमिकताक्रमको कुनै हकवालाले अपुताली लिन नचाहेमा सोही क्रमका अन्य हकवालाले र त्यस्ता क्रमका कुनै हकवालाले पनि अपुताली लिन नचाहेमा त्यसपछिको क्रमको हकवालाले अपुताली पाउने व्यवस्था छ ।
कुनै व्यक्ति नजिकको हकवाला हुँदाहुँदै आफ्नो अंश लिई टाढाको कुनै हकवालासँग बसेको अवस्थामा निजको मृत्यु भई अपुताली खुला भएमा त्यस्तो व्यक्तिको अपुताली त्यसरी सँगै बस्ने हकवालाले पाउने व्यवस्था कानूनले गरेको छ । कुनै व्यक्तिलाई नजिकको हकवालाले स्याहार–सम्भार नगरी टाढाको हकवालाले स्याहार–सम्भार गरेको रहेछ भने निजको अपुताली त्यसरी स्याहारसम्भार गर्ने हकवालाले पाउने व्यवस्था कानूनले गरेको छ ।

सगोलको हकवालाले राम्रो स्याहार–सम्भार नगरेको कारणबाट चित्त नबुझाई सम्पूर्ण सम्पत्तिसहित कुनै व्यक्ति आफ्नो अंश लिई भिन्न बसेको हकवालासँग बस्न गएको अवस्थामा मृत्यु भएमा उनको अपुताली त्यस्ता भिन्न भएका हकवालाले पाउने कुरा कानूनमा छ । तर, कुनै व्यक्ति आफ्नो अंश केही नलिई पाहुनाको रुपमा केही दिनको लागि मात्र कुनै हकवालासँग बस्न गएको अवस्थामा निजको मृत्यु भएमा त्यसरी पछि बस्न गएका हकवालाले अपुताली नपाउने व्यवस्था पनि कानूनले गरेको छ ।

त्यस्तै दफा २४४मा कुनै पनि व्यक्तिलाई अपुताली परेमा स्वीकार गर्नैपर्छ भन्ने बाध्यता छैन । कुनै व्यक्तिले अपुताली स्वीकार नगरेम त्यस्तो अपुताली परेको तीन वर्षभित्र त्यस्तो कुराको जानकारी सम्बन्धित जिल्ला अदालतलाई लिखित रूपमा दिनुपर्ने व्यवस्था कानूनले गरेको छ । कानूनमा तोकिए बमोजिमको अवधिभित्र अपुताली स्वीकार नगरेमा त्यस्तो अपुताली त्यसपछिका प्राथमिकता क्रमको अन्य हकवालामा सरेको मानिने व्यवस्था कानूनमा छ । कुनै हकवालाले अपुताली स्वीकार नगरेमा पनि निजले मृतकको रीत, परम्परा अनुसार सद्गत भने गर्नुपर्ने कानूनमा छ ।

त्यस्तै दफा २४५ मा कसैले कुनै अपुताली पाउने वद्नियतले कसैको ज्यान लिएमा वा लिन लगाएमा त्यसरी ज्यान लिने वा लिन लगाउने व्यक्ति र उनको हकवालाले मृतक वा उनको हकवालाको अपुताली नपाउने व्यवस्था कानूनमा छ । कानूनले अपुताली पाउने व्यक्तिको दायित्व तथा अधिकारको समेत उल्लेख गरेको छ । जस अनुसार अपुताली पाउने व्यक्तिले मृतकको रीत परम्परा अनुसार सद्गत तथा किरिया गर्नु वा गराउनुपर्ने, मृतकले लिएको ऋण साहूलाई भुक्तानी गर्नुपर्ने, र मृतकले दिएको ऋण तथा लगानी गरेको सम्पत्ति माथि निजको अधिकार हुने व्यवस्था गरेको छ ।

कुनै व्यक्तिको मृत्यु भई उनको सदगत तथा किरिया अपुताली पाउने व्यक्ति बाहेक अन्य व्यक्तिले गरेको भए अपुताली पाउने व्यक्तिले मृतकको सद्गत तथा किरिया गर्दा लागेको खर्च र त्यस्तो खर्चको थप पच्चीस प्रतिशत रकम त्यसरी सदगत तथा किरिया गर्ने व्यक्तिलाई दिनुपर्ने व्यवस्था गरेको छ । कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका साहू भएमा त्यस्ता साहूले अपुताली पाउनेबाट ऋण तथा दायित्व भराई लिन सक्ने व्यवस्था छ । तर, मृतकको सम्पत्ति भन्दा बढीको ऋण तथा दायित्व अपुताली पाउने व्यक्तिले तिर्न बाध्य हुने छैन ।

दर्फा २४८ मा कुनै व्यक्तिको अपुताली खुला भई हकवाला नभएमा वा भए पनि उनले त्यस्तो अपुताली स्वीकार नगरेमा मृतकको सद्गत तथा किरिया गर्दा लागेको खर्च कटाई र निजका साहू भए साहूको रकम भुक्तानी गर्दा पनि सम्पत्ति बाँकी रहेकोमा त्यस्तो सम्पत्ति सम्बन्धित स्थानीय तहको हुने व्यवस्था छ । कुनै व्यक्तिको मृत्यु भएमा उनको कोही हकवाला रहेनछ र सम्पत्ति रहेछ भने उनको सदगत गर्ने वा हरहिसाब राख्ने व्यक्तिले त्यस्तो कुराको सूचना तुरुन्त सम्बन्धित स्थानीय तहलाई दिनुपर्ने, सूचना प्राप्त भएमा स्थानीय तहले कम्तीमा दुईजना स्थानीय व्यक्ति साक्षी राखी मृतकको सम्पत्तिको विवरण तयार गरी त्यसको एकप्रति मुचुल्कासहित सम्बन्धित जिल्ला स्तरीय प्रशासनिक कार्यालयमा पठाउनुपर्ने, सम्पत्तिको विवरणसहितको मुचुल्का प्राप्त भएमा मृतकको ठेगाना पत्ता लागेमा त्यस्तो कार्यालयले मृतकको हकवालालाई तीन महिनाभित्र मृतकको सम्पत्ति बुझ्न आउन कानून बमोजिम सूचना पठाउनु पर्ने व्यवस्था कानूनले गरेको छ ।

यसरी सूचना गरेकोमा हकवालाले सम्पत्ति स्वीकार नगरेमा वा कानून बमोजिमको म्यादभित्र मृतकको हकवाला उपस्थित नभएमा वा त्यस्तो हकवालाको ठेगाना पत्ता नलागेमा त्यस्तो कार्यालयले मृतकको कुनै हकवाला भए पैँतीस दिनभित्र मृतकको सम्पत्ति दाबी गर्न आउनु भनी राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । कानून बमोजिमको म्यादभित्र मृतकको हकवाला उपस्थित भएमा मृतकको सदगत गर्दा लागेको खर्च कटाई वा त्यस्तो खर्च सदगत गर्ने व्यक्तिलाई दिई त्यस्तो सम्पत्तिको दश प्रतिशत लिई बाँकी सम्पत्ति सम्बन्धित हकवालालाई फिर्ता दिनु पर्ने कानूनमा उल्लेख छ । दर्फा २५० मा हदम्याद सम्बन्धी व्यवस्था पनि गरेको छ । अपुताली खुला भएको मितिले तीन वर्षभित्र नालिस गर्न सकिने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here