विराटनगर,

मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ।
नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति समेत रहेका लिम्बू लाई सो क्षेत्रका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेद्वारको मनोनयनका लागि समय दिएको थियो।
नेपाली कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाइसकेको पुष्टि गरेका छन्। मानबहादुर लिम्बूले टिकट पाइसकेको बताउँदै उनले लिम्बूको मनोनयनको तयारी भइरहेको जानकारी दिए। थापाको हिजो बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा मृत्यु भएको थियो।
सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थापा असोज २३ गते उम्मेद्वारी दर्ता गराउँदा नै थापा बिरामी थिए। उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो।
थापालाई क्याप्सिका निमोनिया भएको थियो। उनलाई गत सोमबार बेड रेस्टको लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो। मन्त्री थापाको निधन पछि लिम्बूले टिकट पाएसँगै एमालेबाट उम्मेद्वार बनेका दिलिप राईसँग प्रतिस्पर्धा गर्ने भएका छन्। यसअघि को निर्वाचनमा एमालेलाई पराजित बनाउदै कांग्रेसका सुर्यमाराज राई विजयी बनेका थिए।

























