केशवटारमा पानीटयाङ्की निर्माण

0
178

तनहुँ,

व्यास नगरपालिका–१४ केशवटारमा एक लाख ८० हजार लिटर क्षमताको पानीटयाङ्की निर्माण गरिएको छ । नेपाल सरकारको रु सात करोड ७८ लाख लगानीमा एक घर, एक करेसाबारी कार्यक्रमअन्तर्गत खानेपानी आयोजनाको पानीटयाङ्की निर्माण गरिएको हो ।

खानेपानी आयोजना अन्तर्गत गजौदी खानेपानी आयोजनाको दुईवटा टयाङ्की निर्माण गरिएको वडासदस्य दुर्गाबहादुर आलेले जानकारी दिनुभयो । एउटा एक लाख ५० हजार र अर्को ३० हजार लिटर क्षमताको पानीको टयाङ्की निर्माण गरिएको वडासदस्य आलेले बताउनुभयो ।

आयोजनाबाट उक्त वडामा रहेको केशवटार, रुम्सी, नयाँगाउँ, ठीन, हर्कपुरलगायतका क्षेत्रका बासिन्दामा पानी वितरण गरिनेछ । खानेपानीको चरम समस्या रहेका ती गाउँका बासिन्दाले लामो दूरी हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको छ ।

तीन बर्षमा सम्पन्न हुने सो आयोजनाको लागि आर्थिक वर्ष ०७८÷०७९ मा रु.दुई करोड १० लाख वजेट विनियोजन भएर कार्यन्वयनको चरणमा रहेको वडासदस्य आलेले बताउनुभयो ।

दुईवटा रिजर्भ टयाङ्की, पाइपलाइन विस्तार र विद्युत् जडानलगायतका कार्य गरिएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि कृषि र उत्पादन क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास गरिएको वडासदस्य आलेले बताउनुभयो ।

आयोजना निर्माण सम्पन्नपश्चात कार्यन्वयनमा ल्याएपछि केशवटारलाई उत्पादनको हब बनाएर उत्पादनसँग जोड्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी हर्कपुर, रुम्सी र नयाँगाँउमा थप एक–एक लाख लिटर क्षमताको तीनवटा खानेपानी टयाङ्की निर्माण गरिनेछ । आयोजना सम्पन्नपछि हरेक घरमा करेसाबारी, सिँचाइका लागि उपयोगि हुने वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here