अफलाइनको तनाव …

२६ कार्तिक २०७९, शनिबार मा प्रकाशित

सँधै–सँधै दिनरात बोलिरहन खोज्ने उनको आज मेसेज आएन । मैले धेरैपटक मेसेज सेन्ड गरेँ पनि उनी अनसिन बनी बसिरहिन् । उनको अनलाइनमा हरियो बत्ती बलेपनि आज किन हो मेसेज बक्समा हरियो बत्ती बाल्दै टङ्ग आवाज निकालेर उनको मेसेज आएन ।

मलाई आज मेसेज गर्दै हेल्लो भन्न अफ्ट्यारो लाग्यो । मनमा सकस भयो । सँधै उनले हाँसेर बिहान आफैं एउटा फोटो पठाउँथिन् तर आज उनको मौनताले सबै वस्तु मेरोबिरुद्ध हिँडे जस्तै अनुभव गरिरहेको छु । काली फोटो पठाउन भनी लेख्न पनि डर लागेको छ । त्यति अनुरोध गर्नलाई मेरा आंैला कामिरहेका छन् । फोटो पठाउँदा पनि ठुस्स रिसाएर पठाउने हो कि भन्ने पनि पीर लागेको छ । कसरी अनुरोध गरौं देखिँदैन तर मुटुमा तीखो तीर लागेको छ ।

कस्तो बानी लाग्यो । कस्तो नशा लाग्यो, मलाई तिम्रो । कति समय म तिम्रो मीठो मुस्कान सम्झेर हाँसेको छु, तिमी सोच्न सक्दैनौ । मलाई औंशीको दिन पनि चन्द्रमा खुले जस्तो लागेको थियो । आंैशीको रातमा मैले तिमीलाई सम्झेर एक हरफ लेखेको थिएँ ।

नलेखौंभन्दा पनि मनले मानेन र
मेरा औंला आफै ंचलेको थियो ।
‘सुन न आज यो साँझ झिलमिल लाग्दैछ
किन हो मनमा अनेक कुरा जाग्दैछ
म सोच्छु खुशी छौ मेरो प्राप्तिमा
जुनकिरीको धिपधिप औंशीको यो रात्रीमा ।

सुन न आज यो साँझ रंगीन लाग्दै छ
तिमीसँगको साथ संगिन लाग्दै छ
म सोच्छु तिमी छौ मेरो समिपमा
तिम्रो प्रेमको आलिंगन मेरो नसिबमा ।

कस्तो अन्धकारमा उज्यालो चन्द्रमामा रमाइरहेको म एक्कासी कालो बादलले चन्द्रमालाई ढाके जस्तो.. एकैछिनमा ग्रहण लागे जस्तो लाग्यो । चन्द्रमा त नियमित प्रक्रिया हो भनी खुशी भएको होला तर मलाई त मन बुझाउन सारो लाग्यो ।

हँसिलो मुहारमा आज मुस्कान देख्दिनँ… हाँस्न खोजेका मेरा ओठलाई कालो बादलले चन्द्रमालाई घेरेको दृश्य देखिरहेका आँखासँग जलन भएको छ । किन त्यस्तो दृश्य यी आँखा ले हेरिरहेका छन् । किन मनलाई अन्धकार बनाई अशान्त पार्दै त्यो बादलले मज्जा लिइरहेको छ ? अचम्म छ समय । किन हो साथ दिइरहेको छ, त्यस ग्रहणलाई । किन समयले छिटो ग्रहण हटाउन नसकेको ? अदृश्य देखिरहेको चन्द्रमालाई म अब कति समयपछि त्यही उत्साका साथ पाउँछु ? प्रश्न चिन्ह छ मनमा । अनेकन बिचार उत्पन्न हुन्छ क्षणभरमा । आखिर किन म यसको भागिदार बनिरहेको छु ? आखिर मेरो कहाँ गल्ती थियो, जसले गर्दा म यति चुकिरहेको छु ।

समयले त मलाई धेरै पाठ सिकायो । अहिले पनि सिकाउँदै छ पर्खनलाई, धैर्य गर्नलाई । म भने सायद बढी भाबुक भएको हुँला तर आशाबादी बनीमाथि गगनमा पारि क्षितिजसम्म हेरिरहेको छु । एकपटक त त्यो बादलले घेरा हाल्न छोड्ला । चाँडै त त्यस ग्रहण हट्ला अनि साथ देला मेरो । चन्द्रमाको मुहारमा उज्यालो पुनः आउनेमा विश्वस्त छु । बिश्वस्त छु समयको परिभाषा बुझ्न । समय चक्र जस्तो चलोस् आजसम्म ग्रहण यति लामो लागेको थाहा थिएन ।

शायद चन्द्रमा र मबीचमा ग्रहणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो उपस्थिति दर्ता गराउन खोजेको होला । तर, म पनि कहाँ हार मान्छु र हेरांै कहिलेसम्म हाम्रो मिलनमा ग्रहण भिलियन हुन्छ । सिसा टुक्रा–टुक्रा भएर फुटेझैं ग्रहणको घमण्ड त्यसरी नै टुट्ने छ म पर्खिरहेको छु समयलाई । ग्रहण तंैले जित्न पाउँदैनस् । मलाई थाहा छ चन्द्रमा मेरो खुशी चाहन्छ । पक्कै पनि मलाई निराश र निरस बनाउने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here