अमेरिका बस्ने छोरालाई

२६ कार्तिक २०७९, शनिबार मा प्रकाशित

चित्रदेव कट्टेल,

प्यारो पुत्र शतायु बाँच सुखले रम्दै बधू साथ
हेर्दै देश घुमेर खानु बढिया छोरो लिँदै काखमा ।।
धेरै भाकल वर्त यज्ञ गरियो मागेर छोरो अघि
तिम्रो जन्म हुँदा रमेर घरमा डाकेर साथी सँगी ।।
लायौं भोग अनेक अमृत सरी मीठा सबै व्यञ्जन
तिम्रा दुःख गए भविष्य बनियो भन्थे सबै सज्जन ।।
तिम्रो यौवनको सुस्वागत गरी लक्ष्मी भनौं या बधू
भित्र्यायौं घरमा झरे नयनका थोपा खुशीका मधू ।।
‘आमा जान्छु अमेरिका तिर म ता लाने बधू साथमा
फर्कन्छौं घरमा ढिलाइ नगरी थैलो लिँदै हातमा ।।’
भन्दा आँसु लुकाइभित्र दिलमा टीका र माला गरी
पाएथ्यौ त्यसरी बिदा कठिनले बिस्र्यौ छिटै के गरी ।।

वर्षौं वर्ष बिते नफर्की घरमा बेहाल हाम्रो भयो
बुढ्यौली बहु रोगले ग्रसित छौं, मर्ने न बाँच्ने भयो ।।
बग्दा आँसु सुके गडे नयन यी सुख्खा र टोड्का भए
झर्दा दाँत गडे कपोल यसरी खोक्रा र खोप्ला भए ।।
मासी छैन शरीरमा सुकि गयो कंकाल मात्रै छ यो
खाने खाद्य जुटाइ खान नसकी मर्ने त बेला भयो ।।
पैसाको तुलना हुँदैन कहिले माता पिता जे जति
पैसा उद्यम सीपले र बलले बर्षन्छ एतै कति ।।
हाम्रो यो गति भो थला परिसक्यौं बाँझो छ टारी पनि
रुन्छन् आँगनमा यी स्याल दिउँसै बाँझो छ बारी पनि ।।

कैले नून हुँदैन रत्ति घरमा चिल्लो र पिठो कता
झट्टै आउ न बाबु नाति सँगमा सम्झेर माता पिता ।।
आमाले जति गर्दथिन् अझ बढी पायौ कि माया दिने
भन्दा सुन्दर जन्मभूमि बढता पायौ कि छाया दिने ।।
बिर्सेमा जननी स्वदेश र पिता उज्जण्ड छोरो भयो
इच्छा अन्तिम नातिको घिडघिडो हेरेर मर्ने थियो ।।
मेरो अन्तिम पत्र हो बुझ कुरा छोरो बुहारी दुबै
पश्चाताप नहोस क्यै पछि कतै सुन्दा मरेछन् कठै ।।
त्यै हो वीर सपूत देश र बुवा आमा अझै खातिर
गर्दै पौरख देशमा प्रगतिका चोला उठोस् आखिर ।।

बिर्तामोड, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here