पार्थ मण्डल,
झापा।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले धार्मिक, जातीय र सद्भाव बिथोल्ने गरी समाजमा घृणा पैदा गर्ने खालका गतिविधि विपक्षी दलबाट भइरहेको आरोप लगाएका छन् ।
झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका राप्रपा अध्यक्षले लिङ्देनले शनिवार दिउँसो भद्रपुरमा आयोजित संक्षिप्त पत्रकार भेटघाटमा यस्तो आरोप लगाएका हुन् ।
‘जात र धर्मको विवाद सृजना गर्ने काम कसैले गर्छ वा सोच्छ भने त्यो भन्दा ठूलो देशद्रोही अरू कोही छैन’– राप्रपा अध्यक्ष लिङ्देनले भने– ‘जात र धर्मको आधारमा चुनाव लड्ने कुचेष्टा गर्ने व्यक्ति देशद्रोही हो ।’ ‘निर्वाचनको मुखमा आएर जात र धर्मको आधारमा राजनीति गर्ने, दुष्प्रचार गर्ने व्यक्तिको म निन्दा गर्छु’– उनले भने ।
केही दिनअघि नेपाली कांग्रेसको प्रायोजनमा जनजाति महासंघको एउटा भेला बोलाइएको थियो । त्यस भेलामा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको उपस्थिति रहन्छ भनेर जनजाति समुदायलाई आमन्त्रण गरिएको थियो ।
‘तर, त्यस भेलामा मलाई निम्तो त परै जाओस् कुनै प्रकारको जानकारी समेत गराइएको थिएन’– उनले भने– ‘त्यही भेलामा प्रायोजकले जनजाति विरोधी राजेन्द्र लिङ्देन, जनजातिको सभामा आउन डराउनु भयो, उहाँ भाग्नुभयो भनेर गलत प्रचार गराइयो ।’ त्यो कार्यक्रममा हामीप्रति घृणा पैदा गर्ने काम भयो, भ्रम फैलाइयो । म जातीय पहिचान विरोधी नभएको स्पष्ट पार्दै उनले भने– ‘त्यो कार्यक्रममा कसैले मलाई निमन्त्रणा गरेको प्रमाणित गर्छ भने म जुनसुकै सजाय भोग्न तयार छु र मेरो उम्मेदवारी छाडेर कृष्णप्रसाद सिटौलालाई सघाउँदै हिँड्न पनि तयार छु ।’
यस्तो भ्रामक प्रचारको पछि नलाग्न उनले सबैमा आग्रह गरेका छन् । जनजाति होस् वा अन्य कुनै पनि जाति होस् आफ्नो धारण स्पष्ट राख्ने मान्छे हुँ । जुनसुकै मञ्चमा यस क्षेत्रका सबै उम्मेदवार वा अरू कोहीसँग पनि बसेर छलफल गर्न र जवाफ दिन तयार छु । ‘म जबाफदेहीताबाट नभाग्ने सबैमा प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छु’– उनले भने ।
कतिपय जातीय संस्थाहरूले धेरै राम्रै कामहरू गरेका छन् । ‘कतिपयले जनजातिको नाममा जनजातिलाई भेला गर्ने अनि जनजातिलाई एक छाक वा एक ट्वाकमा बेच्ने जुन कामहरू भइरहेको छ, त्यसको म खुलेर निन्दा गर्छु’– उनले भने– ‘त्यस्तो समुदायबाट जनजातिका दिदीबहिनी, दाजुभाइहरूलाई सतर्क रहन सञ्चारमाध्यमबाटै अपिल गर्न चाहन्छु ।’
कुनै जात विशेषका अल्पसंख्यक समुदायले राज्यबाट प्राप्त गरी राखेको आरक्षण कोटाको विरोधी आफू नरहेको बताउँदै उनले भने– ‘आरक्षणमा कोटामा नपरेका अन्य जातका गरीब समुदायले पनि आरक्षण पाउनुपर्छ भन्ने मेरो धारणा हो ।’
झापामा राप्रपा र नेकपा (एमाले)बीच भएको चुनावी तालमेलले नतिजा निकाल्न कुनै समस्या छैन । त्यो गत स्थानीय तहको निर्वाचनको नतिजा र गणितले पनि देखाइसकेको छ । अहिले झापा ३मा १२ देखि १३ हजार मतले आफूहरु अगाडि रहेको उनले दावी गरे । राप्रपा र एमालेका कार्यकर्ता आफ्नो अडानबाट पछि नहट्ने उनले स्पष्ट पारे ।


























