अर्जुनधारा, झापाको अर्जुनधारा–८स्थित अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारी संस्थाले उत्पादन गरेको धानको बीज वृद्धी कार्यक्रम अन्र्तगत आइतबार धान बालीको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ ।
अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र कृषि अनुसन्धान निर्देशनालय तरहराका निर्देशक केशव श्रेष्ठको संयुक्त नेतृत्वमा उक्त अनुगमन तथा निरीक्षण गरिएको हो ।
नगरपालिकालाई धानको बीजमा आत्मनिर्भर बनाउने उद्देश्यले संस्थाले अनुमानित ५० विगाह क्षेत्रफलमा यस वर्षदेखि सात वटा जातको धानको बीज कृषकहरुलाई वितरण गरेको संस्थाका कार्यवाहक अध्यक्ष छत्र पौडेलले जानकारी दिए ।
उक्त टोलीमा अर्जुनधारा–७ वडा समितिका वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीया “अस्मिता”, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदी, कृषि विकास फार्म चन्द्रडाँगीका वरिष्ठ बाली विकास अधिकृत वीरेन्द्रराज पराजुली, कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्ट, पशुपन्छी, मत्सय तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राई, कृषि विकास शाखाकी प्रमुख एन्जिला बिडारीलगायतको सहभागिता रहेको थियो ।
टोलीले अर्जुनधारा–७ कृषक शंकर यादवले तीन विगाहामा लगाएको मिथिला जातका धान बालीको अनुगमन तथा निरीक्षण गरेको थियो । विगत वर्षमा रञ्जित, ठूलो मुसुली जातलका धान बाली लगाउँदै आएको कृषक यादवले आफू यस वर्ष भने खुशी भएको दावी गरे । उक्त टोलीले नगरपालिकामा कृषि क्षेत्रको सम्भावना र त्यसको विकास गर्ने विषयमा अन्तरक्रिया पनि गरेको बताइएको छ ।































