नेतृत्वको ध्वंशात्मक होइन सृजनात्मक आलोचना गरौं

२८ कार्तिक २०७९, सोमबार मा प्रकाशित

हामी नेपालको संविधान २०७२ जारी भएपछिको दोस्रो आमनिर्वाचनको संघारमा छौं । जनताको अभिमतद्वारा निर्मित संविधानसभाबाट संविधान बनेपछिको दोस्रो आमचुनाव हुन गइरहेछ आगामी मंसिर ४ गते । यतिबेला आम निर्वाचन–२०७९ को तीब्र प्रचारप्रसार जारी छ र दल तथा दलका उम्मेदवारहरू मतदाताको ढोकासम्म गएर मत मागिरहेका छन् । हरेक मतदाताको घरघरमा, टोल–टोलमा पुग्नु भनेको कष्टसाध्य काम हो । मतदाताको दल र दलका उम्मेदवारप्रतिको विश्वासमा आएको कमीकै कारण मतदाता आफ्नो दलिनमा उम्मेदवार हेर्न चाहन्छ । विश्वास भएमा चुनाव चिन्ह वा पार्टीको आह्वानको भरमा मतदान गर्न मतदाता तयार हुने गरेका अनगिन्ती उदाहरण छन् । मेरो दलिन नटेक्नेलाई म मत दिन्न, मेरो आँगनसम्म चुनावका बेलामा आउन नसक्ने दुःख परेका बेलामा आएर कसरी सहयोग गर्छ भन्दै सर्वसाधारण मतदाता उँचो स्वरमा बोलिरहेका छन् ।

हुन त जनता शक्तिशाली भएको समय हो यो । दल र दलका नेतृत्वप्रति जनता आक्रोशित हुनु र ध्वंशात्मक आलोचनाको तहमा उत्रनु, नेताबाट केही भएन र भविष्यमा पनि केही हुन्न भन्ने सङ्कथन स्थापित गर्न कोशिस भइरहेछ वा आफैं त्यस्तो परिस्थिति निर्माण भइरहेछ । कोही–कोही नेताहरू नेताहरू र दलहरूप्रति नकारात्मक भावको विकास गर्न कुनै अध्याँरा कुनाबाट प्रयत्न भइरहेको आशंका गर्छन्, तर दलहरूले आफ्ना नीति, कार्यक्रम, प्रणाली, पद्धति र व्यवहार समीक्षा गर्न आवश्यक भइसकेको सच्चाइलाई बुझ्न जरुरी छ । दलहरूको भूमिका माथि नागरिकहरू सन्तुष्ट नभएको अनुभूति भएको छ । तर, यसको अर्थ गैरदलीय व्यवस्थाको पुनरावृत्ति सम्भव छैन । विचारधाराको राजनीति सकिएको हो भनी व्यापक बुझाइ विकास भइरहेको छ, तर वास्तवमा विचारविहीन दल र व्यक्ति हुँदैन । युवाहरूमा राजनीतिप्रति अविश्वास, अनास्था र मोहभङ्ग भएको कुरामा कुनै सत्यता छैन, किनभने विभिन्न प्रकारका स्वतन्त्रहरूको नाममा उम्मेदवारी भएको छ ।

२००७ साल, २०३६ साल, २०४६ साल, २०६२÷०६३ सालको जनआन्दोलन, जनसंघर्ष र जनविद्रोहको सफल नेतृत्व गर्ने दलहरूको लोकप्रियतामा केही न केही प्रश्न उठेको कुरा साँचो हो । जनता र मतदाताले दलसामु अजङ्गको प्रश्न तेर्साएका छन्– के सुधारको कुनै ठाउँ छैन ? प्रश्न अनुत्तरणीय छैन, तर कठिन छ जवाफ दिन । के नेपाली जनमत वैकल्पिक राजनीतिप्रति आकर्षित हुन खोजेको हो ? वास्तवमा राजनीतिक दलका नेतृत्वप्रति घृणा सबै मुलुकमा देख्न र सुन्न पाइन्छ । गत जुलाईमा जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई चुनावी सम्बोधनका क्रममा एक युवकले गोली हानी हत्या गरे, तर यसको पछाडि आममानिसमा बढ्दै गएको आम वेरोजगारी, तीब्र शहरीकरण र वातावरण असन्तुलन आदि हुन् । जापानलाई आधुनिक जापान बनाएका आबेको हत्याले विश्व नै आश्चर्यमा प¥यो । यस पटकको चुनावमा नेपालमा पनि कतै हातपात, अपशब्द प्रयोग वा यस्तै अप्रिय घटना घट्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । मुख्य गरी नेपालका पूर्वप्रधानमन्त्रीहरु त्यस्तै असुरक्षाको घेरामा रहेको सुरक्षाविद्हरू बताउँछन् । ‘नो नट अगेन’, ‘नो भोट’, ‘चुनाव बहिष्कार’ आदि जस्ता नारा वा अभियान राजनीतिक दल र तिनका नेतृत्वप्रतिको अविश्वास र अनास्था नै हो ।

हुन त यसका पछि अन्य कुनै दुराशय लुकेको नहोला भन्न सकिन्न । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, त्यसैगरी रामचन्द्र पौडेल, वामदेव गौतम, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेता अब जनताको निसानामा परिरहेका छन् । ती नेताहरूलाई पछिल्लो समय सामाजिक सञ्जाल मार्फत पनि उत्तिकै विरोध जनाउने गरिएको छ । नेताले गल्ती गर्दा आलोचना गर्ने काम लोकतन्त्रमा अति नै सामान्य कुरा हो । विगतका संघर्ष र आन्दोलनका जगमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको नाममा टेकेर मुलुकले कोल्टे फेर्नुपर्ने हो । तर, त्यसको नाममा टेकेर शीर्ष नेताहरूले गरेको देशमाथिको गद्दारी, बेइमान र धोकाका कारण जनता नेता तथा मन्त्रीहरूसँग जनता आक्रोशित छन् । तर, विरोधका नाममा उनीहरूलाई आक्रमण गर्ने, उनीहरूका कार्यक्रममा भद्दा ढङ्गले विरोध गर्ने, कालो झण्डा प्रदर्शन गर्ने लगायतका गतिविधि निश्चय नै आलोच्य छन् ।

अहिलेका विभिन्न घटना, परिघटना र परिदृश्यलाई हेर्दा विभिन्न समूह प्रतिकारमा उत्रने, गलत तरिकाले कार्यक्रम स्थलमा बाधा उत्पन्न गराउनेजस्ता क्रियाकलाप बढ्दै गएका छन् । यसैको पछिल्लो उदाहरण हो, गत सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा युवाको विरोध तथा प्रदर्शन । मुलुकका विभिन्न ठाउँमा नेताले केही गरेनन् भन्दै वा नागरिकता विधेयक खारेज गर वा लागू गर भन्दै नाराबाजी बढिरहेको छ । कार्यक्रममा जाँदा जनताले ढुङ्गा बर्साएको, बाटो छेकेको लगायतका घटना पनि आइरहेका छन् । मुलुकको हितलाई केन्द्रमा राखेर नेताहरूले कहिल्यै पनि काम गरेनन् र जनताको करमा भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने अनि आफ्ना स्वास्नी, छोराछोरी, नातागोतालाई देश–विदेश कहाँ हुन्छ राम्रो ठाउँमा पार्ने, बिरामी हुँदा आफूहरु विदेशमा उपचार गर्न जाने तर जनता रोग र भोकले आक्रान्त भएर मर्नुपर्ने अति दुःखदायी अवस्था छ । मुलुक विकासका ठूला–ठूला कुरा गर्ने प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरू बेथितिका वाहक बनेका समाचार पत्रपत्रिका र सञ्चारमाध्यममा प्रमुख स्थान पाउनु निश्चय नै विरसिलो कुरा हो ।

राणा, पञ्च र राजा फालेपछि मुलुकमा विकासको गति अघि बढ्ने आशा गरिएको थियो । नेपालमा कायापलट हुन्छ, नेपाललाई सिंगापुर, स्विटजरल्याण्ड कबोल गरेका र जनतालाई मीठो सपना बाँड्ने नेताहरु आफू बन्नु बाहेक गणतन्त्रपछि सही बाटोमा हिँड्न नसकेको सच्चाइलाई बुझ्न अनकनाउनु दुर्भाग्यपूर्ण कुरा हो । गणतन्त्रपछि नेताहरूले पटक–पटक निर्वाचन जितेपछि घुमीफिरी रुम्जाटार भने झैं आलोपालो गर्दै सरकारको नेतृत्वमा तिनै भए । यस्तो क्रम २०४६ सालपछि अहिलेसम्म दोहोरिरहेको छ । चुनावको बेलामा अति भएपछि अब भने जनताले विद्रोहको स्वर प्रस्फुटन गर्न थालेका छन् । मुलुकमा भएका वर्गीय विभेद अन्त्य गर्ने, शोषण दमनको समुल नष्ट गरी समाजवाद कायम गर्ने यी नेताको भाषण केबल भाषणमा सीमित भएको छ ।

के हामी राजनीतिक दलहरूको भविष्य सकिएको निष्कर्षमा पुग्न सक्छौं ? बहुदलीय व्यवस्थामा दलहरू हुनु र कार्यक्रम, नीति र कार्ययोजनाका आधारमा जनतालाई दल छनोट गर्न आवधिक निर्वाचन हुन्छ । अवश्य नै राजनीतिक दलको विकल्प राजनीतिक दल नै हुन् । पुराना सोच र क्रियाकलाप अँगाल्ने राजनीतिक दलले आफूलाई जनभावना अनुरूप बदल्न आवश्यक छ भनी पार्टीको हकमा नयाँ ढंगले आत्मसमीक्षा गर्न जरुरी छ । आम मतदाता पार्टीहरूसँग रिसाएर, निराश भएर वा योजनाको कमी भएर अरू विकल्प खोज्न चाहिरहेका छन् । कहिले काहीँ उम्मेदवारप्रतिको आकर्षणका कारणले पनि दलइतर स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न सक्छन् मतदाता । वास्तवमा आम मानिसले नयाँ विचार प्रवाहमा आफ्नो भविष्य खोजिरहेका छन् । हरेक दलले आत्मचिन्तन गर्ने र युगीन चेतको आवाजलाई सुन्न जरुरी छ ।

आजको निराशाको मुख्य कारण जनताका विचारलाई पार्टीका नीति, कार्यक्रम र कार्ययोजनाले छुन नसकेको र दलको विश्वासमा कमी आएको रूपमा बुझ्नुपर्छ । नयाँ पुस्ता नवीन ज्ञान, नवीन तकनिकी र नवीन सोच लिएका र उच्च शिक्षा हासिल गरेका युवाहरूको राजनीतिमा सकारात्मक सहभागिता जरुरी छ । नवीन सीप सिकेका युवाका सोच, विचार र सृजनाको ढोका बन्द गरेर मुलुकको परिवर्तन सम्भव छैन । हरेक राजनीतिक दलले ज्ञानको आँखा खोल्ने बेला आएको छ । राजनीति गर्ने कौशल, शैली, विचार सबै कुरा एक्काइसौं शताब्दी सुहाउँदो बनाउन जरुरी छ । आजको युग सहकार्य, अनुशरण र परिमार्जनको युग हो । अबको राजकीय क्षेत्रमा जाने नेतृत्व जनताको हितका लागि दलको नेतृत्वलाई सम्मान गर्दै, आफ्नो क्षमता र सपनालाई सार्वजनिक गर्दै, सहकार्य र सहयोगका लागि जनतालाई अपिल गर्न सक्ने नेतृत्व हुनुपर्छ, जनअपेक्षालाई आफ्नो मुख्य कार्य मान्ने नेतृत्व आजको खाँचो हो । आजको युग नवप्रवर्तनको युग हो ।

सूचना तथा सञ्चारको युग हो । अरुलाई इज्जत मर्यादा र पहिचान दिन विनम्रताका साथ नेतृत्वका गलत नीति तथा क्रियाकलापको आलोचना र खण्डन गर्न सक्ने नयाँ नेतृत्व जन्माउन सकेमात्र दलहरूले विमतिलाई आन्तरिक रूपमा हल गर्दै पार्टीलाई सबलीकरण गर्न सक्छन्, नागरिकहरू पनि पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको सकारात्मक प्रभाव महसुस गर्न सक्छन् र पार्टीका उम्मेदवारका पक्षमा उभिन सक्छन् । आजको नेतृत्वसँग जनतालाई मार्गदर्शन गर्ने समन्वयकारी क्षमता हुनु जरुरी छ । अहिले युगको आवश्यकता भनेको जागा नेतृत्व हो । आजको आवश्यकता भनेको जागृत मनुष्यको हो । आश र त्रासमा बाँच्न अभिषप्त नेता, कार्यकर्ता र नेतृत्वबाट केही अपेक्षा गर्न सकिँदैन । यदि दलले विकल्प दिन सकेनन् र फेरि पनि पराम्परागत दौडको पुनरावृत्ति भएमा जनताको विद्रोह स्वभाविक रूपमा प्रकट हुनेछ । अबको विकल्प भनेको यिनीहरु सच्चिएर आउनु, जनतासँग माफी माग्नु, मुलुकको नेतृत्वमा नयाँ पुस्तालाई अगाडि सार्नु हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here