विद्यार्थीलाई राजनीतिबाट मुक्त गर

२८ कार्तिक २०७९, सोमबार मा प्रकाशित

आसन्न निर्वाचनका सन्दर्भमा आचारसंहिता विपरीत बालबालिकाको प्रयोग भइरहेको भन्दै जिल्ला बाल सञ्जालले आपत्ति प्रकट गरेको छ । शनिबार आयोजित एक कार्यक्रमका वक्ताहरुले चुनावी कार्यक्रममा १८ वर्षमुनिका बालबालिका र विद्यार्थीलाई संगठित गर्ने, जुलुस तथा सभामा प्रयोग गर्ने गरेको देखिएको भन्दै सरोकारवालालाई त्यस्तो कार्य तत्काल रोक्न आग्रह गरेका छन् । संवाद समूह झापाको आयोजनामा ‘निर्वाचनमा बालबालिकाको प्रयोग न्यूनीकरणका लागि अपिल’ कार्यक्रममा सहभागी जिल्लाका विभिन्न बाल सञ्जालका प्रमुख तथा प्रतिनिधिहरुले दलहरुको त्यस्तो व्यवहारले विद्यार्थीको पठनपाठन र शैक्षिक वातावरणमा प्रत्यक्ष असर परेको बताए ।

निर्वाचनको दिन नजिकिँदै जाँदा ठूला राजनीतिक दलहरुले प्रचारप्रसारको कामलाई तीब्र बनाएका छन् । त्यसक्रममा आचारसंहिता मात्र होइन मानवअधिकारबिरुद्धका गतिविधि व्यापक भइरहेका छन् । चर्को स्वरमा बजाइएको माइक लगायतका ध्वनि यन्त्रको कारण वृद्धवृद्धा, बालबालिका र विद्यार्थी प्रभावित भइरहेका छन् । चुनावी गीत, चुनावी सभाका भाषण तथा सूचना प्रवाह गर्ने ध्वनि यन्त्रको चर्को स्वरले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । यद्यपि यस्तो आग्रह ठूला दलहरुसम्म पुग्दैन र पुगिहाले पनि निरर्थक हुन्छ तथापि बालबालिकाहरु पनि आफ्नो अधिकारप्रति सचेत छन् भन्ने दृष्टान्त भएको छ । बालबालिका ऐन २०७५ को दफा ६६ को उपदफा २ मा कुनै पनि राजनीतिक दलहरुले राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने, बन्द हड्ताल, चक्काजाम तथा सभाजुलुस जस्ता कार्यमा प्रयोग गर्न नहुने उल्लेख छ । तर, उक्त अधिकार र बन्देजको पं्रयोग तथा पालना भइरहेको छैन ।

हामीकहाँ ‘सानालाई ऐन–ठूलालाई चैन’ उखान चरितार्थ भइरहेकै छ । यसबेला चुनावको नाममा बालअधिकार नै हनन् हुने गरी भइरहेका गतिविधिप्रति स्थानीय सरकार, प्रशासन र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको छैन । आयोगले हस्तक्षेप गर्ने हो भने संविधानमै उल्लेखित प्रावधान अनुसार सीमा, मर्यादा र आचारसंहिता उल्लंघन गर्नेहरुलाई पचहत्तर हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद गराउन सकिन्छ । कानूनको कार्यान्वयन भए अरु कसैले पनि सीमारेखा उल्लंघन गर्ने दुष्प्रयास गर्ने थिएनन् । बाल सञ्जालको चासो केही ढिला भएको छ । चुनाव प्रचारप्रसारको उत्कर्षको समयमा रहेका दलहरु शक्ति प्रदर्शनलाई अजेय अस्त्रका रुपमा प्रयोग गर्दैछन् । मर्यादा, नैतिक बन्देज तथा सीमारेखा नाघेर ‘जसरी पनि चुनाव जित्ने’ दौडमा रहेका दलहरुका कानमा जिल्लाका बाल सञ्जालका प्रतिनिधि तथा सरोकारवालाहरुको आग्रह पुगोस् । अन्यथा आफैंले प्रतिबद्धता र स्वीकृति जनाएको विद्यालय शान्ति क्षेत्रको वाचा पनि उल्लंघन भएको ठहरिने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here