स्वअनुशासन कायम गर

२९ कार्तिक २०७९, मंगलवार मा प्रकाशित

आचारसंहिता स्वयम्लाई अनुशासित गर्ने डोरी हो । यसको प्रयोग प्रजातन्त्रको सुन्दर उपयोगका लागि गरिन्छ । अर्थात् आवधिक निर्वाचन प्रजातन्त्रको आधार हो र त्यसको निष्पक्षता प्रजातन्त्रको सौन्दर्य । यही सौन्दर्य कायम राख्न निर्वाचन आयोगले आचारसंहिता निर्माण गर्दछ र त्यसको अनुशरण गरे÷नगरेको नियमन सरकारले गर्नुपर्छ । अनुगमनका क्रममा आचारसंहिता उल्लंघन भएको प्रमाणित भए कार्यान्वयनमा लैजाने जिम्मेवारी पनि सरकारकै हुन्छ । त्यही उद्देश्य अनुरुप निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गरेर आचारसंहिता निर्माण गरी जारी गरेको पनि छ । तर, स्वअनुशासनको त्यो नैतिक बन्धन ठूला भनिएका दल, नेता, उम्मेदवार तथा स्थानीय सरकारमा सामेल जनप्रतिनिधिहरुबाटै उल्लंघन भएका घटना दिनहुँ सार्वजनिक भइरहेका छन् । त्यसैले आचारसंहिताको कार्यान्वयनको प्रभावकारीता र औचित्यमाथि सवाल उठ्न थालेको छ ।

निर्वाचन प्रणालीलाई मर्यादित, सभ्य, विश्वासयोग्य बनाउन लागू गरिएको आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभए निर्वाचन परिणामले वैधता प्राप्त गर्न सक्दैन । आउँदो मंसीर ४ गते हुने आमनिर्वाचनका लागि दलहरुकै सहमतिमा लागू गरेको संहिता उल्लंघनका घटना बढ्दै गएपछि आयोगले सम्बद्ध पक्षलाई दिनहुँजसो सचेत गर्दै आएको छ । उल्लंघनकर्तालाई कागजी कारवाही गरेकै भरमा उल्लंघनका घटना कम हुने वा रोकिने अवस्था पनि देखिएको छैन । प्रायः सबै ठूला दलहरुले स्वअनुशासन भङ्ग गरिरहेका छन्, आयोग रमिते मात्रै बनिएको छ । यस्तो अवस्थाले आचारसंहिताको सार्थक प्रयोग हुन सक्दैन, त्यसैले आयोग, सरकार र सम्बद्ध पक्षले आचारसंहिताको सार्थकताप्रति गम्भीर हुन जरुरी छ ।

निर्वाचन आउन अब पाँच दिन मात्रै बाँकी छ । प्रचार–प्रसारका लागि यो समय उत्कर्ष र संवेदनशील पनि हो । यतिबेला उम्मेदवारका प्रचार सामग्रीहरु र प्रचार सवारीहरुको प्रयोग मापदण्ड विपरीत भइरहेको छ । प्रचारमा बाल–बालिकाको प्रयोग, भोजभतेर, चर्को आवाजसहितका ध्वनियन्त्रको प्रयोगदेखि हिंसासम्मका घटना यही बेला हुने गरेका छन् । सार्वजनिक पद धारण गरेका व्यक्ति आचारसंहिता विपरीत प्रचारप्रसारमा हिँड्नु, शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा तटस्थ रहनुपर्ने व्यक्ति कुनै दल विशेषको पक्ष–विपक्षमा देखिनु स्वतन्त्र र निष्पक्ष निर्वाचनको बिरुद्ध हो । त्यसैले निर्वाचन आयोगले विज्ञप्ति जारी गर्नुभन्दा पनि अनुगमन र नियमनलाई तीब्रता दिएर कारवाहीको अनुभूति गराउनु पर्दछ । यसले मात्र निर्वाचनको निष्पक्षता र स्वतन्त्रतालाई अनुमोदन गरी विश्वसनीय, भयरहीत र शान्तिपूर्ण सम्पन्नताको मान्यता प्रदान गर्दछ र आचारसंहिता पनि सार्थक हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here