चुनावमा उपभोक्ता बजार : मूल्य बढ्यो, खपत बढेन

३० कार्तिक २०७९, बुधबार मा प्रकाशित

काठमाडौँ, 

यसवर्ष दसैँ, तिहारलगायतका ठूला चाडवाड सकिने वित्तिकै चुनावी माहोल सुरु भयो । चाडवाडका बेला व्यापारमा उत्साह देखिन्छ । त्यसमाथि चुनावका बेला उपभोक्ता बजार गुल्जार हुनपर्ने हो । तर बजारमा खासै उत्साह नदेखिएको व्यवसायीले बताएका छन् । चर्को मूल्यवृद्धिको मारले अहिले खपतमा बढ्न नसकेको उनीहरुको भनाइ छ ।

अहिले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा अधिक मूल्यवृद्धि देखिएको तर खपत भने नबढेको खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्य बताउनुहुन्छ । व्यापारीले विभिन्न समयमा विभिन्न बहानामा खाद्य तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने तर घट्ने बेलामा भने नघटाउने गरेको उहाँको बुझाइ छ । पछिल्लो समय खानेतेल, चामल, मैदालगायत खाद्यान्न वस्तुमा धेरै मूल्यवृद्धि भएको छ ।

“खाने तेल प्रतिलिटर रु ३५ देखि ४० सम्म बढेको छ । मैदा पनि प्रतिकेजी रु १५ सम्म बढेको छ । भारतले निर्यातमा कडाइ गरेपछि चामलको मूल्य बोरामै दुईदेखि तीन सयसम्म बढे पनि अहिले अवस्था सहज हुँदा घटेको छैन”, उहाँले भन्नुभयो ।

कोरोना महामारी, रुस-युक्रेन युद्धलगायत विषम परिस्थितिका बेला भएको मूल्यवृद्धि अहिले अवस्था सामान्य भइसक्दा पनि घट्न नसकेको उहाँको भनाइ छ । यसरी सामान्य अवस्थामा पनि मूल्यवृद्धि हुनुमा नियामक निकाय कमजोर भएको बज्राचार्य बताउनुहुन्छ ।

“चुनाव लागेपछि बजारमा सरकारको उपस्थिति हुँदैन । नियामक निकाय कमजोर हुन्छन्,” बज्राचार्य भन्नुहुन्छ, “मूल्य बढ्नुमा अर्को शङ्का के पनि छ भने, राजनीतिक दल र चुनावमा उठेका उम्मेदवारलाई चन्दा दिनुपर्ने भएपछि त्यसको बदलामा व्यवसायीले उपभोग्य सामग्रीको मूल्यवृद्धि गरे ।”

मू्ल्यवृद्धि भएपछि उपभोक्ताको क्रयशक्ति कम हुन्छ । कोभिड महामारी, रुस–युक्रेन युद्ध, अमेरिकी डलरको भाउ वृद्धिलगायतका विभिन्न कारण देखाउँदै व्यापारीले उपभोग्य सामग्रीमा मूल्य बढाएका थिए । तर अहिले आपूर्ति शुुङ्खला सामान्य अवस्थामा रहँदा पनि मूल्यवृद्धि कायमै छ । विभिन्न कारण देखाएर मूल्यवृद्धि गर्ने व्यापारीले अवस्था सामान्य भएको अवस्थामा भने मूल्य घटाउँदैनन् ।

खुद्रा व्यापार सङ्घको खाद्यान्न मूल्यसूची अनुसार पछिल्लो एकवर्ष अवधिमा खानेतेलको मूल्यमा दोब्बरको वृद्धि देखिएको छ । यो अवधिमा भुटेको तोरीको तेल प्रतिलिटर रु दुई सय २० बाट बढेर तीन सय ५०, काँचो तोरीको तेल प्रतिलिटर रु एक सय ४० बाट दुई सय ४०, भटमास तेल प्रतिलिटर रु एक सय १५ बाट दुई सय ३०, सूर्यमुखी तेल प्रतिलिटर रु एक सय २५ बाट दूई सय ४० सम्म पुगेको छ ।

त्यसैगरी चामलमा प्रतिकिलो रु १० देखि २०, मास दात प्रतिकिलो रु ३०, मुसुर दाल प्रतिकिलो रु ५०, मुग दाल प्रतिकिलो रु ४०, रहर दाल प्रतिकिलो रु ७० सम्म बढेको छ । त्यसैगरी, भटमासमा प्रतिकिलो रु ४० देखि ५०, केराउ प्रतिकिलो रु ६० देखि ७०, सिमी प्रतिकिलो रु २० देखि ३० सम्म मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले तरकारीको मूल्य र खपत दुवैको अवस्था स्वभाविक छ ।

हाल बर्खायाममा फल्ने तरकारी र फलफूलको मौसम सकिएर हिउँदे तरकारी तथा फलफूलको मौसम सुरु भएकाले सोहिअनुसार आपूर्ति भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।

“कालीमाटीमा दैनिक औसत ८ सय मेट्रिक टन तरकारी र फलफूल आउने गरेको छ । अहिले पनि त्यही अनुपातमै आइरहेको छ । बजार माग बढेको वा बढी सामान आएको भन्ने अवस्था अहिले छैन”, श्रेष्ठले भन्नुभयो । समितिको विवरणअनुसार मङ्गलबार सात लाख ५२ हजार चार सय ४२ किलो तरकारी र फलफूल आएको छ ।

त्यस्तै, सोमबार ८ लाख २७ हजार नौ सय ९६ किलो र आइतबार पाँच लाख ८९ हजार चार सय ४८ किलो फलफूल र तरकारी कालीमाटीमा आएको देखिन्छ । सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य लिएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसारअसोज महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको हो ।

राष्ट्र बैंकका अनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को छ । पहिलो त्रैमासिक विवरणअनुसार काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा नौ ४२ प्रतिशत, पहाडमा आठ दशमलव ८४ प्रतिशत र हिमालमा सात दशमलव ०७ प्रतिशत महंगी बढेको छ ।

यो अवधिसम्ममा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति आठ दशमलव ०५ प्रतिशत र गैर–खाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति आठ दशमलव ८५ प्रतिशत रहेको छ । त्यस्तै, रेष्टुराँ तथा होटल क्षेत्रको वार्षिक बिन्दुगत मुद्रास्फीति १५ दशमलव ९१ प्रतिशत, फलफूलको १२ दशमलव ०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १० दशमलव २४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ४५ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४४ प्रतिशत रहेको छ ।

सेवा समूह अन्तर्गत यातायात क्षेत्रको मुद्रास्फीति २१ दशमलव १५ प्रतिशत, स्वास्थ्य क्षेत्रको १० दशमलव ५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको नौ दशमलव ४५ प्रतिशत र शिक्षाको आठ दशमलव ११ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३ दशमलव ७३ प्रतिशत रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here