पन्ध्रौं शताब्दिदेखि आधुनिक छपाइ प्रविधि शुरु भए पनि नेपालमा प्रेस आउन चार सय वर्ष कुर्नुप¥यो । वि.सं. १९०८ मा बेलायत भ्रमणबाट फर्कंदा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले प्रेस ल्याएका थिए । प्रेस स्थापना भएको ४७ वर्षपछि मात्रै नेपालमा पहिलो पत्रिकाको रूपमा ‘सुधासागर’ मासिक प्रकाशित भयो । यो नै नेपाली भाषामा नेपालबाटै प्रकाशित पहिलो पत्रिका हो । यसअघि मोतीराम भट्टले वि.सं. १९४५ सालमा बनारसबाट प्रकाशित गरेको ‘गोरखाभारत जीवन’ लाई नेपाली भाषामा प्रकाशित पहिलो पत्रिकाको रूपमा लिइन्छ । ‘गोरखाभारत जीवन’ साप्ताहिक वा मासिक कुन रूपमा निस्कियो, यकिनका साथ भन्न नसकिए पनि त्यो पत्रिका लगभग दुई वर्षसम्म चलेको दाबी इतिहासकारहरूको छ । वर्तमान समयमा पत्रकारहरू कुनै न कुनै पार्टीका सदस्य हुने वा उनीहरूप्रति सहानुभूति राख्ने खालका छन् । विशेष गरी यो प्रवृत्ति पत्रिकाहरूको हकमा बढी देखिने गर्दछ । हामीले कुनै पनि पत्रिकाहरूलाई हे¥यौं भने त्यो पत्रिका कुन पार्टीको भनेर थाहा पाउन सक्छौं । किनभने त्यस्ता पत्रिकाहरूले कुनै दलविशेषको पृष्ठपोषण गरेका छन् । दुर्भाग्य नै हो पत्रकारहरू आस्थाका आधारमा विभाजित भएको पाइन्छ । यतिसम्म कि तिनीहरू आपूmलाई व्यावसायिक भन्न पनि रुचाउँदैनन् । उनीहरू राजनीतिक पार्टीका युनियन जस्ता देखिन्छन् । कुनै पनि दल विशेषको पक्षमा वकालत नगर्ने र स्वतन्त्र, साझा सञ्चार माध्यमको रूपमा व्यावसायिक पत्रकारिताको उद्देश्यका साथ २०५२ सालमा पूर्वाञ्चल दैनिकको प्रकाशन शुरु भएको थियो । समाजको बेथिति, विकृति र विसंगतिका विरुद्धमा र जनताको पक्षमा कलम चलाउने संकल्पकासाथ स्थापित पूर्वाञ्चल राष्ट्रिय दैनिक आज मंसिर १ गतेदेखि २८औं वर्षमा प्रवेश गरेको छ ।
पत्रिकाको प्रगतिको पहिलो आधार पाठकको विश्वास र माया हो । विश्वास पाउन विश्वसनीय काम गर्न सक्नुपर्छ भने मायाका लागि जनताको सुख–दुःखको साथी बन्न सक्नुपर्छ । पूर्वाञ्चल दैनिक पाठकको माया र विश्वासको जगमा अडेको छ । जनताको हितका खातिर बनाइएका नीति–नियम त्रुटीपूर्ण हुँदा वा नियमको पालना नहुँदा जनतालाई सजग र सचेत गराउनु पत्रकारिता क्षेत्रको धर्म हो । धर्म भनेको आफ्नो कर्तव्य पूरा गर्नु हो । आज यो पत्रिका लाखौं पाठकको स्नेहको रक्षाकवचभित्र रहेर लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको पक्षमा अविचलित रूपमा क्रियाशील छ ।
जनताका मौलिक हकअधिकारमाथि अतिक्रमण हुँदा त्यसका विरुद्धमा सतीसाल झैं ठिङ्ग उभिने इतिहास बनाएको यो पत्रिका राजनीतिक, धार्मिक क्षेत्र वा कर्मचारीतन्त्रबाट भ्रष्ट आचरणको प्रदर्शन हुँदा जनतालाई सुसूचित गर्ने, जनचेतनाको अभिवृद्धि गराउने र जनताको अधिकार प्राप्तिका निम्ति भएका संघर्षलाई सघाउ पु¥याउने दायित्वबाट कहिल्यै विमुख भएको छैन । राष्ट्रको अस्मितामाथि आघात पुगेको अवस्थामा पनि मुलुकको स्वत्व र अस्मिता रक्षाका लागि आवाज नउठाउने शासकहरूका खिलापमा राष्ट्रप्रति समर्पित रहँदै लोककल्याणकारिताको माध्यमबाट अघि बढ्न आवश्यक छ भन्ने सन्देश प्रवाह गर्न यो पत्रिका कहिल्यै चुकेको छैन । शासक वर्गको गुलामीमा हैन, शक्तिकेन्द्रको जीहजुरीमा हैन, शिक्षित र चेतनशील पाठकहरूको निगरानीमा सदैव जनताको हितका लागि प्रयत्नशील रहँदै गर्दा आफूभित्रका कमीकमजोरीलाई चिनेर आत्मालोचित हुँदै अघि बढिरहेको छ यो पत्रिका । नैतिक आदर्शबाट अभिप्रेरित उत्साही टिमबाट चलेको यो अखवार मोफसलमा रहेर पनि जनताको आशा र भरोसा बनेको छ भने जनताको आशा र विश्वासमै टिकेको पनि छ ।
राजनीतिक आस्था र पूर्वाग्रह छाडन नसकेकै कारण कतिपय पत्रिकाहरूले कुनै दलविशेष र दलको पनि गुट उपगुटको वकालत गर्दै आएका छन् । तर, सँगै राजनीतिक व्यवस्था परिवर्तनमा भने पत्रिकाहरूको भूमिका उल्लेखनीय रहने गरेको छ । लोकतन्त्रको स्थापनाका लागि पनि पूर्वाञ्चल दैनिकको योगदान उल्लेखनीय रहेको उज्यालो इतिहास छ । राजनीति सम्पूर्ण नीतिहरूको मूल नीति हो, तर सञ्चारकर्मीलाई आग्रह र पूर्वाग्रहको आधारमा समाचार सामग्री तयार गर्न प्रभावित गर्ने पनि राजनीति नै हो । राजनीतिले सञ्चारक्षेत्रलाई प्रभाव पारेर प्रत्यक्ष असर गरेमा पत्रिकाको विश्वसनीयतामा ह्रास आउँछ । पत्रकारहरू राजनीतिक दलको सदस्य भएकै कारण पनि राजनीतिक आस्थाका आधारमा विभाजित छन् । पत्रिकाको राजनीतीकरण र दलीय आबद्धतामा कमी आएन भने उनीहरूको विश्वसनीयता साँच्चिकै संकटमा पर्ने संभावना रहेको छ । यो खतराप्रति पूर्वाञ्चल दैनिक निकै सतर्क छ ।
नाम अनुसार नै पूर्वाञ्चल दैनिक साँचो अर्थमा पूर्वाञ्चल विकास क्षेत्र अर्थात् अहिलेको सन्दर्भमा प्रदेश नंं. १भरि फैलिनुपर्छ । विज्ञ पाठकका सल्लाहसुझावलाई शिरोपर गर्दै अध्ययन र अनुसन्धानमा आधारित समाचार सम्प्रेषण गर्ने अभियानमा पूर्वाञ्चल दैनिकले आफूलाई विकास गर्न आवश्यक भइसकेको छ । पूर्वाञ्चल क्षेत्रको पत्रकारिताको इतिहासमा बेग्लै र विशिष्ट स्थान रहेको र नेपाली पत्रकारिता जगत्मा कुनै न कुनै रूपमा आदरका साथ उच्चारण गरिने यो पत्रिकाले एउटा युग पार गरेको छ र अब व्यावसायिक पत्रकारिताको आयामको मर्म अनुरूप रूपान्तरणको मार्गमा आफूलाई प्रविष्ट गराउन जरुरी भइसकेको छ । पूर्वाञ्चल पत्रिकाले झापाका अन्य पत्रिकालाई हेर्ने भन्दा पनि आफ्नो मिसनलाई बुझ्न जरुरी छ । आजको प्रतिष्पर्धाको जुगमा आफ्नो प्रतिष्पर्धा स्थानीय पत्रिकासँग गर्ने कि प्रदेशस्तरीय पत्रिकासँग वा राष्ट्रिय पत्रिकासँग, यो अहम् प्रश्न हो । सत्य घटनाको विवरण पठाउँदाको पीडा र मानसिक यातना मोफसलमा रहेका पत्रकारहरूले भोग्नुपरिरहेको यथार्थ घामजत्तिकै छर्लङ्ग छ । यिनै पीडा र खुशीका मिश्रित अनुभव र भावनाहरूसँगै शान्ति, विकास, शिक्षा, पर्यटन, कृषि, व्यापार आदिलाई आधार मानी यो दैनिक अब पूर्वाञ्चल विकास क्षेत्रभरि वा एक नम्बर प्रदेशभरि विस्तारित हुनुपर्छ ।
जनताजनार्दनभन्दा शक्तिशाली अरु कोही छैन, तसर्थ आम पाठकको लागि भरोसायुक्त पत्रिकाको रूपमा रहेको पूर्वाञ्चल दैनिकको उज्ज्वल इतिहासको जगमा पाठकको त्यो भरोसा, आशा र विश्वासलाई अझै माथिल्लो उचाइमा लैजान जरुरी छ । पाठकको प्रेरणा र स्नेहले भविष्यमा अझ तथ्यगत र समाजोपयोगी सामग्री प्रस्तुत गर्न अझ बढी जाँगर र बल प्रदान हुनेछ । पत्रकारहरूबाट पनि व्यावसायिक मर्यादाविरुद्ध आचरण भएका अनेकौं दृष्टान्तहरू छन् । पत्रपत्रिकामा आफूलाई रिस उठेको संस्था वा पदाधिकारीबिरुद्धमा नभएका कुरालाई समाचार बनाएर प्रकाशित गर्दा त्यसबाट निर्दोष व्यक्ति वा संस्थाहरूले ठूलो कठिनाइ व्यहोर्नुपर्ने हुन्छ । समाजका असल परम्पराकाबिरुद्ध धर्मका नाममा, राजनीतिका नाममा वा अन्य कुनै नाममा आक्रमण हुन्छ भने वा अग्रगमनका विरुद्धमा जनविरोधी, लोकतन्त्रविरोधी र राष्ट्रविरोधी कुनै गतिविधि भएमा सञ्चार जगत् चुपचाप लागेर बस्न मिल्दैन । यस्तो अवस्थामा पत्रकारजगत्ले न्याय, धर्म र राष्ट्रियताको पक्ष लिन्छ । जाति, धर्म, भाषा र राष्ट्रियताभन्दा पनि माथि मानवता हुन्छ र प्रेस अन्ततः मानवताको पक्षमा उभिन्छ ।
पूर्वाञ्चल दैनिक मानवअधिकारपक्षधर हो, लोकतन्त्र पक्षधर हो र जनताको पक्षधर हो । लोकतान्त्रिक विचार निमिट्यान्न पार्ने हरेक हर्कतका विरुद्धमा पूर्वाञ्चल दैनिक उभिँदा यसले धेरै उतारचढावहरू व्यहोर्नुप¥यो । पत्रकारहरुलाई सिध्याउने र पत्रिका बन्द गर्ने धम्की पनि आए, तर जनताको स्नेह र पाठकको विश्वासका आधारमा नै यसले आफ्ना चुनौतिपूर्ण पाइला अघि बढायो र यो क्रम जारी छ । प्राकृतिक प्रकोपका कहर काटेर खरो उत्रन सफल यस पत्रिकाले धेरै गरेको छ र अझै धेरै गर्न बाँकी छ । यसका अनगिन्ती चुनौतिहरू छन् । धेरैजसो पत्रपत्रिकाहरू पार्टी वा पार्टीभित्रका गुट विशेषसँग धेरथोर, प्रत्यक्ष वा परोक्ष रूपमा आबद्ध हुने गरेका छन् । तर, पत्रपत्रिकाले सूचना प्रवाहमा निष्पक्षता देखाउनुपर्छ भन्ने मूल मान्यतालाई आत्मसात गर्दै अघि बढेको यो पत्रिका सत्य, विश्वसनीय, सन्तुलित, स्वतन्त्र रहने र आफ्नो जिम्मेवारी र अरुको सम्मानको सुरक्षा गर्नुपर्छ भन्ने मान्यताबाट अनुप्राणित छ आजसम्म र यो क्रम जारी रहनेमा विश्वास गर्न सकिन्छ । पत्रकारले आफूलाई निश्चित आचारसंहितासहित हिँडाउनुपर्छ भन्ने मूलमन्त्रका आधारमा सामाजिक मर्यादा,नैतिकता र स्वच्छता पत्रकारिताको धर्म हो भन्ने कुरामा विश्वास गर्छ यो पत्रिका । अझै पनि हाम्रो देशमा सरकारी निकायहरूले सूचना प्रवाहबारे जिम्मेवारी बोध गरिनसकेको र सूचनास्रोतका रूपमा आफूलाई चिनाउन नचाहने भएकाले पत्रकारहरू जोखिममा रहन बाध्य छन् । यस्तो अवस्थामा नेपालको संविधान २०७२ ले समाचार, लेख वा अन्य कुनै पाठ्य सामग्री प्रकाशित वा प्रसारित गरेवापत प्रेस बन्द गरिने छैन र कुनै पत्रिका, रेडियो, अनलाइन वा टेलिभिजनको दर्ता खारेज गरिने छैन भन्ने प्रकाशन स्वतन्त्रताका आधारभूत आवश्यकता सम्पूर्णतः प्रत्याभूत गरे बमोजिम यो पत्रिका अघि बढ्न जरुरी छ ।
पत्रकारिताः मिसन कि व्यावसायिक भन्ने प्रश्नमा पूर्वाञ्चल दैनिक व्यावसायिकताको पक्षमा उभिँदै आएको छ । पूर्वाञ्चल दैनिकले व्यावसायिकतामा अझै जोड दिन जरुरी छ । संवाददाता र सम्पादकमा व्यावसायिक निष्पक्षता भएमा गुणस्तरमा वृद्धि हुन्छ । पत्रपत्रिकाहरूले आफ्ना विचार समाचारबाट अभिव्यक्त गर्नुभन्दा सम्पादकीय, स्तम्भ वा लेखमार्फत दिने हो भने व्यावसायिकतामा बल पुग्छ । आचारसंहिता नैतिक बन्धन हो, यो कानुन होइन, तर पत्रकारका लागि यो नै ठूलो बन्धन हो । पत्रकार वा पत्रकार संस्था वा प्रेसजगत् नियोजित रूपमा कसैको बिरुद्ध कसैबाट उपयोग हुनुहुँदैन र गलत नियतबाट कसैको बिरुद्ध खनिनु भनेको पत्रकारिताको आचारसंहिताको विरुद्ध हो । यो पेशा स्वतन्त्र र जिम्मेवार पेशा हो, तसर्थ यसले स्वच्छन्दताको हद नाघ्नुहुँदैन । पत्रकारिताका यिनै आधारभूत मान्यताबाट आलोकित हुँदै पूर्वाञ्चल दैनिक नित्यनिरन्तर अघि बढिरहन्छ भन्ने आशा गर्न सकिन्छ । हजारौंलाखौं शुभचिन्तक र चेतनशील पाठकवर्गबाट प्राप्त सल्लाहसुझाव, हौसला, आलोचना, सहयोगको आधारमा उभिएर यसले विगतका कमी–कमजोरीको समीक्षा गर्दै आगतका कदमहरु चाल्ने हो ।
अर्को महत्त्वपूर्ण कुरा यससँग आबद्ध सम्पादक, कर्मचारी, संवाददाता, प्रतिनिधिहरूको पारिश्रमिकको प्रश्न पनि महत्त्वपूर्ण हो । अन्य सञ्चारगृहले के गरिरहेका छन् भनेर गलत नजीरबाट होइन, सकारात्मकताबाट पाठ सिक्न आवश्यक छ । यसले आफ्नो विज्ञापन नीतिमा परिवर्तन गर्न आवश्यक छ । पत्रिका वितरणलाई छिटोछरितो बनाउने र बिहान चियाको चुस्कीसँगै ताजा समाचार पढ्न पाउने पाठकको अधिकार र चाहनालाई मध्यनजर गर्दै वितरण व्यवस्थापनमा परिवर्तन ल्याउन जरुरी छ । पूर्वाञ्चल दैनिक अनलाइन संस्करणमा गएको, युवा पत्रकारहरूको प्रवेश भएको र ई–पेपर समेत प्रकाशित हुन थालेपछि देशका मात्र होइन, विदेशका पाठकले पनि पूर्वाञ्चल दैनिकका कोशेलीका स्वाद पाइरहेका छन् ।
विगतका अत्यन्त जटिल, कष्टप्रद र चुनौतीपूर्ण यात्राका श्रृंखलाहरू छिचोलेर २८ औं वर्षमा पाइला टेकेको पूर्वाञ्चल राष्ट्रिय दैनिक राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र जनताका पक्षमा अझ दृढतापूर्वक उभिने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको परिकल्पनालाई यथार्थ रूपमा उतारेर जनताको खुशहाली बहाल गर्न लागिरहने विश्वास गर्न सकिन्छ । बदलिंदो परिस्थिति र व्यावसायीकरणको प्रभावसँगैको परिवर्तित सन्दर्भमा आफ्नो गन्तव्य निर्धारण गर्नुपर्ने बेला आइसकेकाले पनि पूर्वाञ्चल पत्रिकाले आफूलाई रूपान्तरण गर्न जरुरी छ । यसका प्रकाशक, सम्पादक, बजार प्रतिनिधि, व्यवस्थापक र समाचारदाताले पत्रिकाको भविष्य र आफ्नो भविष्यलाई प्रतिष्पर्धाको बजारमा टिकाउने र अघि लैजाने हो भने नवीन ढङ्गले सोच्न जरुरी छ । पत्रिका प्रकाशन, वितरण, व्यवस्थापन, क्षेत्र विस्तार लगायतका आयामहरूलाई नयाँ तरिकाले पुनर्सङ्गठित गर्न आवश्यक छ । आइपर्ने चुनौतिप्रति सचेत नहुने हो भने र नयाँ ढंगबाट नसोच्ने हो भने यथास्थितिमै रमाइरहने खतरा बढेर जान्छ । चुनौ,िहरूको सामना गर्नका लागि फेरि एक पटक पूर्वाञ्चल दैनिकका सबै पहलु र पक्षमा फरक, विशिष्ट र नवीनतासहित सोच्न, विश्लेषण गर्न र अझ सृजनशील मार्ग पहिल्याउन आवश्यक छ ।
पूर्वाञ्चलले एउटा उज्यालो छबि बनाएको छ र त्यही इतिहासबाट मात्र अब पत्रिका अघि जान सक्दैन, त्यो इतिहासको जगमा नयाँ ढंगबाट अघि बढ्न आवश्यक छ । आशा र विश्वास दुवै गर्न सकिन्छ–जनस्तरमा अत्यन्तै लोकप्रिय छबि बनाएको यो पत्रिका प्रदेश नं. १ को सबैभन्दा ठूलो, सबैभन्दा विश्वासिलो र जनतासँग सबैभन्दा घनिष्टता भएको पत्रिका बन्नेछ । यसको शुरुवात नवीन ढंगको दृष्टिकोणबाट मात्र सम्भव छ । सबैको सकारात्मक भूमिकाबाट मात्र यो सम्भव छ । अग्रज पत्रकार स्व. मदन ढकालको निष्पक्षता, समर्पण, निष्ठा, विद्धताको मार्गमा अघि बढेको यो पत्रिकाले आफूमा रहेका केही अव्यावसायिकता, केही संकीर्णता, हीनताबोधबिरुद्धमा आफूभित्र ऊर्जा, हिम्मत, नवीन सोच र फराकिलो दृष्टिकोणको विकास गर्न जरुरी छ । प्रकाशक, व्यवस्थापक, सम्पादक, सम्वाददाता र सम्बद्ध सबैले आफ्नो भूमिकालाई परिमार्जन गर्न र सच्याउनसमेत तयार हुनुपर्छ । पूर्वाञ्चल दैनिक पत्रिकाको भविष्य उज्ज्वल छ । पूर्वाञ्चल दैनिक पत्रकारिता जगत्को एक फराकिलो विश्वविद्यालय हो र आशा छ– यसले आफ्नो गरिमालाई अझ उन्नत स्तरमा विकास गरेर लैजाने छ । सबैलाई २८ औं वर्षको यो शुभराम्भमा बधाई एवम् सफलताको हार्दिक शुभेच्छा !