निर्वाचनको मुखमा दल बदल्न भ्याइ–नभ्याइ

१ मंसिर २०७९, बिहीबार मा प्रकाशित

झापा।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाका विश्वास पात्र भारतेन्दुकुमार मल्लिकले गत कात्तिक २ गते दल बदले । भद्रपुर निवासी मल्लिकले निर्वाचनको मुखैमा सिटौलालाई छाड्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रकुमार लिङ्देनलाई रोजे अर्थात् उनी नेपाली कांग्रेस परित्याग गर्दै राप्रपामा प्रवेश गरे ।

नेपाली कांग्रेसतर्फबाट प्रतिनिधित्व गर्दै मल्लिक यसअघि भद्रपुर नगरपालिकाको मेयर समेत बनेका थिए । भद्रपुर नगरपालिकाको मेयर बनेका मल्लिकले सिटौलालाई आवश्यक परेको समयमा साथ छोडे । सिटौला अहिले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । त्यसो त मल्लिकको रोजाइँमा परेका लिङ्देन समेत प्रतिनिधिसभा सदस्य पदकै उम्मेदवार हुन् । मल्लिकले नेपाली कांग्रेस परित्याग गरेसँगै राप्रपामा आफू निकटका विश्वासिला केही व्यक्तिलाई समेत प्रवेश गराएका छन् ।

यता मेचीनगर, अर्जुनधारा, बिर्तामोड, कनकाई, दमक, र गौरादह नगरपालिकामा नेकपा (एमाले)ले आयोजना गरेका चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी आउनेको लर्काे नै लाग्यो । पार्टीमा आएका नवप्रवेशीलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सदस्यता प्रदान गर्दै स्वागत समेत गर्न भ्याए ।

विशेषगरी झापाको निर्वाचन क्षेत्र नम्वर १मा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र परित्याग गरेर नेकपा (एमाले) मा प्रवेश गर्ने धेरै देखिए । ज्यामिरगढीमा नेकपा माओबादी केन्द्रका पूर्व जनमुक्ति सेनाका लडाकुसहितका व्यक्ति नेकपा (एमाले)मा प्रवेश गरे भने मागुरमाडीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेसंगै एमालेभित्र उत्साह छायो ।

नेकपा (एमाले)मा प्रवेश गर्नेहरुलाई पार्टीका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री अग्नि खरेलले स्वागत सहित पार्टीको सदस्यता प्रदान गरे । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकै गृहनगरका नेपाली कांग्रेसका कार्यकर्तालाई नेकपा (एमाले)मा प्रवेश गराउन सफल भएको भन्दै नेकपा (एमाले)ले चुनावी सभा अर्थपूर्ण रहेको दावी गर्दै आएको छ । सो कार्यक्रममा गोपाल भट्टराई (सीताराम), मानबहादुर तामाङ, गीता गुरुङ, बेद सुब्बा, दिपेश धमला र कल्पना खवास लगायत नेपाली कांग्रेस परित्याग गरेर नेकपा (एमाले) मा प्रवेश गरेका थिए । नेकपा माओबादी केन्द्र परित्याग गर्ने कल्पना मगर, ललित मगर त्यस क्षेत्रका प्रभावशाली व्यक्ति रहेको भन्दै नेकपा (एमाले)ले उत्साहका साथ उनीहरुलाई स्वागत सम्मान ग¥यो ।
गत स्थानीय तहको निर्वाचनका समयमा आफूले टिकट नपाएपछि नेकपा (एमाले) प्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेका डिल्लीराम घिमिरे अन्ततः प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिएसँगै नेकपा (एमाले)मै फर्किए ।

मेचीनगर–६ काँकरभिट्टा निवासी एमालेका नेता घिमिरे स्थानीय तहको निर्वाचनमा उपमेयर पदका उम्मेदवारका आकांक्षी थिए । तर, उनले पार्टीबाट टिकट नपाएपछि असन्तुष्टि जनाउँदै एमाले छाडेका थिए । तत्कालीन काँकरभिट्टा गाविसको अध्यक्ष, एमाले जिल्ला सदस्य समेत रहेका घिमिरे पछिल्लो समय एमालेको क्षेत्र नम्बर १ का संयोजक थिए ।

उता झापा क्षेत्र नम्वर ५मा नेपाली कांग्रेसका नगर सदस्य, पार्टीका क्रियाशील सदस्यहरु नेकपा (एमाले) प्रवेश गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा आयोजित कार्यक्रममा नव प्रवेशीहरुलाई अध्यक्ष ओली आफैले पार्टीको सदस्यता दिलाउँदै एमालेमा स्वागत गरेका थिए । यसरी दल बदल्नेहरुमा नेपाली कांग्रेसका नगर सदस्य गोमादेवी भण्डारी, पदमबहादुर धिमाल र आशिष बराल, शम्शेर डाँगी, भरत भण्डारी, अनिल राई, कुमार धिमाल, राजेश धिमाल, सुशील धिमाल, रमेश गौतम, अजुत धिमाल, उमेश गौतम, किरणकुमार धिमाल, बिनोद थेवे, सुजन विष्ट, सूर्य मिश्र, नितेष धिमाल, सलिना धिमाल, सोना धिमाल, वरसाद धिमाल लगायत छन् ।

यता झापा क्षेत्र नम्वर ३ अन्तर्गत पर्ने कचनकवल गाउँपालिका–१ घेरावारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी छाड्ने पनि छन् । राप्रपाका युवा नेता मार्ली मगरसहित एक सय जनाभन्दा धेरैले राप्रपा परित्याग गरेको बताइएको छ । उनीहरुलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।

यता नेकपा माओवादी केन्द्र प्रदेश १ सदस्य तथा झापा क्षेत्र नम्बर ३ ख का इञ्चार्ज मर्गुब आलमसहित एक सय ५० भन्दा धेरै नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । उनीहरुले बिज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

बाह्रदशी गाउँपालिका–४ निवासी आलम त्यस क्षेत्रका प्रभावशाली नेता मानिन्छन् । उनीसँगै पार्टीका जिल्ला सदस्य कृष्णमोहन गौतम, देवीप्रसाद रेग्मी, बसन्तकुमार गणेश, अजमुद्दिन मिया, शाहा आलम, महमद करिम लगायत रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here