अर्जुनधारा जलेश्वर धाममा श्रीमद् ब्रह्माण्ड महापुराण शुरु

0
334

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धामको ४०औं वार्षिक अनुष्ठान अन्र्तगत बिहीबारदेखि श्रीमद् ब्रह्माण्ड महापुराण सुरु भएको छ ।

धाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा आयोजित उक्त महापुराणको प्रमुख अतिथि धाम परिसरमा नवनिर्मित गौरी मन्दिर तथा १०८ शिवलिङ्गका निर्माणकर्ता दाता कमल बस्नेतले उद्घाटन गरेका थिए ।

यही मंसिर ६ गते बालाचर्तुदशीका दिन शतवीज रोपण गर्दै सम्पन्न हुने महापुराणका प्रमुख वाचक धामका व्यासाचार्य पण्डित कुवेर सुवेदी र उपवाचक पण्डित हेमन्त भण्डारी रहेको समितिका महासचिव शिवलाल खतिवडाले जानकारी दिए ।

महापुराण अन्र्तगत दैनिक रुद्राभिषेक, तण्डुलाचल, धनधान्याञ्चल, हवन, गंगा आरती, भूमिदानलगायतका कार्यक्रमहरु सञ्चालन हुने छ । महापुराण उद्घाटन कार्यक्रममा दाताहरु तिलरुपा खड्काबाट दानपेटिका, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहन मित्तलबाट रसिद र धनमाया तिम्सिसनाबाट धान्याञ्चल उद्घाटन भएका थिए ।

सोही कार्यक्रममा प्रमुख वाचक सुवेदीले ब्रह्माण्डको महापुराणको औचित्य र मूलअर्चक अग्निप्रसाद सिग्देलले अनुष्ठानको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, शंकराचार्य पीठ साधुटारका प्रमुख लक्ष्मीप्रसाद खतिवडा, दाता मित्तललगायतले मन्तव्य राखेका थिए ।

महापुराण उद्घाटन अघि स्थानीय डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धामबाट सहभागी पञ्चकन्यासहितको कलश यात्राले अर्जुनधारा जलेश्वर धाम–पाराखोपी–नारायणचोक–शनिश्चरे बजार हुँदै धाम क्षेत्रको परिक्रमा गरेको थियो । समितिका उपाध्यक्ष भीमचन्द्र भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य भानुप्रसाद शिवाकोटीले गरेका थिए ।

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाम नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा सुचिकृत रहेको धार्मिक तीर्थस्थल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here