समूह बीसका नामले परिचित विश्वका प्रमुख विकसित एवं उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वान्टीको सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता भारतलाई हस्तान्तरण गरेको छ। समूहका अध्यक्ष एवं इन्डोनेसियाका राष्ट्रपति जोको बिडोडोले बुधबार शिखर बैठक समापन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिक रूपमा समूहको अध्यक्षता हस्तान्तरण गरेका छन्।
जी ट्वन्टीको अध्यक्षता सम्हाल्नु भारत र हरेक भारतीय नागरिकका निम्ति गर्वको विषय भएको बताउँदै अठाह्राैँ शिखर सम्मेलन भारतका विभिन्न सहरमा आयोजना गरिने तथा समूहलाई परिवर्तनको संवाहक बनाउन उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। समूहको अध्यक्षता पाएको भारतले त्यसलाई समावेशी, महत्वाकांक्षी, निर्णायक एवं कार्यउन्मुख बनाउने दृढता उनले व्यक्त गरे। त्यसअघि उनले ‘डिजिटल’ रूपान्तरणबारे मन्तव्य व्यक्त गरेका थिए।































