विनोद सापकोटा,
झापा ।

झापाको कन्काई नदीमा पुल निर्माण भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ७ को चन्द्रडाँगीबाट सोही वडाको लालपानी जोड्न कनकाई नदीमा बाँसको अस्थायी पुल निर्माण गरिएको हो ।
शिवसताक्षी नगरपालिकाको २ लाख ७० हजार लागतमा पुल निर्माण भएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहङ थोप्रा रोशनले बताए । उनका अनुसार यो पुल ११० मिटर लामो छ । सो ठाउँमा बाँसको पुल बनाएपछि स्थानीयवासीले २३ किलोमिटर दूरीको सडक घुमेर नगर र वडा कार्यपालिका आउनु पर्ने समस्या हिँउदभरका लागि टरेको छ । अब, २ किलो मिटर दुरीमा वडाबासी सहजै पालिका पुग्न सक्नेछन् ।
कनकाई नदीमा नगरले बनाएको पूल कात्र्तिक पहिलो हप्तादेखि जेठको पहिलो हप्ता ८ महिना सम्म स्थानियबासीले उपभोग गर्ने गरेका छन् । त्यसपछिको वर्षाले पानीको सतह बढ्दै जाँदा बाँसको अस्थायी पूल नदीबाट निकाल्ने गरिएको नगरका प्राविधिक पेरिस घिमिरेले बताएका छन् । उनका अनुसार वडाका १ हजार ४ सय घर परिवार सहित छिमेकी पालिका कनकाई नगर र झापा गाँउपालिकाका स्थानियपनि लाभान्वित हुने भएका छन् ।
दुई पाङग्रे साइकल र मोटरसाइकल पूलबाट सजिलै ल्याउन र लैजान सकिन्छ । नगरपालिकाले पूल उपभोग गरे वापत कुनै शुल्क नलिने जनाएको छ । यस अघि पूल निर्माण र त्यसको सुरक्षा स्थानियलाई पालिकाले दिएपछि न्युन शुल्क उपभोक्ताले स्थानियलाई वुझाउनु परेको थियो । वडाबासीको गुनासो पालिकामा आउन थालेपछि तीन वर्षदेखि पालिका आफैले कनकाईमा पूल निर्माण गर्न थालेको हो ।































