ओलीका चार चेली पराजय बेहोर्न निश्चित

0
105

काठमाण्डौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमाले वृतमा ‘बा’ को पगरी गुथाइएको छ। उनलाई पार्टीका केही नेतृहरुले आफ्नो राजनीतिक निकटता दर्शाउनका लागि अध्यक्ष ओलीलाई ‘बा’ भन्‍ने गरेका छन्।

यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पनि उनै चेलीहरुलाई ओलीले उम्मेदवार बनाएका छन्। ती क्षेत्रमा नेकपा एमालेका काबिल र योग्य नेताहरु हुँदाहुँदै पनि चेलीहरुलाई नै उम्मेदवार बनाएका हुन्।

एमालेमा नै योग्य र जित हात पार्नसक्ने क्षमतावान उम्मेदवार हुँदाहुँदै चेली मोहका कारण उम्मेदवार बनेका ती महिला नेतृहरु भने प्रतिनिधि सभा निर्वाचनमा पराजय व्योहर्ने भएका छन्। हालसम्मको चुनावी माहोललाई आँकलन गर्ने हो भने उनीहरुको हार करिब निश्‍चित रहेको छ।

ओलीका चेलीहरु निरुदेवी पाल, कोमल वली, शान्ता चौधरी, पद्‌मा अर्यालले पराजय व्यहोर्ने भएका छन्। पाल कञ्‍चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रभावशाली उम्मेदवार रमेश लेखकसँग प्रतिस्पर्धा गरिरहेकी छन्।

२०७४ को निर्वाचनमा दीपकप्रकाश भट्टले वाम गठबन्धन हुँदा लेखकलाई २५० मतान्तरले पराजित गरेका थिए। यसपटक भट्टले टिकट नपाएपछि उनीलगायतको असन्तुष्टि रहेको छ। जसले गर्दा पाललाई ठूलो धोका हुने भएको छ।

त्यसैगरी लेखकलाई गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रलगायतको समर्थन रहेको छ। जसको फाइदा लेखकलाई हुने भएको छ। जसका कारण यसपटक पालको पराजय निश्‍चित छ।

त्यसैगरी दाङ १ मा उम्मेदवार बनेकी शान्ता चौधरी पनि डेन्जर जोनमा नै रहेकी छन्। उनीविरुद्ध नेकपा एमालेकै नेतृ गंगा चौधरी बागी उठेपछि शान्तिलाई संकट सिर्जना भएको हो। अर्कोतर्फ उनीविरुद्ध सत्ता गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी चुनावी मैदानमा होमिएका छन्।

विगतमा एमालेले जनतालाई धोका दिएको भन्दै प्रचार भइरहेका कारण उनलाई थप दबाब भएको हो। जसका कारण ओली निकट भएकै कारण टिकट हत्याएकी शान्ताले पनि पराजय व्यहोर्ने भएकी हुन्।

त्यसै दाङ- ३ मा उम्मेदवार बनेकी कोमल वली पनि चुनाव हार्ने भएकी हुन्। उनलाई चुनाव हराउनका लागि नेकपा एमाले नै सक्रिय भएको छ। विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक यात्रा सुरु गर्दै एमाले प्रवेश गरेकी कोमल एकाएक ओलीले ठूलो स्पेस दिएको भन्दै व्यापक असन्तुष्टि रहेको छ।

कोमलले टिकट पाएपछि दाङ-३ मा नेकपा एमालेले चर्को विरोध गरेको थियो। दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, तुलसीपुरका पूर्वमेयर घनश्याम पाण्डे र कोमल वलीको नाम सिफारिस भएको थियो। तर, ओलीले तेस्रो नम्बरमा सिफारिस भएकी कोमललाई टिकट दिए।

अध्यक्ष ओलीले टिकट वितरणमा मनोमानी गरेको भन्दै देशभरबाट विरोध भइरहेको समयमा दाङ-३ मा चरम असन्तुष्टि चर्किएको हो। यसको प्रत्यक्ष लाभ सत्ता गठबन्धनका उम्मेदवार दिपक गिरीलाई हुने भएको छ भने प्रत्यक्ष असर कोमल वलीलाई पर्ने देखिन्छ।

एमालेको असन्तुष्ट पक्ष कोमलको चुनावी प्रचारमा सहभागी भएको छैन। उनीहरुले वलीको विपक्षमा माहोल तयार पारिरहेका छन्। जसका कारण वलीको जित निकै कठिन र चुनौतीपूर्ण बन्दै गएको छ। दाङ निर्वाचन क्षेत्र नम्बर–३ मा ४ वटा स्थानीय तह छन्। गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेले तुलसीपुर उपमहानगरपालिकामा र अरु तीन पालिका (बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका) मा कांग्रेसले एकल जित निकालेको थियो। कांग्रेसको मत ३० हजार ९८९ मत छ। १२ हजार ८८० मत माओवादी केन्द्रको छ। यो तथ्यांक हेर्दा सत्ता गठबन्धनभन्दा एमाले पछि छ।

त्यसैगरी अर्की महिला नेतृ पद्‌मा अर्याललाई पनि यो निर्वाचन सकसपूर्ण बनेको छ। विगतमा वाम गठबन्धनको आडमा निर्वाचित भएकी पद्‌माविरुद्ध यस निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति धनराङ गुरुङ चुनावी मैदानमा छन्। २०७४ सालमा गोपालमानले ३१ हजार ४ सय ३६ मत ल्याएका थिए। पद्मा अर्यालले ३५ हजार १ सय ४२ मत ल्याएकी थिइन्। यसपटक गठबन्धन फेरिएकाले यो मत संख्यामा अडिग रहन पद्मालाई चुनौति हुने भएको छ।

फेरि गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजालाई हेर्ने हो भने सत्ता गठबन्धन त्यहाँ एमालेभन्दा अगाडि देखिन्छ। त्यहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेकाहरुले ३६ हजार ८ सय ६ मत ल्याएका थिए भने नेकपा एमालेका वडाध्यक्षहरुले ३४ हजार ८ सय ९ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले १ हजार ४ सय ४७, राप्रपाकालेल ५११, एकीकृत समाजवादीकाले २३३ मत ल्याएका थिए। यो अंकगणितलाई ख्याल गर्दा पनि पद्‌माको हार देखिन्छ। नेपालपाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here