चितुवाको आक्रमणले स्थानीयमा त्रास

0
111

युद्धबहादुर बोहोरा,
इलाम ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर २ स्थित फुस्रे आसपास चितुवाले बाख्राका खोरमा आक्रमण गर्न थालेको छ ।

गत वर्ष इलाम र पाँचथरका सिमाना क्षेत्रका विभिन्न वडामा चितुवाले स्थानीयका गोठ र खोरमा थुनेका बाख्रा खाएर हैरानी दिएको थियो । केही समय निष्क्रिय रहेको चितुवा फेरि सक्रिय हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । देउमाई नगरपालिकाको सिमानामा पर्ने फाकफोकथुमको वडा नं. २, ६ र ७ मा दिनहुँजसो चितुवाले बाख्रा खान थालेपछि स्थानीय त्रसित बनेका हुन् ।

यसै साता मात्र फाकफोकथुम –७ एकतप्पा निवासी हरि खनालको एउटा बाख्रा र २ नम्बर वडाका प्रकाश बोहोरा(सिपी) को एउटा बाख्रा चितुवाले खाएको स्थानीयबासी रमेश पौडेलले बताए । बुधबार साँझ ५ बजे फुस्रेस्थित तिनजुरे बोर्डिङ स्कूल नजिकै देवीथान छेउकी इन्द्रकला खड्काको बाख्रा खाँदै गरेको स्थानीय चित्रबहादुर पौडेलले खेद्न खोज्दा चितुवाले आक्रमणको प्रयास गरेको जानकारी दिए ।

यस क्षेत्रमा मानिसहरुको बाक्लो ओहोर–दोहोर हुने र विद्यार्थी पनि हिँड्ने भएकाले मानवीय सुरक्षामा समेत चुनौति रहेको छ । बाख्रा खाने चितुवा मानिसमाथि आक्रमण गर्ने हो कि भन्ने चिन्ता बढेको स्थानीयहरु बताउँछन् ।

बालबालिकालाई एक्लै विद्यालय पठाउन समेत डराउनुपर्ने अवस्था आएको पौडेलले बताएका छन् । नागरिकलाई त्रास फैलाउने र घरपालुवा जनावरको सिकार गर्ने चितुवा नियन्त्रणका लागि सरोकारवाला निकायले तत्काल पहल नगरे मानवीय क्षति समेत हुन सक्ने भएकाले यस समस्याको समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here