जनभावनाको सम्मान

0
243

आमनिर्वाचन २०७९ ले मूलधारका राजनीतिक दलहरुलाई सचेत र सजग बनाएको हुनुपर्छ । उनीहरुको परम्परावादी सोच र मानसिकतालाई आममतदाताले व्यालेटको माध्यमबाट खबरदारी गर्दै सचेत गराएका हुन् । आफूलाई सर्वश्रेष्ठ ठान्ने ती दलहरुको अहंकारलाई चिर्दै सचेत तथा जागरुक मतदाताले ब्यालेटमार्फत आक्रोश प्रकट गर्दै प्रतिनिधि परिवर्तन गरेका छन् । मतदाताको यस्तो शालीन, सभ्य र शिष्ट विद्रोहलाई अझै पनि आत्मसात गर्न सकेनन् भने परम्परावादी ती दलहरु अब आउने निर्वाचनपछि अस्तित्व नै नआउने मतपरिणामको संकेत हो । त्यसैले मूलधारका राजनीतिक दलहरुले नवीन विचार, दर्शन अंगिकार गर्दै धरातलको यथार्थलाई आत्मसात गर्ने हिम्मत गर्नैपर्छ ।

निर्वाचन परिणामले देखाएको छ कि अधिकांश युवाहरु नै जनप्रतिनिधिका लागि अनुमोदित हुन्छन् । केही वयोवृद्ध र शीर्ष नेतृत्वहरु अपवादमा परेका छन् । जसले परिमार्जन र परिस्कारका लागि समयावधि पाएका छन् । मतदाताको तीव्र आकांक्षा नेतृत्वको नवीनता हो र सँगै धरातलीय आवश्यकताको सहज परिपूर्ति एवम् भ्रष्टाचारमुक्त, पारदर्शी तथा सुशासनको अनुभूति । तर, हामीकहाँ बहुदलीय शासन प्रणाली अख्तियार गरेको तीन दशक नाघिसक्दा पनि आमजनताले त्यसको अनुभूति नै गर्न पाएनन् । देश र जनताको समृद्धिको वाचा गरेर पदासीन नेताहरु व्यक्ति, परिवार तथा दलीय आग्रह र स्वार्थबाट अलग हुनै सकेनन् । जसको परिणाममा भ्रष्टाचार बढेर गयो, बेरोजगारी, पछौटेपन र गरिबीको खाडल झनै गहिरो भयो ।

स्वार्थपूर्तिका लागि नेतृत्वलाई रिझाउन सम्पूर्ण समय र सामथ्र्य प्रयोग गर्ने अधिकांश नेतालाई ब्यालेटको विद्रोहले पाखा लगाइदिएको छ । दुई–चार पात्रहरु पैसा, लोभ र आकर्षणको बलमा संसद प्रवेश गर्ने संकेत पनि देखिँदैछ । त्यो भन्दा पनि स्थिर सरकार बनाउने अंकगणितको आभाष नभइरहेका बेला संक्रमणको खतरा यथावत छ । यस्तोमा राजनीतिलाई पेशा–व्यवसाय होइन जनसेवाको उत्कृष्ट कार्य हो भन्ने मानसिकता निर्वाचित प्रतिनिधिहरुमा देखिनुपर्छ । जनताले अनुभूत गर्ने, जीवन निर्वाहमा सहयोगी हुने, विद्यमान विकृति र विसंगति अन्त्यको आभाष दिने परिवर्तनले मात्र जनभावनाको सम्मान भएको ठहरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here