भीम निरौलाको नयाँ कृति ‘हाम्रो संस्कृति’

१० मंसिर २०७९, शनिबार मा प्रकाशित


शिक्षा तथा आध्यात्मिक क्षेत्रका विद्वान तथा सिद्धहस्त लेखक भीम निरौलाको अर्को गहन कृति पाठक समक्ष आएको छ । त्यो कृति हो–‘हाम्रो संस्कृति’ । प्रस्तुत कृतिका विशेषताबारे विद्वान साहित्यकारहरुका शब्दहरुबाट जानौँ ।

‘यस कृतिभित्र प्रवेश गर्दा ॐ, वेद, उपनिषद्, पुराण, गीता, नीतिशतक, प्रेरक प्रसंग, सौहार्द्रता, तीतो सत्य, धर्म, संस्कार, संस्कृति, जिज्ञासा आदि ज्ञानबद्र्धक तथा चेतनामूलक विविध विषयवस्तुहरुको समष्टिरुपलाई प्रविष्टि गर्नुलाई हाम्रो संस्कृति भनी नामकरण गर्नुभएको छ । जसरी एउटै शूत्रमा विभिन्न फूलहरु उनेर सुन्दर माला बनाइन्छ त्यसरी नै यस कृतिका माध्यमबाट लेखकको वैदिक, पौराणिक र आधुनिक ज्ञानको एउटै माला बनाएर धार्मिक, नैतिक, औपदेशिक र सामाजिक सन्देश प्रवाह गर्न खोज्नु भएको छ । समाजमा भएका विकृति, विसंगति, अन्याय, अत्याचार आदिलाई निराकरण गर्दै आदर्श समाजको स्थापना गर्नुपर्छ भन्ने लेखकको मूल उद्देश्य रहेको छ ।’ –भीमप्रसाद नेपाल ।

‘संस्कृति भनेको नाम हो । कुनै वस्तुलाई परिमार्जन गरेर अथवा संस्कृति रुप दिएर चम्किलो, उज्यालो र निखुट बनाउने काम हो । यसैलाई संस्कार र परिष्कार पनि भन्ने गरिन्छ । कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थ व्यवस्था आदिमा प्रतिबिम्वित हुने र तिनका कलाकौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रुप नै संस्कृति हो । धेरै समयदेखि देशकाल सापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणागत धारणाका रुपमा विकसित हुँदै आएको र आचार–विचार, रहन–सहन, आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरुप खुटिने यावत मान्यता, भावना, चिन्तन, मनन, भौतिक अभिव्यक्तिहरु समेतको समूह वा साधन संस्कृति हो ।

 


कला, साहित्य, इतिहास, भाषा धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्य परम्पराको समष्टि नाम नै संस्कृति हो । यसरी नै अवगुण, दोष, कमजोरी आदि हटाई परिष्कार गर्ने काम, सुधार र शुद्धता ल्याउने काम नै संस्कार हो भने व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण मूल वृत्ति, प्रकृति, स्वभाव आदिलाई धर्म भनिन्छ । उक्त विषय वस्तुले जिज्ञासु पाठकका निम्ति चेतनाको अभिवृद्धि गर्न सकोस् भन्ने उद्देश्य लिएर लेखकले प्रस्तुत गर्नुभएको हो ।’ नेपाली बृहद् शब्दकोश उदृत गर्दै विद्वान भीमप्रसाद नेपालद्वारा स्रष्टा भीम निरौलाको नयाँ कृति हाम्रो संस्कृतिको स्तर उजार गरिएको छ ।
‘वेदोऽखिलो धर्ममूलम’ शीर्षकमा अनन्तादर्श संस्कृत वेद विद्यालय सतासीधामका व्याकरणाचार्य दामोदर गौतमद्वारा संस्कृत भाषामा स्रष्टा भीम निरौलाको यस कृतिबारे विचार प्रकाशित भएका छन् । कृति सिर्जनाकार निरौलाको विचार, ‘संस्कृत साहित्य सबै भाषा, धर्म, वर्ण आदिको उद्गमस्थल भएको परिप्रेक्ष्यमा मनको खुल्दुली मेटाउने रहर जागेर आयो । आखिर मनै त हो भन्दै ‘मनसँग मनका कुरा’ र ‘सकारात्मक रुपान्तरण’ पुस्तक पछि यो ‘हाम्रो संस्कृति’ तेस्रो प्रयास गर्ने धृष्टता जाग्यो । विशेषत संस्कृत भाषा, खगोल, भूगोल, धर्म, अर्थ, काम, मोक्ष, प्राचीन विद्या हो । सत्य, धर्म, शान्ति, प्रेम, अहिंसा सहित चरित्र, अनुशासन, ज्ञान, विज्ञान, परा, अपरा सहित दक्ष र सफल जीवन जिउन सिकाउने कलाको प्रतीक भएकाले यस संस्कृत शिक्षालाई विश्वविख्यात हावर्ड विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय, युनिभर्सिटि अफ क्यालिफोर्निया लगायत विश्वका प्रख्यात शैक्षिक संस्थाहरुमा अगाडिदेखि नै पठनपाठन गरी आएका छन् । पूर्वीय दर्शनका प्रवर्तक हामी हिन्दू भनाउँदाहरुले यसलाई गौण रुपमा लिनु वाञ्छनीय छैन भन्ने अन्तरआत्माको उद्वेगलाई कलमको माध्यमले मलमपट्टि लगाउने प्रयास गरेको छु ।
संस्कृत भाषाकै चिन्तनस्वरुप यस कृतिभित्र प्रेरक प्रसङ्ग शीर्षकमा संस्कृत भाषाबारे उल्लेख गरिएका छन् । संस्कृत नै किन ? विश्वको प्राचीन भाषा, ऋषिमुनीहरुको सन्देश, धर्म संस्कार र संस्कृतिको द्योतक, भूत वर्तमान सहित भविष्यको मार्गदर्शक, संस्कृत सभ्यताको सन्देश, सभ्यताको खम्बा, चेतनाको ऊर्जा सञ्जीवनी, धर्म अर्थ काम र मोक्षको पथप्रदर्शक, संस्कृत जीवन जिउने कला, र सांसारिक जीवनबाट मुक्ति पाउने बाटो । यसरी संस्कृतबारे बताइएको छ । यति मात्र होइन विभिन्न प्रसंग र प्रमाण पेश गर्दै विश्वमा नै संस्कृत भाषाको महिमा हुँदै आएको उल्लेख गरिएको छ ।

एटलान्टामा स्थापना भएको वल्र्ड एसोसिएसन फर वैदिक स्टडिज नामक संस्थाले पूर्वीय दर्शन माथि अनुसन्धान गरिरहेको छ । न्युयोर्कमा अमेरिकन संस्कृत इन्ष्टिच्यूट र फ्लोरिडामा हिन्दू युनिभर्सिटी अफ अमेरिका को स्थापना भएको छ भने लस एन्जलसमा रहेको क्लेयरमोन्ट युनिभर्सिटीमा हिन्दू स्टडिज डिपार्टमेन्ट खुलेको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा खुलेको डिपार्टमेन्ट अफ संस्कृतले पनि संस्कृत भाषा र पूर्वीय दर्शन पढाउने गरेको छ । जर्मनीको ह्याम्वर्ग युनिभर्सिटी र अन्य शैक्षिक संस्थाहरुमा तथा जापानको क्योटो युनिभर्सिटीमा पनि पूर्वीय दर्शन र संस्कृत भाषाको अध्ययन अनुसन्धान गरिन्छन् । अमेरिकाको भर्जिनिया प्रान्तको सदनको सभा शुरु गर्दा ॐकारसहित असतोमा सत्गमय, तमसोमा ज्योर्तिगमय, मृत्योर्मा अमृतं गमय ॐ शान्ति । ॐ शान्ति ॐ शान्ति र द्यौ शान्ति, रन्तरिक्ष ॐ शान्ति भनेर शिर झुकाई अंग्रेजीमा अनुवाद गरेर सभा शुरु गर्छन् । अष्ट्रेलियाको सर्वोच्च अदालतमा श्रीमद्भागवत गीता इजलासमा राख्ने गरिएको छ । यी त भए केही उदाहरणमात्र विश्वका कैयन देशमा कैयन ठाउँमा संस्कृत अपनाइएका छन् । स्रष्टा निरौलाले संस्कृतिबारे आफ्नो यस नवीन कृतिमा उल्लेख गरेका छन् ।

स्रष्टा निरौलाको यस कृति संस्कृतमय छ । वेदहरुबारे पनि वर्णन गरिएका छन्, वेद वेदोऽखिलो धर्ममूलम, यजुर्वेद, सामवेद, अथर्ववेद, वेद वर्तमान, उपनिषद्, पुराण, पूराणको वर्तमान अवस्था, गीता, नीतिशतक, चाणक्य नीति, प्रेरक प्रसंग, सौहार्दता, तितो सत्य, धर्म, संस्कार, संस्कृति, जिज्ञासा शीर्षकमा विद्वान लेखक निरौलाले संस्कृत भाषा लगायत राष्ट्र र मानव जीवन आइपर्ने यावत आयामहरुका लागि चाहिने ज्ञानहरु खोजी गरि पुस्तकमा पस्केका छन् । समग्र भन्नुपर्दा पुस्तक जीवनका लागि सत्मार्ग दर्शनले र ज्ञानले भरिपूर्ण छ ।

अहिलेको माहौल प्रदेश तथा संघीय सांसदहरुको चुनाबको छ । यो पुस्तक ती राजनीतिज्ञ या स्वतन्त्र उम्मेदवारहरु लागि झनै उपयोगी रहेको छ । साथै विद्यार्थीहरु, सबै क्षेत्रका जनशक्तिहरु र आम सर्वसाधारणहरुका लागि पनि यो कृति निकै उपयोगी छ । बिजयादशमी २०७९ को शुभ उपलक्ष्यमा सीता दवाडी निरौलाद्वारा प्रकाशित यस कृति समाजका लागि उच्च मार्गदर्शक भएर उदाएको छ । के रहेछन् त ती ज्ञानहरु ? पढ्ने जिम्मा पाठक वर्गमा ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here