माओवादी र नेकपा एसको झापामा शून्य नतिजा

१० मंसिर २०७९, शनिबार मा प्रकाशित

झापा ।

२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा झापाका सात निर्वाचन क्षेत्र मध्ये ६ वटामा जीत हासिल गरेको नेकपा माओवादी केन्द्र १५ वर्षपछि झापामा शून्यमा झरेको छ ।

तत्कालीन झापा क्षेत्र नम्वर ६मा नेकपा (एमाले) का उम्मेदवार दीपक कार्की बाहेक अन्य सबै क्षेत्रमा नेकपा माओवादी केन्द्रले जीत निकाल्दै आफ्नो उपस्थिति बलियो बनाएको थियो । तर, २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनबाट ओरालो लागेको नेकपा माओवादी केन्द्रको राजनीति २०७९मा आइपुग्दा शून्यमा पुगेको हो ।

सत्ता गठबन्धन गरेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीले झापाका पाँच वटा निर्वाचन क्षेत्रमा साझा उम्मेदवार उठाए पनि माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले बिजय हासिल नगर्दा माओवादी केन्द्र झापामा शून्य भएको हो । माओवादी केन्द्रले प्रतिनिधिसभामा झापा क्षेत्र नम्वर २बाट हरिकुमार राना लाई अघि सारेको थियो । झापा २मा धर्मशीला चापागाँई र राम कार्कीको चर्चा चलिरहेका बेला नेकपा (एमाले) छाडेर आएका रानालाई माओवादी केन्द्रले स्थान दिँदै टिकट दिए पनि मतदाताले नपत्याउँदा उनी पराजित भए ।

यता प्रदेशसभा सदस्यका लागि झापा निर्वाचन क्षत्र नम्वर १को २मा श्यामबीर लिम्बूले टिकट पाएका थिए । तर, उनी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाईसँग पराजित बन्न पुगे । झापा क्षेत्र नम्वर ३को मा पूर्णसिंह राजवंशी समेत परााजित बने । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार भगिरथ पोद्दारलाई पछि पार्दै निर्वाचित राजवंशी यसपटक भने नेकपा (एमाले)का उम्मेदवार छविलाल चुडालसंग पराजित हुन पुगे ।

झापा क्षेत्र नम्वर ४ को १ मा झलकसिंह दलार्मी मगर यसपटक पराजित भएका छन् । अघिल्लो निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाट विजयी हुँदै प्रदेश सरकारको कृषिमन्त्री समेत भएका थिए । उता झापा क्षेत्र नम्वर ५ को १ बाट उम्मेदवार बनेका गगन पुरी समेत पराजित भए ।

सत्ता गठबन्धनबाट प्रतिनिधि र प्रदेश गरी पााँच सिट पाएको माओवादी केन्द्रले कुनै पनि निर्वाचन क्षेत्रमा विजय हासिल गर्न नसक्दा माओवादी केन्द्र १५ वर्षपछि झापामा शून्य अवस्थामा पुगेको हो ।

यता नेकपा एमालेसंग फुटेर बनेको एकीकृत समाजवादी पार्टीले समेत झापामा आफ्नो उपस्थिति देखाउन सकेन । झापा क्षेत्र नम्वर २ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर १मा उम्मेदवार रहेका पुष्प पोखरेल नेकपा एमालेका उम्मेदवार एकराज कार्कीसँग पराजित बने । एमालेसंग पार्टी विभाजन गरेर संगठन विस्तार गरे पनि झापामा एकीकृत समाजवादीले आफ्नो प्रभाव जमाउन सकेको छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here