समानुपातिकमा एमालेको अग्रता कायमै

0
263

काठमाडौँ, 

प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको सात दिन पूरा हुँदा पनि प्रत्यक्षतर्फको मतपरिणामसँगै समानुपातिकतर्फको पनि मतगणना जारी छ । प्रतिनिधिसभाको प्रत्यक्षसम्म एक सय ५४ निर्वाचन क्षेत्रको मतपरिणाम टुङ्गो लागिसकेको छ भने समानुपातिकतर्फ कुन दलले कति सिट पाउने टुङ्गो लागेको छैन ।

निर्वाचन आयोगका अनुसार शनिबार राति ११ बजेसम्म समानुपातिकतर्फ ८० लाख ५० हजार पाँच सय १० मतगणना भइसकेको छ । जसमा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ । एमालेले सबैभन्दा बढी २२ लाख २३ हजार आठ सय ८१ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको रहेको नेपाली कांग्रेसले २१ लाख २८ हजार पाँच सय ७३ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले नौ लाख ३३ हजार सात सय ३८ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख नौ सय ६७ मत प्राप्त गरेको छ । भने राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ७७ हजार तीन सय दुई र ५८ जनता समाजवादी पार्टीले दुई लाख ६० हजार दुई सय ९२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी जनमत पार्टीले एक लाख ९६ हजार ४६, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९० हजार एक सय ४३ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख आठ हजार ३३ मत, नेपाल मजदुर किसान पार्टीले ६९ हजार ८५ मत प्राप्त गरेको आयोगको तथ्याङ्क छ ।

हाम्रो नेपाल पार्टीले ४७ हजार एक सय ७६, राष्ट्रिय जनमोर्चाले ४२ हजार ५३, मङ्गोल नेश्नल अर्गनाईजेशनले ४१ हजार सात सय ७४, नेपाल संघीय समाजवादी पार्टीले २४ हजार तीन सय ८० र नेकपा (माले) ले २३ महार तीन सय २८ मत प्राप्त गरेका छन् भने नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार दुई सय नौ मत प्राप्त गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले कटायो दुई लाख

नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फ दुई लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार पार्टीले दुई लाख सात हजार दुई सय ७३ मत प्राप्त गरेको छ । समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड नपु¥याए राष्ट्रिय पार्टी बन्छ कि बन्दैन भन्ने संशय पैदा भइरहेका बेला पार्टीले दुई लाख बढी मत प्राप्त गरिसकेको छ ।

एकीकृत समाजवादीका नेता डा बेदुराम भुषालले समानुपातिकतर्फ अपेक्षा गरेभन्दा कम मत प्राप्त भएको बताउनुभयो । “हाम्रो पार्टीले समानुपातिकतर्फ कम मत प्राप्त गरेको छ, यो हाम्रो अपेक्षाभन्दा कम मत हो”, उहाँले भन्नुभयो, “सबै स्थानको मतगणना भइसक्दा थ्रेसहोल्ड कट्छ भन्नेमा विश्वास छ ।”

नेता भुषालले प्रत्यक्षतर्फ भने पार्टीले सकारात्मक परिणाम हासिल गरेको बताउनुभयो । यद्यपि, मकवानपुर–२, काठमाडौँ–८ र ललितपुर–२ मा भने अपेक्षित नतिजा नआएको उहाँको भनाइ छ ।

निर्वाचन आयोगका अनुसार मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कूल ६१ प्रतिशत मत खसेको थियो । समानुपातिक निर्वाचन प्रणालीमार्फत् एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here