प्रदेश–१ मा दोहो¥याउँदा १५ जनाले हारे

0
123

झापा ।

१ नम्वर प्रदेशसभा सदस्यमा १३ जनाले पुनः प्रतिनिधित्व गर्ने भएका छन् भने १५ जना बाहिरिएका छन् ।

मंसीर ४मा सम्पन्न मतगणनाको पछिल्लो प्राप्त नतिजा अनुसार प्रदेशसभा सदस्यमा १३ जना पुनः निर्वाचित हुँदै कार्यकाल दोहो¥याउन लागेका हुन् भने १५ जनाको सांसद बन्ने सपना अधुरै रहेको छ ।

प्रदेश १का ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ४७ वटाको अन्तिम मत परिणाम आइसकेको छ । अन्य ८ वटाको अन्तिम मतपरिणाम आउन बाँकी रहँदा एउटा निर्वाचन क्षेत्रमा भने मतगणना शुरु नै भएको छैन ।

एमाले एक्लै २१ सिटमा विजयी भइसकेको छ भने अझै ३ वटामा अग्रता कायम राखेको छ । नेपाली कांग्रेस भने हालसम्म १३ वटामा विजयी हुँदा ४ वटामा मात्रै अग्रता लिएको छ । उता सत्ता गठबन्धनको अर्को घटक माओवादी केन्द्रले ९ वटामा विजय हासिल गरेको छ भने नेकपा एसले ३ वटामा जित हासिल गरेको छ । एमाले गठबन्धनमा रहेको राप्रपाले २ वटामा विजय हासिल गरेको छ ।

हालसम्म अघिल्लो पटक प्रदेश १ सांसद बनेका १३ सांसदहरुले पुनः प्रदेशसभामा प्रवेश पाउने देखिएको छ । प्रदेशसभामा प्रवेश पाउने सांसदहरुमा सबैभन्दा धेरै एमालेका रहेका छन् । जसमा रामबहादुर राना, इलाम २ (२), हिक्मतकुमार कार्की, झापा ५ (१), एकराज कार्की, झापा २ (१), इन्द्रमणि पराजुली, धनकुटा २, लीलाबल्लभ अधिकारी, मोरङ २ (२), निरन राई, धनकुटा १ र बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बू २ रहेका छन् । इलामका राना यसअघि इलामको २ (१)बाट विजयी भएका थिए । यसपटक भने उनले निर्वाचन क्षेत्र परिवर्तन गरी २ (२)बाट विजयी बनेका हुन् । अन्य सांसदहरुले अघिल्लै निर्वाचन क्षेत्रबाट चुनाव जितेका हुन् ।
यस्तै नेपाली कांग्रेसबाट प्रदेश १ संसदको यात्रा तय गर्न लागेका नेता हुन् हिमाल कार्की । कार्कीले उदयपुर १ (२) बाट मतगणनामा अग्रता कायम गरेका छन् । उनी निर्वाचित हुने निश्चित प्रायः छ ।

यस्तै माओवादी केन्द्रबाट दोहोर्याउनेहरुमा इन्द्रबहादुर आङ्बो, पाँचथर २ र नारायण बहादुर मगर, उदयपुर २ (१) रहेका छन् । उनीहरुले पनि आफ्नो पुरानै क्षेत्रबाट विजय सुनिश्चित गरेका हुन् ।

यता, नेकपा एसका तथा तथा हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई, भोजपुर १ बाट निर्वाचित भएका छन् । राई यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । यता, इलाम १ (१)बाट निर्वाचित हुने अन्तिम चरणमा रहेकी प्रदेश १की पर्यटनमन्त्री खिनु लङ्वा लिम्बू पनि प्रदेश संसदमा दोहोरिने अर्की नेतृ बन्नेछिन् ।
यता प्रदेश १ को मुख्यमन्त्रीकै चाहना राखेर प्रदेशसभामा आउन चाहने नेपाली कांग्रेसका नेता राजीव कोइराला यस पटक सुनसरी २ (२)बाट पराजित बने । उनी अघिल्लो संसदमा काँग्रेसबाट संसदीय दलका नेता थिए ।

कोइराला मात्रै होइन मुख्यमन्त्रीको चाहना राख्ने एमाले नेता तथा प्रदेश १का पूर्वमन्त्री जीवन घिमिरे मोरङ ४ (२)बाट कांग्रेस नेता भीम पराजुलीसँग पराजित भए । निवर्तमान उपसभामुख सरस्वती पोखरेल सुनसरी ३ (१)बाट पराजित बनिन् । उनी अघिल्लोपटक माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेकी थिइन् ।

यस्तै अघिल्लो कार्यकालमा ओखलढुंगा १बाट संसदयात्रा तय गर्दै मन्त्री समेत बनेका एमाले नेता अम्बिरबाबु गुरुङ यसपटक पराजित बने । यस्तै एमालेबाटै सांसद बनेका उत्तमकुमार बस्नेत साविक निर्वाचन क्षेत्र सोलुखुम्बुको १ बाट पराजित बन्दा प्रदेश १ का यातायात तथा संचारमन्त्री समेत रहेका उपेन्द्र प्रसाद घिमिरे अघिल्लो निर्वाचन क्षेत्रबाट विजय भएपनि यसपटक सोही निर्वाचन क्षेत्रमा पराजित बने ।

माओवादी नेता कुशल लिम्बूका लागि मोरङ १ (१) बाट पुनः दोहोर्याउने लक्ष्य पुरा हुन सकेन भने यसअघि समानुपातिक सांसद बनेकी माओवादी नेतृ कुशुमकुमारी श्रेष्ठका लागि धनकुटा २ बाट प्रत्यक्ष सांसद जित्ने योजना अधुरै रह्यो । हालका प्रदेश १का स्वास्थ्यमन्त्री जयराम यादव साविककै निर्वाचन क्षेत्र मोरङ ५ (२)बाट पराजित बनेसँगै उनको संसद यात्रा पनि रोकिएको छ । यस्तै प्रदेश १का कृषिमन्त्री झलकबहादुर मगरको संसद यात्रा ५ वर्षका लागि रोकिएको छ । उनी झापा ४ (१)बाट ०७४ सालमा बिजयी बन्दा यसपटक पराजित बने । एमाले नेता तेजमान कन्दङ्बा तेह्रथुम २, माओवादी नेता पूर्णप्रसाद राजवंशी झापा ३ (२), एमालेबाट बसन्तकुमार बानिया पनि झापा ३ (१) बाट पराजित बने ।

अघिल्लो संसदमा एमालेबाट समानुपातिक सांसद बनेकी बसन्तीदेवी यादव यसपटक एमाले छोडेर मोरङ ५ (२)बाट प्रत्यक्षमा प्रतिस्पर्धा गरेपनि पराजित बनिन् । अघिल्लो कार्यकालमा समानुपातिक कोटाबाट सांसद बनेकी नेकपा एसकी नेतृ सरिता थापा पनि यसपटक संखुवासभा २ बाट पराजित बनिन् ।

प्रदेश १ मा यसअघि प्रतिनिधित्व गर्ने ६५ जनामध्ये एमाले नेता जगदीशप्रसाद कुसियैत, भीम आचार्य, शेरधन राई तथा माओवादी नेता रामकुमार राई भने संघीय सांसदको प्रतिस्पर्धामा थिए ।

एमाले नेताहरू कुसियैत सुनसरी ४, आचार्य सुनसरी २, राईले भोजपुरबाट प्रतिस्पर्धा गरेका छन् । उनीहरुमध्ये आचार्य र कुसियैतले अग्रता लिएपनि शेरधन राई पराजित बनेका छन् भने माओवादी नेता रामकुमार राई पनि खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । ०७४ सालमा प्रदेश १ प्रदेशसभामा आएका अन्य ६१ जना सांसदले भने संसदीय प्रतिस्पर्धामा भागै लिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here