छात्रछात्रालाई नेपाली सेनाको तालिम

0
295

रसुवा,

विद्यालयमा अध्ययनरत छात्रछात्रालाई राष्ट्रिय सेवा दलअन्तर्गतको तालिम प्रदान गरिएको छ । प्रत्येक छात्रछात्रालाई विद्यालयस्तर देखिनै बफादार एवं अनुशासित बनाई राष्ट्रप्रति समर्पित युवा जनशक्ति तयार गराउने उद्देश्यका साथ नेपाली सेनाको कार्यनीतिबमोजिम नीलकण्ठ नमूना मावि जिवजिवे र हाइल्याण्ड आवाश्ययीय मावि धुञ्चेका विद्यार्थीलाई सो तालिम प्रदान गरिएको हो ।

प्रतिविद्यालय १८ छात्र १८ छात्रासमेत कूल ७२ सहभागी भएको सम्बन्धित विद्यालयले जनाएका छन् । दुवै स्थानमा सञ्चालित जिल्लास्तरीय तालिम पूरा भएको छ ।

तालिमको माध्यमबाट विद्यार्थीलाई नेपाली सेनाबाट प्रदान गरिएका प्राप्त ज्ञान र सीपले पढाइका साथसाथै प्रकृतिक प्रकोपबाट हुनसक्ने जोखिमको उद्धार कार्यमा समेत क्षमताको वृद्धि विकास भएको, छात्रछात्रामा थप अनुशासन बढेको, सेनाप्रतिको सम्बन्धमा थप प्रगाढ भएको, आफ्नो पढाइ पूरा भएपछि सेनामा समाहित हुने जागरणसमेत बढिरहेको रसुवाका अग्रज गुरु एवं हाइल्याण्ड आवश्यीय माविका संस्थापक तिरबहादुर गुरुङले जानकारी दिनुभयो ।

सिसं ४६ अन्तर्गत गत साउन १ गतेदेखि नेपाली सेनाले विद्यालयस्तरमा सुरू गरेको जुनियर डिभिजन तालिम सम्पन्न भएको र अब क्षेत्रीयस्तरको तालिम हुने विष्णुदल गणले जनाएको छ ।

तालिमको माध्यमबाट छात्रछात्राले खुकुरी ड्रिल, मार्सपिटी, तेकन्दो, लुक्ने छिप्ने कला, नक्साको अध्यायन, कवज, नाच, दौडजस्ता विविध विषयमा समेत ज्ञान तथा क्षमताको वृद्धि विकासमा ठूलो टेवा पुगेको नीलकण्ठ नमूना मावि जिवजिवेका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले बताउनुभयो ।

ग्रामीण भेकमा अवस्थित जिवजिवे माविका छात्रछात्रालाई सेनाले प्रदान गरेको राष्ट्रिय सेवादलको तालिमले स्थानीय अभिभावक खुशी व्यक्त गरेको प्रअ देवकोटाले जानकारी दिनुभयो ।

यस्ता खाले तालिमको निरन्तरता दिनसमेत विद्यार्थीको माग बढ्दै गएको शिक्षकले बताएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत रसुवा, नुवाकोट र सिन्धुपाल्चोक क्षेत्रका हिमाली वन जङ्गलको जैविक विविधता संरक्षणमा कार्यरत विष्णु दलगणले तालिम प्रदान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here