म भोट् हाल्दिनँ

0
186

गाउँमा राजनीतिको चहलपहल हुन थालेको थियो । पुराना–पुराना नेता पनि एक्कासी देखिन थालेका थिए । चुनावी रौनकले बजार चोकमा होहल्ला हुन्थ्यो, विभिन्न चर्चा, अनुमान हुन्थ्यो । ‘अचार्ज ठूले’ भनिने धनबहादुर भने बेखबर थिए । कुनै बेला एउटा दलमा मज्जाले हिँड्ने ठूलेले न जागिर खाए न त कुनै इलम गरे । उनी राजनीतिमा लागेर एकदिन सबैको भलो हुने दिन आउँछ भनेर ढुक्क थिए । ठूले जसकापछि लागेका थिए तिनले राजधानीमा घर बारी जोडेका, छोराछोरी अमेरिका, बेलायत पुगेका खबर पनि सुनिसकेका थिए । कक्षा १२ सकेर बी ए पढ्दै गर्दा त्यही बशन्तेका पछि हिँड्ने ठूले सधैँ गरिबीको मारमा परिरहेका थिए ।

‘यो चुनावमा भोट दिन जान्न म’ –ठूलेले उसकै बाल साथी बशन्तेलाई भन्यो ।
बशन्तेले भन्यो– ‘होइन ए साथी यसपटक त म उठेको छु क्या ! मलाई जिताउनु परेन ?’

‘त्यही भएर तिम्लाई भेट्न घरमै आ’को म’ –बशन्तेले भन्यो ।
ठूलेले भन्यो– ‘तिमीले त पहिले पनि जितेको, काठमाडौं बस्न थालेउ, अब यो गाउँमा केको र कसको मायाले फर्केको नी ?’

त्यति भनेर ठूलेले केही पनि बोलेन एकोहोरो बशन्तेका कुरामात्र सुनी रह्यो । फेरि भेट्न आउने भन्दै बशन्ते र उसका साथी बाटो लागे ।

ऊर्जाशील समय पार्टीको काम भन्दै दगुर्दा सक्कीगो, आफू घोडा बनेर कुदेको सम्झेर ठूले रातभर निदाउन सकेनन् । बशन्ते जस्ता चतुरले लोकतन्त्रको तर खान पाउँदा रहेछन्, आफू त हे¥याहेरेइ उनले मनमनै कल्पिए । आम भूइँमान्छेको टीठलाग्दो अवस्था सम्झँदै ठूले निदाएको पत्तै भएन । चुनाउको अघिल्लो रात टोलै पिच्छे कुखुरा काट्ने, खसी ढाल्ने हुन थाल्यो । पार्टीका मानिसहरु पैसा बाँड्न आएको ठूलेले सुने । ठूलेलाई यसपाली पैसा, मासुभात र रक्सी बियरले तान्न सकेन । उनले कसैको नखाने र भोट पनि नदिने अठोट गरे ।

चुनाउको दिन ठूले र उसकी जाहानले दिनभर खेतमा काम गर्ने योजना बनाए । टाठाबाठाले आफुलाइ प्रयोग गरेर सधैँ बसन्त बहारको आनन्द लिएको साक्षी उनकै साथी बशन्ते थिए गाउँमा कुधेर सबैको आँखाको कशिङ्गर बन्नुपर्ने, समस्यामा पर्दा कसैले नहेर्ने नसोध्ने भएसी अमुक पार्टीको कार्यकर्ता बनेर के काम ? भन्ने लाग्न थाल्यो । धेरै समिरहरु अमिर बने, शिशिरहरु सदाबहार बशन्ते बने तर आफू अचार्ज ठूलेबाट धनबहादुरसम्म बन्न कहिल्यै सकेनन् । ठूलेले चुनाउको दिन खेतमा आलु रोप्दै एक्लै भनिरहेका थिए– ‘यसपाली एक–दुई–तीन म भोट हाल्दिनँ हाल्दिनँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here