झापा । 
झापामा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
शुक्रबार राती पौन १२ बजे अर्जुनधारा नगरपालिका-४ भाङबारीस्थित भित्री सडक खण्डमा लक्ष्मीपुरबाट राते खोलातर्फ जाँदै गरेको बागमती प्रदेश ०२- ०१८ प ८३८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल पाँचथर फिदिम नगरपालिका- १ निवासी ३५ वर्षीय गंगाराम काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेकोले उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही मोटरसाइकलमा पछाडि सवार फिदिम- १ निवासी ४० वर्षीय मिलन बस्नेतको टाउको र शरीरको विभिन्न भागमा चोटको छ उनको बिर्तासिटि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी शुक्रबार गए राति ११ बजे मेचीनगर नगरपालिका- १० निन्दा पुलमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री नाम, थर ,वतन नखुलेको अन्दाजी ७० वर्षीय वृद्धको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १-०१-१२ प ४३७१ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।
यता मोटरसाइकल चालक मेचीनगर- ८ बस्ने ३८ वर्षीय नकुल श्रेष्ठको टाउकोमा चोट लागेको र उनको उपचार भइरहेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।





























