चीन,

चीनमा सरकारविरुद्ध प्रदर्शन चर्किएको छ । राष्ट्रपति सी चिनफिङको सत्ताले शून्य कोभिड नीतिका नाममा जनतालाई घरमा कैद गरेर राख्ने र आफू मनलाग्दी गर्दै गएपछि जनताहरुको धेर्यताको बाँध टुटेको हो । उनीहरु सरकारी नीतिलाई चुनौती दिँदै सडक प्रदर्शनमा होमिएका छन् ।
सी जिनपिङको शून्य कोभिड नीति कहिलेसम्म सहने भनेर धेरै सहरहरूमा हजारौं मानिसहरू कोभिड प्रतिबन्धविरूद्ध सडकमा उत्रिएका हुन् । यो विरोध राष्ट्रपति सी जिनपिङको लागि भने ठूलो राजनीतिक परीक्षा बनेको छ ।
पश्चिमी सहर उरुम्चीमा रहेको एउटा अपार्टमेन्टमा आगलागी भएको थियो । त्यसमा १० व्यक्तिको ज्यान गयो । भित्र आगोलागिमा फसेका मानिस बाहिर कडा लकडाउन भएकोले निस्कन पाएनन् । त्यस घटनाले अग्लो अपार्टमेन्टमा बस्ने करोडौं चिनियाँ नागरिकहरूलाई आतंकित बनायो । प्रशासनले उक्त कुराको खण्डन गरे पनि, यसले जनतामा आक्रोश र असन्तुष्टिलाई रोक्न सकेन । विशेष गरी फ्ल्याटमा बस्नेलाई छिट्टै बाहिर निस्कन आग्रह गर्ने भिडियोहरू सोशल मिडियामा भाइरल भएका छन् ।
यो कोभिड प्रतिबन्धसँग सम्बन्धित डरलाग्दो श्रृंखलामा सबैभन्दा पछिल्लो घटना हो । यसअघि शहरव्यापी लकडाउनका क्रममा समयमै उपचार नपाउँदा गर्भवती महिला तथा बालबालिका र वृद्धवृद्धाले ज्यान गुमाउने गरेको समाचारहरु आएका थिए ।
यो नीतिले धेरैको ज्यान जोगाएको भए पनि लकडाउनले निम्त्याएको समस्याले समाजका हरेक वर्गलाई आक्रोशित बनायो । विश्वविद्यालयका विद्यार्थी, कारखानाका कामदार, मध्यमवर्गीय परिवार वा धनी वर्ग सबै आक्रोशित भए । केहीअघि बेइजिङ ब्रिजमा एक व्यक्तिले प्रदर्शन गरेका थिए । राष्ट्रपति सी चिनफिङविरुद्ध खुला आलोचनाले राष्ट्रलाई स्तब्ध बनायो । यसले चीनमा विरोध प्रदर्शनको लागि धेरैलाई प्रेरित गर्यो ।
सयौं कारखानाका कामदारहरूले आफ्नो अधिकारको माग गर्न देशको केन्द्रीय सहर झेङ्झाउमा प्रदर्शन गरे । उनीहरुको प्रहरीसँग झडप भयो किनभने उनीहरूले सिसी क्यामेरा र झ्यालहरू तोडफोड गरे । दक्षिणपश्चिमी सहर शोङकिङमा मास्क नलगाएका एक मानिसको भिडियो सार्वजनिक भयो । उक्त भिडियोमा उनले भने, ‘मलाई स्वतन्त्रता दिनुहोस् वा मृत्यु’ । यो यस्तो लाइन थियो जसलाई प्रदर्शनकारीहरूले चाँडै अपनाए । उरुम्चीमा भएको आगजनी देशव्यापी प्रदर्शन कारण बन्यो । पहिला उक्त सहरमा सयौं मानिस सडकमा उत्रिए । यसपछि सांघाई, बेइजिङ, वुहान, नान्जिङ र चेङ्दुमा पनि त्यस्तै भयो । प्रदर्शनकारीहरूले सी चिनफिङ र चिनियाँ कम्युनिष्ट पार्टीलाई सत्ता छोड्न माग गरे । पार्टी र यसका नेताहरूको आलोचना गर्नेलाई कडा सजाय र सेन्सर गरिएको देशमा यस्ता घटनाहरू यसअघि कल्पना गर्न गाह्रो थियो ।
यो प्रदर्शन कोभिडप्रतिको असन्तुष्टिको सानो झलक मात्र हो र यसले सरकारका लागि पहिले नै गाह्रो भइसकेको अवस्थालाई थप जटिल बनाएको विज्ञहरू बताउँछन् । जोन्स हप्किन्स युनिभर्सिटीका समाजशास्त्री हो-फङ हङका अनुसार यसले ‘अत्यन्त खतरनाक अवस्था’को प्रतिनिधित्व गर्छ र सी जिनपिङ शासनका लागि गम्भीर चुनौती खडा गर्छ । उनी भन्छन्, ‘सी चिनफिङले गत दुई वर्षमा शून्य कोभिड नीति अपनाएर आफैंलाई समस्यामा पारेका छन् । यो अवस्थासँग जुध्न उनका लागि उत्तम उपाय भनेको विरोध निरन्तर बढ्दै गएमा स्थानीय प्रशासनलाई अन्त्य गर्न आग्रह गर्नु हो । तर उनी भने यो घटनाबाट पर बस्नुपर्छ ।’
साथै हरेक लकडाउनमा खाना र औषधिको अभाव भयो । स्थानीय प्रशासनलाई अत्यावश्यक वस्तु उपलब्ध गराउन निकै कठिनाइ भएको थियो । लकडाउनकै कारण थप डरलाग्दा घटना बाहिर आए । जनताले राहतको घोषणा हुने अपेक्षा गरेका थिए । राष्ट्रपति सीले सत्तामा आफ्नो पकडलाई अझ बलियो बनाए तर उनले शून्य कोभिड नीतिमा कुनै पनि परिवर्तन नगर्ने घोषणा गरे । यसले जनतामा निराशा बढायो ।
शून्य कोभिड नीतिप्रति आम मानिसको असन्तुष्टिलाई सरकारले कम आँकेको देखिन्छ । सी चिनफिङले हालसालै उक्त नीतिबाट पछि नहट्ने बताएका थिए । किनकि सरकारले सामूहिक परीक्षण गर्न, लकडाउन र आइसोलेसन सुविधाहरू निर्माणमा ठूलो आर्थिक स्रोतहरू खर्चिएको छ ।
साङ्घाईमा जारी विरोध प्रदर्शनबारे रिपोर्टिङका क्रममा एक जना बीबीसी पत्रकारलाई चिनियाँ अधिकारीहरूले पक्राउ गरी हिरासतमा लिएका थिए । एड लरेन्सलाई पक्राउ गर्ने क्रममा कुटपिट गरिएको बताइएको छ । त्यस लगत्तै उनलाई हतकडी लगाइयो र केही घण्टा थुनियो ।बीबीसीका एक प्रवक्ताले मान्यता प्राप्त पत्रकारको हैसियतमा आफ्नो कर्तव्य निर्वाह गरिरहँदा लरेन्समाथि भएको आक्रमण निकै चिन्ताजनक रहेको बताए । उनका अनुसार चिनियाँ अधिकारीहरूले उनलाई हिरासतमा लिनुबारे कुनै स्पष्टीकरण दिएनन् र माफी मागेनन् ।
घुँडा टेक्यो सी सरकारले
यसैबीच विरोध प्रदर्शनहरू देशव्यापी बन्दै गएपछि कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएका लकडाउन खुकुलो पारेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सांघाई र गोङजाउ सहरका एक दर्जन जिल्लामा लकडाउन हटाइएको छ ।
चोङकिङ्गमा पनि लडाउन खुकुलो बनाइएको छ । चीनका उपप्रधानमन्त्री सन चुनलानले भाइरसका कारण हुने मृत्युदर निकै कममा झरेको भन्दै कोभिड नीति खुकुलो पारिएको बताएका छन् ।
अन्तर्राष्ट्रिय समुदायको चेतावनी
मानव अधिकार वाच (एचआरडब्ल्यू)ले शान्तिपूर्ण विरोध गर्ने जनताको अधिकारको सम्मान गर्न चीन सरकारसमक्ष अनुरोध गरेको छ । चिनियाँ सरकारको कठोर ‘शून्य कोभिड’ नीति तथा प्रतिबन्धात्मक आदेशको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा जनसाधारण पक्राउ परेकामा चिन्ता व्यक्त गर्दै एचआरडब्ल्यूले जनाधिकारको सम्मान गर्न आग्रह गरेको हो ।
शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने स्वतन्त्रता, मानव अधिकारको रक्षा तथा जनताको मौलिक अधिकारको सम्मान गर्न चीन सरकारलाई अनुरोध गर्दै उक्त संस्थाले हिरासतमा राखिएका सबै प्रदर्शनकारीलाई तत्काल रिहा गर्न र विरोध प्रदर्शनसँग सम्बन्धित सूचना एवं समाचार सम्प्रेषण गर्ने अनलाइन पोर्टलको सेन्सरसिप बन्द गर्न पनि आह्वान गरेको छ ।
यस्तै, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले पनि चिनियाँ जनताको शान्तिपूर्ण विरोध प्रदर्शनको अधिकार कुण्ठित हुन नदिन राष्ट्रपति सी चिनफिङ नेतृत्वको सरकारसँग अनुरोध गरेका छन् । नेपालपाना




























