झापा ।

दुर्गा पञ्चायन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड–१को प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष चन्द्रकुमार श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी विभाग प्रमुख डिल्ली दाहालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । दाहालले हाल वडाभित्र मात्र कार्य क्षेत्र रहेको उक्त सहकारी परीक्षणकालमा सफल भएको हुँदा बिर्तामोड क्षेत्रभरी कार्यक्षेत्रको स्वीकृति दिने बताए ।
वार्षिक प्रतिवेदन अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन संयोजक ईश्वर लुइँटेलले प्रस्तुत गरेका थिए । स्थापनाको छोटो अवधिमा सहकारीको ५२ लाख २ हजार ३ सय ४०को आयव्यय सार्वजनिक गरिएको छ । सहकारीमा ३ सय १४ जना शेयर सदस्य रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको शेयरपुँजी २५ लाख ३४ हजार पुगेको छ । १२१ जना सदस्यका साथ १२ लाख १० हजारबाट संस्थाले कारोबार शुरु गरेको सचिव भवानी प्रसाईले बताए । संस्थाले चालू बर्षमा शेयर सदस्य संख्या पाँच सय, शेयरपुँजी ५० लाख, ऋणी संख्या १५५, लगानी ८० लाख र निक्षेपबृद्धि गरी ५० लाख पु¥याउने लक्ष्य लिएको छ ।
सहकारीका उपाध्यक्ष लवकुमार बस्नेतले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि दाहालसहित जिल्ला सहकारी संघका केशव वस्नेत, बचत संघका उपेन्द्र ओली, वडा सदस्य टेकबहादुर अधिकारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, न्यूटनस एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, नेकपा एमालेकी नेतृ डिल्लीमाया आचार्य, दुर्गा पञ्चायन टोल सुधार समितिका उपाध्यक्ष शिवकुमार समाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रसाईले गरेका थिए ।
कार्यक्रमका अतिथिहरुले छोटो समयमा संस्थाले उल्लेख्य प्रगति गरेको भन्दै प्रशंसा गरेका थिए । सहकारीको नीति, सिद्धान्त र मापदण्ड अनुसार अगाडि बढ्न तथा वित्तीय अनुशासन पालनामा जोड दिइएको थियो ।






























