शिक्षासेवी तथा न्यूटन्स एकेडेमीका संस्थापक प्रसाईंको निधन

0
276

बिर्तामोड।

झापाका अग्रज शिक्षासेवी तथा न्यूटन्स एजुकेशन एकेडेमी र एभरेन्ट स्मार्ट स्कूलका संस्थापक हरिकुमार प्रसाईंको निधन भएको छ ।

प्रसाईं केही वर्षदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित भई उपचाररत् थिए । प्रसाईंको अमेरिकाको नर्थ क्यालिफोर्नियामा उपचारका क्रममा आइतबार बिहान (अमेरिकाको स्थानीय समय डिसेम्बर ३ अपरान्ह ४ बजे ) निधन भएको न्यूटन्सका प्रिन्सिपल देवेन्द्र हुमागाईले पूर्वाञ्चललाई जानकारी दिए । ७१ वर्षीय प्रसाईका श्रीमती धर्मा पराजुली प्रसाई, छोरा–बुहारी आषिश–मञ्जु, छोरीहरु प््रवीना, स्मिता, निरजा रहेका छन् ।

स्व. प्रसाईको पार्थिव शरीरको अन्त्येष्टी अमेरिकामा नै गरिने बताइएको छ ।

संस्थापक प्रसाईंको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै न्यूटन्स एजुकेशन एकेडेमी र एभरेन्ट स्मार्ट स्कूलमा आइतबार नै शोक सभा गरिएको छ भने सोमबार शोक विदा दिइएको जनाइएको छ ।

२०२९ सालमा महेन्द्र रत्न माथि अनारमनीबाट शिक्षासेवा शुरु गरेको प्रसाईंले घैलाडुब्बा आदर्श विद्या मन्दिर मावि, अनारमनीको सगरमाथा आवासीय मावि, अर्जुनधाराको दिपज्योति विद्या मन्दिर माविमा विभिन्न जिम्मेवारीसँगै विज्ञान, कृषि, गणित शिक्षकको रुपमा लामो समय शिक्षण गरेका थिए ।

दिपज्योतिको उनी संस्थापक पनि थिए । ०६० सालमा न्यूटन्स एजुकेशन एकेडेमीको स्थापना गरेर संस्थापक प्रिन्सिपलको रुपमा प्रसाईले शिक्षा सेवालाई निरन्तरता दिएका थिए ।

पछिल्लो समय प्रविधि र स्मार्ट शिक्षाका लागि उनले विश्वस्तरको शिक्षासेवा बिर्तामोडमा नै उपलब्ध गराउने उद्देश्यले एभरेष्ट स्मार्ट स्कूलको स्थापना गरेका थिए । उनी नेपाल शिक्षक संघ झापाको संस्थापक सचिवसँगै प्याब्सन झापाको तीन कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । साथै प्याब्सनको केन्द्रीय उपाध्यक्ष समेत भएर आफ्नो भूमिका निर्वाह गरेका थिए ।

२००८ साल मंसीर ४ गते माता लक्षिमा र पिता देवीप्रसादका साइला छोरा भई ताप्लेजुङको आठराई हांयां (हाङपाङ–६) हालको त्रिवेणी ३ मा उनको जन्म भएको थियो । उनले ४२ वर्ष शिक्षा क्षेत्रमा सेवा गरेका थिए ।

‘शिक्षाको प्रकाश पुञ्ज नै मानव सभ्यताको आधार हो’ भन्ने आदर्शलाई आत्मसात गरेको प्रसाईले शैक्षिक क्षेत्रमा गरेको योगदानको मूल्यांकन गरेर विभिन्न क्षेत्रबाट सम्मान प्रदान गरिएको थियो । पूर्वाञ्चल दैनिक तथा पूर्वाञ्चल डेली डटकमका शुभचिन्तक शिक्षासेवी प्रसाईको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस प्रकाशन प्रालि स्वर्गीय प्रसाईप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here