बिनोद सापकोटा
झापा।
आन्तरिक तथा वाह्य पर्यटकको पहिलो रोजाइँ हुने गरेको झापाको पर्यटकीय क्षेत्र दोमुखा जाने सडक अब कालोपत्रे हुने भएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको माईधारदेखि दोमुखासम्मको २९ सय मिटर सडक शिवसताक्षी नगरपालिकाले कालोपत्रे गर्ने भएको हो । नगरपालिकाले उक्त सडक कालोपत्रे गर्नका लागि दशौं नगरसभाबाट ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोशन) ले चालूआर्थिक वर्ष ०७९÷०८०मा छुट्याइएको बजेटमध्ये यो शीर्षकमा ६ करोडको सबैभन्दा ठूलो योजना र बजेट रहेको बताए । उनका अनुसार यो सडक ७ मिटर चौडाइ हुनेछ ।
०४८ पछिका हरेक निर्वाचनमा उम्मेदवारले यही सडकलाई चुनावी एजेण्डा बनाएर निर्वाचन जित्ने गरेका थिए । ‘माईधार–दोमुखा सडक निर्वाचन जीते पछि कालोपत्रे गरिने छ’– भन्दै मतदाता प्रभावमा पार्थे । स्थानीयबासी समेत रहेका दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका बरिष्ठ उपाध्यक्ष रमेश तिम्सिना भन्छन्– ‘तर यो सडक कालोपत्रे हुन सकेको थिएन । उम्मेदवारको चुनावी एजेण्डा र भाषणमा मात्र सडक कालोपत्रे बन्यो ।’
यो क्षेत्रमा हालसम्म सीपी मैनाली, राधाकृष्ण मैनाली, तारासम याङ्या, केशवकुमार बुढाथोकी, लालप्रसाद साँवाले निर्वाचन जितेका छन् । जितेकामध्ये याङ्या र साँवा मात्र स्थानीय हुन् । तर, उनीहरुले पनि सडक कालोपत्रेका लागि ध्यान दिएनन् । स्थानीय भन्छन्– ‘सांसदले हेपेको ग्राभेल सडकलाई मेयरले कालोपत्रे गरेर देखाइदिने भए ।’
स्थानीय तहको निर्वाचन ०७४मा नगर प्रमुखका प्रत्यासी उम्मेदवार सबैले यही विषयलाई फेरि उठाएका थिए । नगरका पहिलो ‘मेयर’ चन्द्रकुमार सेर्माले भने– ‘मैले मत माग्न जाँदा नगरका पर्यटकीय क्षेत्रसम्म पुग्न सडक कालोपत्रे गरिने छ भनेको थिएँ । रिङ रोड बन्यो । कालोपत्रे हुने क्रम जारी छ ।’ सडक निर्माणका लागि प्रदेश र केन्दसँग पटक–पटक पहल गर्दा समेत सुनुवाइ भएन । नगर एक्लैको बजेटले सम्भव नहुँदा मेरो कार्यकालमा माईधार–दोमुखा सडक फराकिलो भयो । तर, कालोपत्रे गर्न सकिएन ।’
अहिले पनि नेकपा एमालेले शिवसताक्षी नगरपालिकाको प्रमुख कार्यकारी पद जितेको छ । नगर सभाबाटै अनुमोदन गरेर आन्तरिक श्रोतबाट सडक कालोपत्रे गर्न शिवसताक्षी नगरपालिका जुटेको नगर प्रमुख थोप्राले बताए । थोप्राले पनि भनेका थिए– ‘मैले निर्वाचन जीतेको एक वर्षमा माईधार कालोपत्रे सडक कालोपत्रे हुने छ ।’ उक्त सडक कालोपत्रेका लागि अहिले ठेक्का आव्हान भएको छ । माघको पहिलो हप्तादेखि सडक कालोपत्रे शुरु हुने नगर प्रमुख थोप्राले बताए । राजमार्गदेखि नजिकको दूरीमा भए पनि दोमुखासम्म पुग्ने बाटोको अवस्था राम्रो नहुँदा पर्यटक तथा स्थानीयले गुनासो गर्दै आएकाले नगरको आन्तरिक श्रोतबाटै भए पनि सडक कालोपत्रे गर्न लागेको नगर प्रमुख थोप्राले बताए ।
दोमुखा जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्र हो । दोमुखा धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष धनवहादुर लावतीका अनुसार सिजनमा दैनिक कम्तीमा एक हजार पर्यटक घुम्न, वनभोज खान र रमाइलो गर्न यहाँ आउने गरेका छन् । विदाको दिन र मंगलबार मात्रै १ सय समूह दोमुखामा आउने गरेको तथ्याङ्क समितिसँग छ । दोमुखाबाट गत वर्षमात्र समितिले ४६ लाख आम्दानी गरेको थियो । सडक कालोपत्रे भएपछि एक करोड आम्दानी हुन सक्ने समितिका अध्यक्ष लावतीले बताए ।
‘पर्यटकीय क्षेत्रको सडक भएकाले कालोपत्रेका लागि हामीले पनि धेरै वर्षदेखि पहल गर्दै आएका थियौं, नेतालाई भेट्यौं, मन्त्रालयसम्म पुग्यौं, कसैले सुनुवाइ गरेन’– उनले भने– ‘अन्तिममा नगरपालिकाले नै सडक कालोपत्रे बनाउन पुग्ने गरी बजेट बिनियोजन गरेको छ, हामी साह्रै खुशी छौं ।’
सडकमा दुई वटा बक्स कल्भर्ट र दुई वटा कज्वे निर्माण गर्नुपर्ने मेयर थोप्राले बताए । चालू वर्षभित्रै सक्ने गरी निर्माण प्रक्रिया अघि बढाइसकेको उनले बताए ।