धनुषकोटीधाम क्षेत्र आकर्षक वनभोजस्थल बन्दै गएको छ । इलाम जिल्लाको पहाडी भू–भागबाट उत्पत्ति भएर झापाको लगभग मध्यभाग भएर बग्ने झापाको सबैभन्दा ठूलो र अति पवित्र कनकाई नदीको पूर्वी किनारामा यो क्षेत्र अवस्थित छ । यो क्षेत्र सुकेडाँगी वन क्षेत्रभित्र पर्छ । दोमुखाको पूर्वी तटमा प्राकृतिक, धार्मिक र आध्यात्मिक गरिमाले ओतप्रोत भएर अवस्थित धनुषकोटीधाम क्षेत्र चुरे पर्वतको काखमा रहेको छ । चुरेभावर प्रदेशको सिमान्त क्षेत्र र कनकाई नदीको किनारमा अवस्थित यो धामक्षेत्र प्रकृतिको अनुपम उपहार पनि हो झापावासीको लागि । पूर्व–पश्चिम लोकमार्गदेखि करिब ३ कि.मि.उत्तरमा कनकाई नगरपालिका–२ सुकेडाँगीमा रहेको यो क्षेत्र पूर्वाञ्चलकै प्रसिद्ध पर्यटकीय क्षेत्र हो ।
धनुषकोटीधाम क्षेत्र अहिले झापाकै प्रसिद्ध वनभोजस्थलको रुपमा पनि विकसित हुँदै गएको छ । बिदाका दिन र हरेक शनिवार झापा जिल्ला भित्र र बाहिरबाट पनि हजारौंको संख्यामा वनभोज खानेको भीड लाग्छ यहाँ । बिदाका दिन निजी विद्यालयका दर्जनौ सुन्तले रङ्गका बसहरुले भरिभराउ देखिन्छ यो ठाउँ । विद्यालय र महाविद्यालयका समूहहरुका लागि मात्र यो क्षेत्र वनभोजको छनोटको स्थल बनेको होइन, विभिन्न सामाजिक, राजनीतिक तथा वित्तीय संघसंस्थाका वार्षिक साधारणसभा र अधिवेशनहरु पनि धनुषकोटी वनभोजस्थलमै हुने गरेका सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गंगाप्रसाद ढुंगेलले बताए ।
धनुषकोटीधाम क्षेत्र पर्यटकका लागि सकारात्मक कौतुहलता र आफ्नोपनका साथ आत्मियता उब्जाउन सक्ने क्षेत्र हो । वनभोजमा आउनेहरु नजिकै रहेको कनकाई नदी र सुन्दर वनक्षेत्रको सौन्दर्यबाट लाभान्वित हुने गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटनलाई बढावा दिन झापाका धार्मिक तथा प्राकृतिक सम्पदाहरु निक्कै ठूलो सम्भाव्यता राख्छन् । त्यसमध्ये धनुषकोटीधाम क्षेत्र पनि एक हो । पश्चिममा कलकल गर्दै निरन्तर बगिरहने कनकाई माईको आवाज, छेवैमा रहेको अति रमणीय वनको भित्री भागबाट आइरहेको चराचुरुङ्गीहरुको संगीतले सदैव गुञ्जायमान रहिरहने यो धाम क्षेत्र बालक, वृद्ध तथा नौजवान सबैको लागि आध्यात्मिक शान्ति प्राप्तिको लागि एक उत्तम विकल्पको रुपमा रहेको छ । भौतिक संसारको व्यस्तता र यान्त्रिक जीवनदेखि १ दिनका लागि भए पनि शान्ति प्राप्तिका लागि बनभोज जानका लागि उत्तम विकल्पका रुपमा धनुषकोटी वनभोजस्थल परिचित हुँदै गएको र यसको अझै विकास तथा स्तर बढाउन सबै कनकाईवासीको सहयोग आवश्यक रहेको कनकाई उच्च मा.वि.सुरुङ्गाका शिक्षक बल्लभकुमार गौतमले बताए । यो क्षेत्र धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय क्षेत्र हो । साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामध्ये नेपालमै उत्कृष्ट बन्न सफल भएको सुरुङ्गा खानेपानी संस्थाको तर्फबाट आपूर्ति गरिएको स्वच्छ पिउने पानीको व्यवस्था गरिएको र वनभोजमा जानेका लागि सुरक्षा लगायतका विषयमा राम्रो व्यवस्था रहेकाले ढुक्क र आनन्दसँग रमाउने स्थलको रुपमा यो क्षेत्र सर्वप्रिय बनेको सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूहका निवर्तमान अध्यक्ष भक्तबहादुर पौडेलले बताए ।
भक्तबहादुर पौडेल,नारायणप्रसाद पौडेल(कुमार),मेदनीप्रसाद खरेल, डा.पुण्यप्रसाद पौडेल, पण्डित आनन्दप्रसाद सिग्देल लगायतको सत्प्रयासबाट जन्मेको यो धामलाई श्री किराँतेश्वर महादेव धनुषकोटीधाम नाम राखियो । चुरे पर्वतको फेदीमा किराँतेश्वर महादेवको प्राकृतिक शिवलिङ्ग सहित मन्दिर स्थापना गरिएको यो धामको महत्ता र सुन्दरता अवर्णनीय रहेको र यस धामको उत्तरतिर देवभूमि र पाण्डवहरुको क्रिडाभूमि रहेको जनश्रुित समेत रहेको स्थानीयको भनाइ छ । धामको सान्निध्यमा रहेको वनभोजस्थललाई व्यवस्थित वनभोजस्थल बनाउन स्थानीय कपिल सिटौला, श्रीप्रसाद बिमली, श्यामकुमार पौडेल, मोहन ढुङ्गेल, मुना कोइराला, हरिप्रसाद तिम्सिना, भवानीप्रसाद पाठक लगायतको निरन्तरको साथसहयोग छ भने सुकेडाँगी वनसमूहका अध्यक्ष गंगाप्रसाद ढुंगेल, सचिव देवेन्द्र रिसाल, उपाध्यक्ष कमल ढकाल लगायत सिंगो टीम निरन्तर खटिरहेको छ । लीलाप्रसाद चिमरिया, रामप्रसाद प्रसाईं, रघुनाथ भट्टराई, गुणसागर खतिवडा, वीरेन्द्र मगर, अम्बर सुब्बा लगायतका समाजसेवीहरुको साथ सहयोग र समर्थनले यो क्षेत्र निरन्तर अघि बढिरहेछ ।
यस ठाउँको प्राकृतिक तथा पर्यावरणीय सम्पन्नतालाई अक्षुण्ण राख्दै पर्यापर्यटनको धारणा अनुरुप विकास गर्ने सोचका साथ वनभोजस्थल संरक्षण समिति, वन समिति र धाम समिति क्रियाशील रहेको वनसमूहका उपाध्यक्ष कमल ढकालले जानकारी दिए ।
प्रस्तुति ः तीर्थराज खरेल