अर्जुनधारा ।

झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको २७औं वार्षिकोत्सव एवम् उपभोक्ता भेला मंगलबार सम्पन्न भएको छ ।
समूहको कार्यालय प्राङ्गणमा अध्यक्ष झरीन्द्रकुमार खड्काको अध्यक्षतामा आयोजित उक्त भेलाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
भेलामा समूहका अध्यक्ष खड्काले समूहको वार्षिक प्रगति प्रतिवेदन, पर्यापर्यटन उपाध्यक्ष शुक्रराज दुलाल “दीपक”ले समूह अन्र्तगत रहेको कैदले पर्यापर्यटनको प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक शंकर घिमिरेले आन्तरिक लेखा प्रतिवेदन र कोषाध्यक्ष मनिता इङनाम लिम्बूले चालु आर्थिक वर्ष ०७९/०८०को वार्षिक बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्ष ०७८/०७९मा तीन करोड ३७ लाख ६३ हजार चार सय १३ रुपैयाँ २२ पैसा बराबरको आर्थिक कारोबार गरेको समूहले चालु आर्थिक वर्षको लागि भेलामा अनुमानित तीन करोड २४ लाख ८४ हजार आठ सय ४० रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पेस गरेको थियो ।
जसमा अन्य खर्चतर्फ ७१ लाख ७२ हजार दुई सय ४५ रुपैयाँ, गरिवी न्यूनिकरणतर्फ ६६ लाख २३ हजार रुपैयाँ, कैदले पर्यापर्यटनतर्फ ५० लाख रुपैयाँ, वन विकासतर्फ ४६ लाख ५५ हजार रुपैयाँ, वन पैदावर संकलनतर्फ २२ लाख १७ हजार आठ रुपैयाँ, चालु खर्चतर्फ २० लाख १५ हजार रुपैयाँ, सार्वजनिक विकास निर्माणतर्फ २० लाख रुपैयाँ, घाटगद्दी व्यवस्थापन र लकडी चिरानतर्फ १२ लाख ५३ हजार तीन सय ८७ रुपैयाँ, फर्निचर निर्माणतर्फ ११ लाख ४९ हजार दुई सय रुपैयाँ र ट्रयाक्टर सञ्चालन र व्यवस्थापन खर्चतर्फ चार लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पेस गरिएको उक्त बजेट लकडी, दाउरा, कृषि सामग्री र फर्निचर बिक्रीबाट आम्दानी गर्ने लक्ष्य लिइएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भेलामा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, अर्जुनधारा–४ वडा समितिका वडाध्यक्ष अम्बरबहादुर कटुवाल, नेकपा एमालेका नगर प्रतिनिधि हरि वाग्ले, दहीझोडा सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष अर्जुन बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समूहका उपाध्य नविनकुमार ओलीले स्वागत गरेको उक्त भेलाको सञ्चालन सचिव नर्वदा दियालीले गरेका थिए ।





























