यो हाम्रो घर हो, अनाथालय होइन !

२३ मंसिर २०७९, शुक्रबार मा प्रकाशित

दिपेश राजवंशी
झापा ।

जुनिभरीलाई रुवाइ गयौ तिमी,
अझै पनि यो मनमा छौ तिमी…

बोलको गीत करुणाले भरिएको आवाजमा गाउने ११ बर्षीय बालक सफल राजवंशी स्वबोध साधना केन्द्रमा आउँदा मात्र ८ वर्षका थिए । भविष्यमा डाक्टर बनेर गरीब दुःखीको सेवामा समर्पित हुने सपना बोकेका राजवंशी अहिले कक्षा ५ मा पढ्छन् । यी अबोध बालकले गीत गाउँदै गर्दा उनको आँखामा मातृवियोगको भाव देख्न सकिन्छ । वि.स. २०५७ सालमा स्थापना भएको स्वबोध साधना केन्द्र झापा जिल्लाको मेचीनगर नगरपालिका–९ मागुरमाडीमा अवस्थित छ ।

झापा जिल्लाकै मुख्य बजार धुलाबारीको भीडभाडदेखि उत्तर धेरैको नजरभन्दा पर रहेको स्वबोध साधना केन्द्र मानवीय सेवामा समर्पित एक बाल आश्रम हो । स्थापना भएको दुई दशकमा यस केन्द्रले अहिलेसम्म झण्डै दुई सय बेसाहारा बालबालिकालाई सुन्दर भविष्य दिइसकेको छ । तीमध्ये केही स्वदेशमै विभिन्न पेशामा आवद्ध छन् भने केही विदेशमा राम्रो आय–आर्जन गरिरहेका छन् ।

यस स्वबोध साधना केन्द्रमा बालबालिकाहरुको गतिविधि हेर्दा लाग्दैन यो कुनै आश्रम हो । शहरी कोलाहलदेखि केही पर स्वच्छ अनि शान्त वातावरणमा अवस्थित यस आश्रममा अहिले १४ जना बालबालिका रहेका छन् । तीमध्ये नौ जना बालकहरु छन् भने पाँच जना बालिकाहरु रहेका छन् । विभिन्न पारिवारिक पृष्ठभूमि रहेका यी बालबालिकामध्ये अधिकांशको बुबाआमामध्ये कोही एकको मृत्यु भएको वा बुबाआमाले छोडेर अन्यत्र गएको या कोही नभएका छन् ।

असहज पारिवारिक माहोलको कारण गाँस, बाँस, कपाससँगै स्वास्थ्य र शिक्षाको आभावमा रहेका बालबालिकालाई स्थानीय पालिका, प्रहरी र जिल्ला प्रशासन कार्यालयको संयुक्त पहलमा उद्धार गरी उनीहरुको सुनौलो भविष्य कोर्ने जिम्मेवारी यस स्वबोध साधना केन्द्रले सफलतापूर्वक पूरा गर्दै आएको छ । स्थानीयहरुको मुष्ठीदान, स्थानीय नगरपालिका, प्रदेश सरकार, केन्द्र सरकार र देशविदेशमा हुने केही मनकारी व्यक्तिहरुको सहयोगमा यो बाल आश्रम सञ्चालन गरिएको बताउँछन्– आश्रमका अध्यक्ष बालकृष्ण थपलिया ।

यहाँ रहेका बालबालिकाहरुलाई प्राथमिक तहदेखि उच्च शिक्षासम्म अध्ययन गर्न पाउने व्यवस्था रहेको छ । अध्ययनपछि उनीहरुको आफ्नो इच्छा अनुसारको क्षेत्रमा काम गर्न दिने र आश्रमकै पहलमा पनि रोजगारीको व्यवस्था गरिदिने गरिएको छ ।

यस बालआश्रमका बालबालिकाहरु बिहानै उठेर योग गर्ने त्यसपछि पूजापाठ गरी बिहान ९ बजेसम्म पढ्ने र त्यसपछि खाना खाएर विद्यालय जाने गर्छन् । यस बाहेक बालबालिकाहरुको लागि संगीत कक्षा, फुटबल तथा ब्याडमिन्टन जस्ता खेलकुदको पनि व्यवस्था रहेको छ । मासिक रुपमा सबैको स्वास्थ्य जाँच गरी अभिलेख राख्ने, पढाइको स्तरोन्नतिको लागि अतिरिक्त कक्षाको समेत व्यवस्था गरिएको छ । सानै उमेरमा यस आश्रममा आएका र यहाँको पारिवारिक माहोलले गर्दा यहाँका बालबालिकाहरु आश्रमलाई अनाथालय भन्दा पनि आफ्नो घर भन्न रुचाउँछन् ।

आश्रममा रहेका बालबालिकाहरुको स्याहारसुसार गर्न पाउँदा आफू एकदमै खुशी रहेको बताउँछिन्– आश्रमकी सहयोगी रिता थापा । बिगत नौ वर्षदेखि आश्रममा बालबालिकाको सेवा गर्दै आएकी थापालाई सबै बालबालिकाले ममी भनेर बोलाउँछन् । उनी भन्छिन्– तिजमा म जान सक्दिनँ अनि सबै चेलीबेटीलाई यहीं बोलाउँछु । मातातीर्थ औंशीमा सबैले फोन गर्छन्, अनि यति धेरै छोराछोरीको आमा बन्न पाउँदा, म सबैभन्दा भाग्यमानी छु जस्तो लाग्छ ।

आफ्नो आमाको खासै याद नभएपनि आमाको कमी महशुस नभएको बताउँछिन्– ओखलढुंगा घर भएकी १५ वर्षीया बालिका कञ्चन बस्नेत । चार कक्षामा पढ्दा यस आश्रममा आएकी उनी अहिले कवि शिरोमणि माविमा कक्षा १० मा पढ्छिन् । कञ्चनसँगै उनका साना दुई भाइ पनि आश्रममै बस्छन् । भविष्यमा कमर्स पढेर जागिर खाने र बालआश्रमको अझ स्तरोन्नति गर्ने उनको सपना छ । त्यस्तै भोजपुर घर भएकी १५ वर्षीया बालिका सबिना विष्ट पनि आफ्ना साना तीन भाइहरुसँगै यहीँ बस्छिन् । बुबा बित्नु भएपछि आमाले पनि छोडेर जानुभयो र गाउँका मानिसहरुको सहयोगमा यहाँ आएकी सबिनाले शिक्षक बन्ने सपना बुनेकी छन् । मीठो गीत गाउने १२ वर्षीय बालक चन्द्र बिक कक्षा १देखि नै यही बसेर पढ्दैछन् । कक्षा ७ मा पढ्ने उनी भविष्यमा नेपाली सेना बनेर नेपाल आमाको रक्षा गर्न चाहन्छन् ।

यसै स्वबोध साधना केन्द्रमा बसेर कक्षा १ देखि स्नातकोत्तरसम्मको अध्ययन पूरा गरी यतिबेला नेपाल विद्युत् प्राधिकरण बुधबारे शाखामा आय प्रमुखको रुपमा कार्यरत श्याम दनुवार यस आश्रमकै गहना हुन् । उनी भन्छन्– यदि यो बालआश्रम थिएन भने म आजको श्याम दनुवार पनि हुने थिइनँ । त्यसैले स्वबोध साधना केन्द्रलाई उनी आफ्नो जन्मदाता मान्छन् । दनुवारसंगै वि.सं. २०६५मा एसएलसी दिएका स्वबोध साधना केन्द्रका अरु १४ जना मध्ये शोभा बिक र कविता चौधरी कवि शिरोमणि माविमा अध्यापन गराउँछन् भने राधिका दनुवार नेपाली सेनाबाट यति बेला शान्ति सेनामा छिन् । बालआश्रमबाट पहिलो ब्याचकी रञ्जिता राई, हरि आधारभूत विधालयमा अध्यापन गराउँछिन् । सशस्त्र प्रहरीमा रहेर देश र जनताको सेवामा समर्पित ललिता दनुवार र रुपक किसानले पनि यस आश्रममै रहेर आफ्नो भविष्य बनाएका हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here