विश्वकप फुटबल : सेमीफाइनलको यात्रामा कुन–कुन टिम पुग्लान् ?

0
227

विश्वकप फुटबलको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । मंगलबार राति नकआउटको अन्तिम खेलबाट पोर्चुगल क्वाटरफाइनलमा पुगेसँगै ८ वटै टोलीको टुंगो लागेको हो । एउटा समूहबाट नेदरल्याण्ड्स, अर्जेन्टिना, क्रोएसिया र ब्राजिलले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । अर्को समूहबाट इङ्ल्याण्ड, फ्रान्स, मोरक्को र पोर्चुगल क्वार्टरफाइनलमा पुगेका हुन् ।

अब सेमीफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा क्रोएसिया र ब्राजिल भिड्ने छन् । यसअघि २०१४ को विश्वकपमा नेदरल्याण्ड्स र अर्जेन्टिना सेमीफाइनलमा भिडेका थिए । २०१८को विश्वकपमा सहभागी नभएको नेदरल्याण्ड्सको ८ वर्षपछि अन्तिम ८मा पुरानै प्रतिद्वन्द्वी पाएको हो ।

अर्को समूहका इङ्ल्याण्ड र फ्रान्स तथा मोरक्को र पोर्चुगल भिड्नेछन् । मोरक्को पहिलोपटक क्वाटरफाइनलमा पुगेको हो । पोर्चुगलले १६ वर्षपछि अन्तिम ८मा स्थान बनाएको हो । रोनाल्डोको डब्यु विश्वकपमा क्वार्टरफाइनल पुगेको पोर्चुगल उनको अन्तिम विश्वकपमा पनि क्वाटरफाइनलमा पुगेको छ ।

साविक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले अन्तिम ८मा स्थान बनाएका छन् । गत विश्वकपमा सेमीफाइनल पुगेको इङ्ल्याण्डले अन्तिम ८ सुरक्षित गर्दा अर्को टोली बेल्जियम भने समूह चरणबाटै बाहिरिएको छ ।

ब्राजिल यसअघि पनि क्वार्टरफाइनलमा पुगेको थियो। यसपटक नयाँ टोलीका रुपमा नेदरल्याण्ड्स, अर्जेन्टिना, मोरक्को र पोर्चुगल छन् । चार वटा टोली यसअघिकै दोहोरिँदा चार वटा नयाँ टोलीले अन्तिम ८ मा स्थान बनाएका छन् ।

क्वाटरफाइनल खेल तालिका

क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया भिड्नेछन् । शुक्रबार राति ८ ः४५ बजे सर्वाधिक सफल टोली ब्राजिलले साविक उपविजेताको सामना गर्नेछ । ब्राजिल दक्षिण कोरियालाई ४–१ले पराजित गर्दै अन्तिम ८मा पुगेको हो भने क्रोएशिया जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै अन्तिम ८ मा पुगेको हो ।

त्यसैराति १२ः४५ बजे अर्जेन्टिना र नेदरल्याण्ड्स भीड्दैछन् । नेदरल्याण्ड्स अमेरिकालाई ३–१ ले पराजित गर्दै र अर्जेन्टिना अष्ट्रेलियालाई २–१ले पराजित गर्दै अन्तिम ८ मा पुगेका हुन् । यी दुई खेलका विजेताको भेट सेमीफाइनलमा हुनेछ । शनिबार राति मोरक्को र पोर्चुगल भीड्ने छन् ।

राति ८ः४५ बजे यो खेल हुनेछ । मोरक्को स्पेनलाई पराजित गर्दै र पोर्चुगल स्वीट्जरल्याण्डलाई पराजित गर्दै अन्तिम ८मा पुगेका हो । अर्को खेलमा शनिबार मध्यराति १२ः४५ बजे इङ्ल्याण्ड र फ्रान्स भीड्नेछन् । यी दुई खेलका विजेताको भेट सेमीफाइनलमा हुनेछ । इङ्ल्याण्ड सेनेगललाई पराजित गर्दै र फ्रान्स पोल्याण्डलाई पराजित गर्दै अन्तिम ८मा पुगेका हुन् । यसपटकको विश्वकपमा चार वटा पूर्वविश्व विजेता टोलीले स्थान बनाउँदा ४ वटा विश्वकप जित्न नसकेका टोली पनि अन्तिम ८ मा पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here