कियाचुले मनायो चासोक तङ्नाम उधौली पर्व

0
246

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

किरात याक्थुङ्ग चुम्लुङ्ग बिर्तामोडले चासोक तङ्नाम उधौली पर्व मनाएको छ। बिर्तामोड – ५ स्थित किरात कल्याण संघको प्राङ्गणमा पूजासहित विविध कार्यक्रमको आयोजना गरी लिम्बू समुदायको संस्था कियाचु नगर शाखाले उधौली पर्व मनाएको हो।

बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य तथा कियाचु बिर्तामोड शाखा अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनु जबेगूले स्वागत गरेकी थिइन्।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख महताराले जातीय एवम् मौलिक संस्कार-संस्कृति तथा पहिचानका रुपमा रहेका यस्ता पर्वोत्सवले हामीलाई व्यस्तता र तनावबाट मुक्त भई हर्षखुशीमा रमाउने अवसरसमेत प्रदान गर्ने भएकाले यिनको ठूलो महत्व रहने बताइन्। अमूल्य सम्पति जातीय पहिचानको संरक्षणमा यसप्रकारका कार्यक्रमले मद्दत पुग्ने पनि उनले बनाइन्।

कियाचु अध्यक्ष हिमालयप्रकाश कन्ङ्वाले हिउँदेवाली भित्र्याउने समयमा नयाँ उब्जनी आफूले भोग गर्नुअघि भगवानलाई अर्पण गर्ने विधान न्वागी, गालीश्राप,मन्धुम जस्ता परम्परा प्रकृतिपूजक लिम्बू समुदायमा रहेको र त्यसलाई केही समय पहिलेदेखि सामूहिकरुमा मनाउने कार्यलाई निरन्तरता दिंदै आएको बताए। मार्ग शुक्ल पूर्णिमाका दिन धान्यपूर्णिमा पर्ने यसदिन किरात समुदायका राई,लिम्बू,याख्या र सनुवारजातीले भिन्नाभिन्नै नामबाट उधौली र अन्य समुदायले देवाली, गोठपूजा गर्ने परम्परा रहेको पाइन्छ।

कार्यक्रममा आदिवासीजनजाति महासंघ बिर्तामोड नगर सभापति राजकुमार राजबंशी, बिर्तामोड नपा- ५ का अध्यक्ष रोहित प्रसाईं, ४नं.वडाध्यक्ष राहुल शर्मा,कियाचु झापा जिल्ला सदस्य धर्म लक्सम्बा, नेकपा एमाले प्रदेश नं. १ समिति सदस्य अम्बिकुमार लिङ्देन,गुरुङ समाज बिर्तामोड नगर अध्यक्ष सलबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कोषाध्यक्ष श्रीमती सावित्रा इङ्नामले संस्थाको आयव्ययसहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। त्यस्तै सोही अवसरमा २०७९ सालको बलिहाङ तङ्नामको अवसरमा सञ्चालित देउसीभैलो लारिङ्गे नामलिङ्गे कार्यक्रमका उत्कृष्ट कलाकारहरु ममिन,अनु,सुन्निमा,शिशिर,खुशी,शर्मिला,रोमन र शिखूम लिम्बू तथा खानपिन व्यवस्थापन एवम् रेखदेखमा उत्कृष्ट भूमिका निर्वाह गर्ने गोमादेवि लिम्बू र भीममाया नेम्वाङ कन्दङ्वालाई प्रशंसा पत्र प्रदान गरिएको सहसचिव सन्तोष वेघाले जानकारी दिए।

कार्यक्रममा जातीय भेषभूषासहित सांस्कृतिक नृत्य केलाङ च्याम्ब्रुङ,हाकपारे, धान नाच प्रस्तुत गरिएको थियो। कार्यक्रमको सञ्चालन सचिव सुकबहादुर आङ्देम्बेले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here