झापा जिल्लाको सुदुर उत्तरी भाग अर्जुनधारा अनि अर्जुनधाराको पनि सुदर उत्तरमा रहेको ग्रामीण भेग सिस्नेमा एक सुन्दर कृति उदाएको छ । त्यो कृति हो– नेत्रप्रसाद पोख्रेलको गजल कृति ‘आँखामा छ तस्विर’ ।
यस गजल कृति कस्तो रहेको छ त ? विद्वान बेणुप्रसाद खतिवडाको विचारबाट जानौं– ‘साहित्य सिर्जना गर्न भूगोल बाधक बन्दैन । आफूभित्र सिर्जनशील क्षमता र त्यसलाई बाहिर प्रकट गर्ने अभिष्ट भए पुग्छ । यसैका उदाहरण हुन् गजलकार नेत्रप्रसाद पोख्रेल । गजलकार पोख्रेल वर्तमानमा उदाएका र एक सशक्त प्रतिभाका रुपमा चिनिन सक्ने सामथ्र्य भएका प्रतिभा हुन् भन्ने प्रमाण हो प्रस्तुत गजल संग्रह । गजलकार प्रोख्रेल विसङ्गतिका भाव मात्र होइन सन्देशपूर्ण गजल लेख्न पनि सिपालु देखिएका छन् । मानिसले अबगालरहीत जीवन बाँच्नु नै महान् हो भन्ने भाव बोकका गजल प्रस्तुत संग्रहमा सङ्कलित छन् ।’
एक गजलको सेर–
‘आउनुभयो आमा घर गाग्रीमा पानी बोकेर,
म लागेँ परदेशतिर हातमा राहदानी बोकेर’ ।
यस गजलले सारा नेपाल र नेपालीको कथा कहन्छ । यस्तै छ नेपाली आमा र युवाहरुको अवस्था । देशले कहिल्यै सम्बोधन गर्न नसकेको युवा विदेश जानुपर्ने बाध्यता ज्यूँ का त्यूँ छ । जसले गर्दा धेरै–धेरै आमाहरु र सन्तानहरु अन्तहीन कथा बोेकेर बाँचिरहेका छन् ।
अर्को गजलको सेर–
‘नराम्रो होइन उसले राम्रै काम सघाएर गई,
कति दिनको भोक थियो एक पेट अघाएर गई,
कति मेहनती रहिछे घाम, गर्मी केही भनिन,
बाँच्न कै लागि खलखली पसिना बगाएर गई,
स्वार्थी समाजमा यस्तो मान्छे कहाँ भेटिन्छ
र छिनभरमै जीवनभरिको गुन लगाएर गई’ ।
अर्को गजलको सेर–
‘जिउँदा देवता हुँदाहुँदै कतै पैसा फाल्दिनँ म,
घर अँध्यारो राखी–राखी अन्त दियो बाल्दिनँ म,
जे–जे भनून् दुनियाँले सबको कुरा सुन्छु बरु,
तर सत्य छाड्दिनँ म झुठा कुरा टाल्दिनँ म,
उन्नति केही नभए नि आफ्नै बारी खनेको छु,
बरु ढुङ्गा गिटी कुट्छु अर्काको सुन गन्दिनँ म ।’
यो गजलमा मातृभूमिप्रतिको अगाध माया र स्वाभिान दर्शाइएको छ । यसरी सबै नेपालीले देशको माया गरे नेपाल सम्बुद्ध र सारा नेपाली सुखी भई सक्थे तर देशलाई नेताहरुले कहाँ फँसाए ?
गजलकार प्रोखे्रलले आफ्ना गजलमा, परदेशको बसाइप्रति दिक्क भएको भाव व्यक्त गरेका छन् । उल्झन सहेर भए पनि स्वदेश मै बस्न उनी मन पराउँछन् । शैक्षिक वेरोजगारको समस्या पनि प्रस्तुत गरेका छन् । जुन समस्या नेपाल जस्ता मुलुकका लागि जटिल बन्दै गएको छ । गजलका सेरहरुमा देशभक्तिको भावना व्यक्त गर्दै देशभक्त हुनु प्रत्येक नेपालीको स्वधर्म हो भन्ने भाव प्रस्तुत गरेका छन् । अन्याय, अत्याचार देखेर पनि नदेखे झैं गर्ने पशु प्रवृत्तिप्रति कडा व्यङ्ग्य प्रहार गरिएको छ । मानिसहरुले अत्याचार नदेखे झैं गरेर आफूलाई कानो बराबर बनाउनु गाउँ, समाज र सिंङ्गो राष्ट्रका लागि घातक हो भन्ने भावव्यक्त गरेका छन् ।
सायद यो गजल, कृतिको नामसँग सम्बन्धित छ–
‘मरेपछि देखाइ दिनु आँखामा छ तस्विर,
सगरमाथाको मेरो देश ऐनामा छ तस्विर,
एउटा योद्धा युद्ध लड्दालड्दै मर्न सक्छ,
बाआमालाई सुनाइदिनु खोपामा छ तस्विर,
क्षणिक हुँदो रहेछ जीवन एकैछिनका लागि,
समयले सिकाइदियो बालुवामा छ तस्विर,
सबको प्रिय भई जीवन सुन्दर बनाउनु छ,
संसार सुन्दर बन्छ एक दिन आशामा छ तस्विर,
बा–आमालाई आश्रम छोडी छोरो मन्दिर धाउँछ,
खै कसरी विश्वास गर्नु आस्थामा छ तस्विर’ ।
गजलकार पोख्रेलको गजल लेखन भिन्न अर्थात् मौलिक लाग्छन् । रोचक लाग्छन् । पढौं–पढौं लाग्छन् ।
अब एउटा गजल–
छिया पारेर मुटु छोडेर गयौ किन,
लगाई मलजल गोडेर गयौ किन,
डाली–डाली काँडासँगै फूल फुलेको बेला,
जहाँ तिमी त्यहीँ म मोडेर गयौँ किन,
जिउने सँगै मर्ने सँगै सपना देखाएका थियौ,
जीवन चलाउने नाता तोडेर गयौ किन,
मनलाई बिर्सिएर खेल्यौ तिमीले तनसँग,
सिसा झैं हाम्रो माया फोडेर गयौ किन,
मायाको प्रचार गर्न मैले छोडेको थेँ,
फेरि म सँगै माया जोडेर गयौ किन ।
वाह कति मार्मिक गजल प्रेम सम्बन्धी ।
शिक्षासेवी तथा साहित्यकार कालीबहादुर थापाले कृतिमा गजल र गजलकारप्रति शुभकामना व्यक्त गरेका छन् । त्यसैगरी साहित्यकार शिव रेग्मी ‘प्रणत’को विचार पनि कृतिमा प्रकाशित छन्– झापाको सुदूर गाउँमा हुर्केका हामी थुप्रै साथीभाइहरु साहित्यको पाठक, शुभचिन्तक, लेखक हुँदै आएका कुराले छाती गर्विलो भएको छ । मान्छेलाई कतिपय परिस्थिति र कतिपय विचारले सिर्जनशील बनाउँछ । आफूले भोग्नु परेका कष्टकर क्षण, पीडादायी परिवेश र ऐकान्तिक शृंखलाले मान्छेलाई संवेदित र विचारवान् बनाउँछ । ती संवेदना र विचारहरुलाई अभिलेखीकरण गर्ने हो भने कुनै न कुनै सिर्जना बन्न पुग्छ । गजलकार नेत्रप्रसाद पोख्रेलबाट आफ्ना ती संवेदना र विचारलाई गजलमा रुपान्तरित गरेर गजललाई नयाँ उचाइ थप्ने काम भएको छ । गजलकारले जीवनका थुप्रै पाटाहरुलाई आफ्ना गजलमा सजीव चित्रण गरेका छन् । जीवनयापनका विविध समस्याका बीच पनि अनुभूतिहरुलाई पर्गेल्नु र प्रस्तुत गर्न सक्नु ठूलो कुरा हो ।
स्वयम् गजलकार नेत्रप्रसाद प्रोखे्रलको विचारबाट पनि जानौ कि यो कृति कसरी सिर्जना भएको हो ?– ‘सानै उमेरदेखि नै कलाकारिता क्षेत्रमा रुची राख्ने मान्छे म । गीत, संगीत, साहित्य मेरा अनन्य मित्रहरु हुन् । शुरु–शुरुमा गीत, कथा र कवितामा रुची राख्ने म, स्कूल कलेज हुँदै वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र युएईको बसाइमा समय मिलेसम्म साहित्य लेखन कार्यलाई निरन्तरता दिँदै आज यो अवस्थासम्म आइपुगेँ ।’ सरस, सरल र मिठासपूर्ण यस गजल कृति ‘आँखामा छ तस्विर’ वि.सं. २०७८ मा मिडिया रिसर्च सेन्टर, बिर्तामोडले प्रकाशन गरेको छ ।