नेपाली कांग्रेस प्रदेश नं. १ को संसदीय दलको नेताका लागि प्रदेश सभापति उद्धव थापा सुयोग्य पात्रको रुपमा स्थापित हुनुहुन्छ । हुन त केन्द्रीय सदस्य अमृत अर्याल र प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री केदार कार्कीले पनि कांग्रेस संसदीय दलको नेताका लागि भित्री लविङ्ग गर्दै रहेको अवस्था छ । तर, पार्टीमा लगानी, संघर्ष, त्याग, बलिदान, निष्ठा र समर्पणका दृष्टिले थापाको तुलनामा अन्यको दाबी फितलो देखिन्छ । कठोर संघर्ष, अनेक यातनाका बीच अहिलेसम्म लाभको पद नलिई बेदाग राजनीति गर्नुभएका थापालाई कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेता ज्ञानेन्द्रबहादुर कार्की र स्वयम् पार्टी सभापति शेरबहादुर देउवाको समर्थन रहेको छ ।
यता डा. शेखर कोइरालाको पनि संघर्षबाट खारिएर आएको नेता भएका कारण थापा संसदीय दलको नेता चुनिँदा कुनै आपत्ति नरहेको स्थिति छ । शेखरले अघि बढाउने भनेको गुरुराज घिमिरेलाई हो, उहाँले प्रदेशको चुनाव जित्न नसकेपछि कोइरालाले अघि बढाउनैपर्ने, प्रदेश सभापतिलाई काउन्टर दिनैपर्ने त्यस्तो पात्र अर्को नरहेको कोइराला निकट नेताहरुले बताउन थालेका छन् । सा्रेतहरुका अनुसार संघीय संसदमा प्रत्यक्ष वा समानुपातिकमा बस्ने तयारीमा रहनुभएका थापालाई प्रधानमन्त्री देउवाले नै प्रदेशसभाको सांसदमा बस्न र भावी मुख्यमन्त्रीका लागि तयारीमा लाग्न भनेपछि उद्धव थापा प्रदेशको समानुपनतिक सांसद बन्न तयार हुनुभएको जानकारहरु बताउँछन् ।
सत्ता गठबन्धनको बैठकमा १ नम्बर प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने मोटामोटी सहमति भएको स्थिति छ । गठबन्धन दलको सहकार्यमा कांग्रेसको नेतृत्वमा सरकार बन्नका लागि एक सिट पुग्दैन । कुल ९३ सिट सांसद संख्या रहेको १ नम्बर प्रदेशसभामा एमाले–राप्रपाको गठबन्धन ४६ सिट अनि सत्ता गठबन्धन पनि ४६ सिट छ । दुबै पक्षको बहुमत हुनका लागि एक सिट पुग्दैन । जुन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग छ । जसपालाई मिलाउन सत्ता गठबन्धन दलको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला पनि मसिनो गरी मेहनत गरिरहनुभएको हुँदा सिटौलाले नै प्रदेश सभापतिमा अघि बढाउनु भएका थापाको संसदीय दलको नेता चुनिने सम्भावना बढी देखिन्छ ।
एमालेले राप्रपासँग गठबन्धन गरेर आफूलाई दुई–दुई पटक हराएको बदला १ नं. मा एमाले नेतृत्वमा प्रदेश सरकार बन्न नदिनु सिटौलाको पहिलो ध्येय हुने नै भयो । तसर्थ, माओवादी शान्ति वार्ता, संविधान मस्यौदा समितिमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गर्नुभएका सिटौलाले थापालाई अघि बढाउन कै लागि सत्ता गठबन्धन दलको पावर सेयरिङमा पनि सहजीकरण गरिरहनुभएको जगजाहेर छ । गणितीय हिसाबले हेर्दा पनि प्रदेश १ मा सिटौला–देउवा खेमाको प्रदेशसभा सांसदहरुको सहज बहुमत छ । यसरी हेर्दा उद्धव थापालाई प्रदेश १ संसदीय दलको नेता हुनबाट रोक्नसक्ने स्थिति छैन । सत्ता गठबन्धनमा उपेन्द्र यादवको पार्टीलाई लिने सिटौला, देउवाको प्रयास सफल भएको स्थितिमा कांग्रेस संसदीय दलको नेतालार्ई मुख्य मन्त्री हुन झन सहज छ ।
कठोर संघर्षले खारिएको नेता
वि.सं. २०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जन आन्दोलन, २०६२÷०६३ को लोकतान्त्रिक जन आन्दोलनमा सक्रियतापूर्वक आन्दोलनको अग्र मोर्चामा रहेर निरंकुशताका बिरुद्ध संघर्षरत उद्धव थापा चार दशकभन्दा अघिबाट कांग्रेसको राजनीतिमा निरन्तर क्रियाशील हुनुहुन्छ । २०३६ सालको जनमत संग्रहताका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति वीपी कोइरालाको सुरक्षा दस्तामा तरुण, विद्यार्थीको रुपमा क्रियाशील थापा १५ सालका सांसद फत्तेबहादुर बुढाथोकी मार्फत वीपी कोइरालाको सामिप्यतामा पुग्नु भएको थियो । २०३३ सालमा राष्ट्रिय मेल मिलापको नीति लिएर वीपी स्वदेश फर्किएपछि हरेक शनिबार वीपीले काठमाडौंमा तरुण, युवा विद्यार्थीहरुलाई दिने राजनीतिक प्रशिक्षणमा नियमित सहभातिा जानउने उद्धव थापाले अनेक कष्ट, दुःख र यातनाकाबीच पनि पार्टीलाई अघि बढाउन निरन्तर लागि रहनुभयो ।
यही क्रममा २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको हत्या गरेर सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि झापाको चारआलीस्थित तत्कालीन शाही नेपाली सेनाको कठोर सैन्य हिरासत (बंकरमा)मा कठोर यातना र बर्बर शाही दमनको सामना गर्नु प¥यो । ०६१ को फागुन ७ गते बिर्तामोडमा प्रजातन्त्र दिवस मनाउने योजनामा कांग्रेस, एमाले लगायतका दलहरुको तयारी थियो । सुराकी मार्फत यो जानकारी पाएको शाही सेनाका तत्कालीन कर्णेल सुरेश कार्कीले बिर्तामोडमा बिहानैदेखि बख्तरबन्द गाडी, टयाङ्क, मेसिनगनसहित सेनाको मार्चपास गराइहाले । बिर्तामोडमा कार्यक्रम गर्न नसकिने भएपछि दलहरुले प्रजातन्त्र दिवसको अवसरमा राजाले खोसेको प्रजातन्त्र फिर्ताको माग गर्दै बिर्तामोडभन्दा पाँच किलोमिटर उत्तरमा रहेको शनिश्चरे बजारमा नारा जुलुससहित प्रदर्शन गरे । राजाको निरंकुश सत्ताले संकटकाल घोषणा गरेर तीन जनाभन्दा बढी भेला जम्मा हुन नपाउने, कुनै सभा समारोह गर्न नपाउने उर्दी जारी गर्नुका साथै टेलिफोन र मोबाइल सेवा बन्द (ठप्प) पारेको थियो ।
सेनाको गोली र बारुदबाट बचेको नेतृत्व
निरंकुश शाही कदमको विरोधमा शनिश्चरेको प्रदर्शन सकेर बिर्तामोडस्थित घर पुग्नु भएका नेकांका तत्कालीन सभापति सुधिरकुमार शिवाकोटीलाई घरैबाट पक्राऊ गरी सेनाको अधिनमा रहेको संयुक्त सुरक्ष फौज (युनिफाइड कमाण्ड)ले शनिश्चरेको प्रदर्शनमा सहभागीहरुको खोजीमा शिवाकोटीलाई गाडीमा राखेर शनिश्चरेतर्फ अघि बढ्यो । यही बेलामा जुलुसमा सहभागी भएर कप्तानबारी शनिश्चरेस्थित घर पुग्नु भएका मजदुर नेता दीपक तामाङ्गको स्वास्थ्य स्थिति बुझ्न तत्कालीन जिल्ला सचिव उद्धव थापा र पार्टीको प्रेस विभागमा रहेर शाही कदमका बिरुद्ध जनचेतनाको सञ्चार गरिरहनु भएका पत्रकार कृण हुमागाँई तामाङ्गको घरमा पुग्नुभयो, तामाङ्गलाई दिउँसैदृखि ज्वरो आएको थियो । तर, तामाङ्गले सेनाको चहल–पहलको सुइँको पाउनु भएर घरभन्दा केही पर आफन्तकोमा बस्नु भएको रहेछ । त्यहाँ (तामाङ्गको घर) पुगेपछि परिवारको सदस्यलाई लिन पठाएपछि दिपक घर आउनु भएको केही क्षणमा सेनाले घेरा हाली हाल्यो ।
सेनाको घेरा तोडेर उम्किन थापा, तामाङ्ग र हुमागाँई घर पश्चिमको चिया बगानतर्फ दौडनु भयो । यही बेला सादा पोशाकमा रहेका शाही सेनाले नभाग्न चेतानी दिँदै फायर खोल्यो । फायर खोल्नासाथ हुमागाँईले हात उठाएर उभिनुभयो । उहाँलाई सेनाले पक्राऊ गरेर गाडीमा हाली हाल्यो, त्यहीबेला सेनाको अर्को गाडीमा राखिनुभएका सुधिरकुमार शिवाकोटी र हुमागाँईबीच इशाराले मौन रहने संवाद भयो । त्यसपछि दिपक तामाङ्गलाई पक्राऊ गरेर, उद्धव थापाको खोजीमा सेना चिया बगानभित्र पस्यो । चिया बगानको ड्रेनमा निकै पर सेनाको गोलीबाट बच्न घोप्टो परेर सुत्नु भएका थापालाई पक्राऊ गरेर ‘तै होइनस् राजाको बिरोधमा जनता भड्काउने, तँलाई अब पड्काउँछौं ।’ भन्दै बन्दुकको कुन्दाले छात्तीमा हिर्काउँदै सेनाको गडीतर्फ ल्याउँदै गर्दा युनिफाइड कमाण्डमा रहेका इलाका प्रहरी कार्यालय अनारमनीका इन्सपेक्टर गोबिन्द अधिकारीले सेनाको टोलीलाई ‘यो मान्छे हामीले खोजेको होइन रहेछ, यो यही चिया बगानको चौकीदार परेछ ।’ भनेर हुमागाँईलाई छोडी दिए । त्यहाँबाट उम्किएर भाङ्गबारी गएका हुमागाँई त्यो रात सेनाको कब्जाबाट जोगिन घरमा नबसी अन्यत्रै बास बस्नुभयो । उहाँलाई भोलीपल्ट हालका अर्जुनधाराका मेयर बलदेबसिंह गोम्देन तामाङ्गले मोटर साइकलबाट ग्रमिण भित्री बाटो सालबाडी, कालीझोडा, धाइजन, बहुबनको बाटो हुँदै काँकरभिट्टास्थित ढाका होलटसम्म पु¥याउनु भयो ।
त्यसपछि हुमागाँईलाइ नेपाली कांग्रेस पार्टीले भारतमा बसेर नेपालमा भएको शाही दमनको बिरोधमा भारतीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सूचना सम्प्रेषण गर्ने र आन्दोलनका लागि पर्चा, पम्प्लेट छपाई गरेर नेपाल पठाउने जिम्मेवारी दिएर निर्वासनमा रहन निर्देशन दियो । कांग्रेस नेता तत्कालीन संगठन विभाग प्रमुख कृष्णप्रसाद सिटौला र पत्रकार कृष्ण हुमागाँई शिलगडीस्थित बंगाल लजमा बसेर शाही ‘कु’ बिरुद्धको नेपालको आन्दोलनलाई अघि बढाउने योजनाका साथ नेपालबाट भेटघाटका लागि जाने नेता कार्यकर्ताबाट देशको स्थिति, जनताको अवस्था र आन्दोलनका कार्यक्रमबारे छलफल गरेर योजना बनाउने कार्यमा क्रियसिल रहनु भएको थियो ।
यता तामाङ्ग र थापालाई सशस्त्र हतियारधारीले सेनाको गाडीमा राखेर चारआली ब्यारेक लगे । सभापति शिवाकोटीलाई पनि अर्को गाडीमा राखेर चारआली नै लगेको थियो । यहीबीचमा नेताहरुलाई दिपक तामाङ्गको घर छेऊमा पक्राऊ गरेको देखेपछि बिर्तामोडबाट शनिश्चरे कालिस्थानस्थित आफ्नो घर जान लागेका ओम मिश्रले अरे ! सुधिर दाइ ? भनेर भन्नासाथ आन्दोलनकारी ठानेर मिश्रालाई पनि सेनाले कुटपिट गर्दै गाडीमा हाली हाल्यो । मिश्र राप्रपाका कार्यकर्ता, राजावादी नै हुनुहुन्थ्यो र पनि अनाहकमा उहाँलाई समेत सेनाले दुःख दियो । ब्यारेकको बंकरमा कांग्रेस नेता त्रयलाई १०औं दिनसम्म आँखामा पट्टी बाँधेर अमानवीय यातना दियो शाही सेनाले ।
अनेक पटक मार्ने धम्की दिँदै रातभर चिसो पानीले भिजाउँदै कट्टुमा मात्र राखेर बुट र बन्दुकको कुन्दा पिटिरह्यो । त्यहाँ त्यहीबेला पत्रकार दिपीन राई र ओम मिश्रलाई पनि सेनाले चरम यातना दिएर राखेको घटना सार्वजनिक भइसकेको छ । सेनाको चरम दमनका बीच पनि प्रजातन्त्रप्रतिको निष्ठाले अविचलित झापाली कांग्रेस नेताहरुको गौरवमय संघर्षको जगमा २०६२÷०६३ को जन आन्दोलनको उभार आयो झापामा । बर्बर जंगली दमनबाट नेताहरुको स्वस्थ्यस्थिति निकै खराब भएपछि सेनाले जिल्ला प्रहरी कार्यालयमा १० दिनपछि जिममा लगाएको थियो । प्रहरीले तत्कालै उहाँहरुको स्वास्थ्यस्थिति चेकजाँच गराउन अस्पताल लगेको र प्रहरीमा रहँदा उहाहरु माथि यातना दिइएन ।
थापाको कार्यकालमा पाच ‘ब’को नीतिमा झापा कांग्रेस
नेपाली कांग्रेस झापाका पूर्व सभापति उद्धव थापाले आफनो १० बर्षे (दुई पटक) कार्यकालमा पाँच ‘ब’ को नीति लिएर संगठनलाई सुदृढ ढङ्गमा बिस्तार गर्नुभएको छ । विचारमा कांग्रेस, व्यवहारमा कांग्रेस, विकासमा कांग्रेस, विपदमा कांग्रेस र व्यवसायमा कांग्रेस, नीति अघि सारेर कम्युनिष्टको किल्ला, केपी ओलीको जिल्ला झापामा कांग्रेसको संगठनलाई जीवन्त राख्नु चानचुने कुरा थिएन ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादी विचार, सदाचारी सामाजिक व्यवहार, व्यवसाय, जनचाहना अनुसारको विकासमा सक्रियता र विपदमा जनताको साथमा कांग्रेसको नीतिमा अघि बढेको झापा कांग्रेसका गतिविधि थापाको कार्यकालमा सक्रियतापूर्वक अघि बढेको कांग्रेसको आन्तरिक सांगठनिक जीवनलाई नजिकबाट नियाल्नेहरु कसैले बिर्सेका छैनन् । तत्कालीन सभापति थापाले यस अवधिमा प्रजातान्त्रिक आन्दोलनमा जीवन गुमाएका शहीदहरुको सम्झनामा प्रतिष्ठान तथा शालिक निर्माण गरेर प्रतिष्ठान मार्फत सर्वसाधारण जनतामा प्रजातान्त्रिक चेत भर्ने कामलाई पनि अघि बढाउनु भएको छ । झापाका प्रथम शहीद विश्वनाथ घिमिरे, तुर्सा हेमरम, याम आचार्य, बुटन चौधरी, श्यामसुन्दर यादव, चन्द्रमणि भट्टराई, राजन गिरी लगायतको स्मृतिमा प्रतिष्ठान स्थापना गरी शालिक निर्माण गर्ने कार्य सम्पन्न भएको र उद्रकान्त राजवंशीको शालिक निर्मा सम्पन्न भएको अन्य प्रजातान्त्रिक योद्धाहरुको स्मृतिमा प्रतिष्ठान स्थापन गरी शालिक निर्माण गर्ने कार्यलाई थापाकै कार्यकालमा अघि बढाइएको हो ।
आफ्नो कार्यकालमा पाटीलाई आर्थिक रुपले सबल बनाएर चन्दा मागेर पार्टी चलाउने परिपाटीको अन्त्यका लागि उहाँले क्रियाशील सदस्यता नवीकरणमा न्यून लेवी तय गरेर वडादेखि जिल्लासम्मको आर्थिक अवस्था सुदृढ गराउनु भएको थियो । आफूले नवनिर्वाचित कार्य समितिलाई खातापात जिम्मा लगाउँदा १३ लाख नगद बैंक मौज्दातसहित हस्तान्तरण गर्नुभएको थियो । थापाले झापामा लागू गरेको लेवीबाट पार्टी सञ्चालन गर्ने नीतिले चन्दा मागेर पार्टी चलाउने परिपाटीलाई अन्त्य गरिदिएको छ । झापाको यो नीतिलाई केन्द्रीय समितिले समेत अनुकरण गरेर १४औं महाधिवेशनबाट पार्टीको विभिन्न ओहोदामा बस्ने र लाभको पदमा बसेका पर्टी सदस्यहरुले तोकिए बमोजिमको लेवी लगाउन थालेको छ ।
तलैबाट उदाएको, खारिएको नेतृत्व
नेवि संघ, तरुण दल, नेपाली कांग्रेस पार्टीको वडा सचिव, गाउँ, सचिव, क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुइ कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्नुभएका अथक राजनीतिकर्मी थापाको कार्यकालमा पार्टीका गतिविधिहरुलाई संस्थागत रुपमा अघि बढाउन क्षेत्रीय, गाउँ÷नगर र वडा पार्टी कार्यालय निर्माण÷स्थापना गर्नुका साथै केही स्थानमा भवन निर्माणको प्रक्रियामा रहेको छ । झापा कांग्रेसमा १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यतलाई क्रियाशील सदस्यताका लागि केन्द्रीय समितिमा सिफारिस गर्नुभएका थापाकै कार्यकालमा झापामा पार्टीका संगठित सदस्याको संख्या ३४ हजार पुगेको छ ।विगतको गौरवमय इतिहासलाई जोगाएर युवा जनशक्तिलाई लोकतन्त्र र नेपाली कांग्रेसका प्रति आकर्षित गरेर राष्ट्र र जनताको सुदूरभविष्य निर्माण गर्न सकिने विश्वास राख्नु हुने थापा पार्टी संगठनलाई बलियो बनाउँदै संगठनभित्र सहमति, सहकार्य, एकता र मेलमिलापको भावना सबैबाट प्रकट हुनुपर्ने मान्यता राख्नुहुन्छ । कांग्रेसको संगठन निर्माण, बिस्तार र क्रियाशिलतामा विगतदेखि वर्तमानसम्मको नेतृत्वले संगठन बलियो बनाउन गरेको निष्ठा, त्याग, बलिदान, र समर्पण सम्मानयोग्य रहेको धारणा राख्नुहुन्छ ।
सधैँ तल्लो कमिटीमा आबद्ध भएर काम गर्ने कार्यकर्ताको संरक्षण नेतृत्वमा ध्यान दिनुपर्ने मान्यता राख्नुहुने थापा आफ्नो दोस्रो कार्यकालमा सर्वसम्मत जिल्ला सभापतिमा चयन भएर सबैको साझा नेताका रुपमा स्थापित भइसक्नुभएको छ । पहिलो कार्यकालमा हालका महामन्त्री विश्वप्रकाश शर्मालाई जिल्ला सभापतिमा पराजित गरेका थापालाई दोस्रो कार्यकालमा आइपुग्दा उनै विश्वप्रकाशले निर्विरोध÷सर्वसम्मत सभापतिको रुपमा प्रस्ताव मात्र गर्नुभएन, सर्वसम्मत सभापति बनाएरै छाड्नु भयो । तसर्थ, थापा आफ्ना प्रतिष्पधिहरुका माझ पनि आत्मीय र लोकप्रिय नेताका रुपमा स्थापित भइसक्नु भएको छ । यी सबै उदाहरण, योगदान, अनुभव, त्याग, निष्ठा, समर्पण र कार्यक्षमताका आधारमा उद्धव थापालाई संसदीय दलको नेता हुनबाट रोक्नुपर्ने कुनै कारण देखिँदैन । संसदीय दलको नेताका लागि उद्धव थापा सुयोग्य पात्र हो । अस्तु !