लैङ्गिक हिंसाको वर्तमान अवस्था : समस्या र समाधान

0
614

विषय प्रवेश

‘मामु म तपाईलाई कपडा धुन सघाउँछु न’ कपडा धुदै गरेको ठाउँमा आएर मेरो ८ वर्षको बच्चाले आग्रह ग¥यो । उसको रहर पूरा गर्न मैले हुन्छ भनि दिएँ । उसले आफ्नो सानो सर्ट जाने जति पखाल्यो, दाजुको र बाबाको पनि पखाल्यो । तर, जब मेरो कपडा आयो ऊ त्यो कपडा धुने ठाउँबाट अलि पर गएर देखाउँदै मुख छोपेर हाँस्यो । किन हाँसेको बाबु ? मैले प्रश्न गरेँ– ‘तपाईको लुगा पनि रहेछ ।’ उसले उत्तर दियो । अनि किन नपखालेको त मेरो लुगा ? मैले पुनः प्रश्न गरेँ । ‘कतै केटीको लुगा पनि केटाले धुन्छन् त’ –उसले उत्तर दियो । उसको उत्तर सुनेर मलाई अचम्म लाग्यो । यति सानो बच्चामा पनि महिला र पुरुषबीच विभेद हुन्छ र हुनुपर्छ भन्ने चेतना पसेको छ । मलाई अनौठो पनि लाग्यो अनि प्रश्न गरेँ –‘कसले भन्यो तिमीलाई बाबु केटीको लुगा केटाले छुनु र धुनु हुँदैन भनेर ?’ –उसले ‘आमाले’ भन्ने उत्तर दियो । म छक्क परेँ । मलाई लाग्यो लैङ्गिक विभेदको शुरुवात यसरी नै हुन्छ ।

महिला र पुरुष भन्नाले जैविक विभिन्नतालाई जनाउँछ । छोरा÷छोरी वा पुरुष र स्त्रीलाई चिनाउने प्राकृतिक नैसर्गिक भेद नै जैविक लिङ्गभेद हो, जुन मानिसले परिवर्तन गर्न सक्दैन । तर, समाजद्वारा निर्धारण गरिएका महिला र पुरुषबीचका फरक–फरक भूमिकालाई लैङ्गिक विभेद वा सामाजिक लिङ्ग भेद भनिन्छ । जुन मानिसद्वारा सृजित हुन्छन्, जसलाई परिवर्तन गर्न सकिन्छ । लैङ्गिक विभेदका कारण विश्वभर कयौं लैङ्गीक हिंसाका घटनाहरु भएको सुनिन्छ । लैङ्गिक हिंसा भन्नाले सार्वजनिक वा नीजि जीवनमा लिङ्गको आधारमा कसैप्रति शारीरिक, मानसिक वा यौनजन्य क्षति वा पीडा पु¥याउने कार्यलाई जनाउँदछ । लिङ्गको आधारमा हुने कुनै पनि प्रकारको अपमानजनक, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाब, करकाप वा स्वेच्छचारी रुपमा महिला, पुरुष वा तेस्रो लिङ्गीलाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै पनि कार्य यसभित्र पर्दछ । लैङ्गिक हिंसा सदियौंदेखि हाम्रो समाजमा विद्यमान छ । यसलाई तुरुन्तै अन्त्य गर्न सकिँदैन । तर, परिवर्तन गर्न सकिन्छ । यही कुरालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष नोभेम्वर २५ देखि १० डिसेम्वर अर्थात् १६ दिनसम्म लैङ्गिक हिंसा अन्त्यको लागि अभियान सञ्चालन गरेको छ । यस बर्ष पनि ‘ग्लष्तभ १ ब्अतष्खष्कm तय भ्लम ख्ष्यभिलअभ ब्नबष्लष्कत ध्यmभल ७ न्ष्चकि १’ भन्ने अन्तर्राष्ट्रिय नारासहित संसारभरी विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

ऐतिहासिक पृष्ठभूमि : सन् १९६० को नोभेम्बर २५ का दिन डेमिनिकन गणराज्यका मिराबल परिवारका तीन दिदीबहिनीहरू (पाट्रिया, भनिर्भा र मारिया)को राजनीतिक हिंसाका बिरुद्ध सशक्त आवाज उठाएकै कारण तत्कालीन तानाशाह राफेल त्रुजिलो सरकारद्वारा निर्मम तरिकाले हत्या गरिएको थियो । उनीहरूको हत्या गरिनुका साथै परिवारलाई पनि निकै यातना दिएका थिए । यी मिरावल दिदीबहिनीहरूको हत्याले त्रुजिलो सरकारबिरुद्धको आन्दोलन अरु सशक्त बन्यो । परिणामतः सो हत्याकाण्डको एक वर्षभित्रै डोमेनिकनमा निरंकुश त्रुजिलो सरकारको अन्त्य भयो ।

अन्त्यमा त्रुजिलो सरकार घुँडा टेक्न बाध्य भएको थियो । ‘अनफर्गेटएबल बटरफ्लाइज’को उपनामले चिनिने तीन दिदीबहिनीको त्याग र साहसको उच्च सम्मान गर्दै २५ नोभेम्बरमा ल्याटिन अमेरिकी देशहरूमा महिला हिंसाबिरुद्धको दिवसका रूपमा मनाउन थाले । सन् १९९९ मा डोमेनिकन गणराज्य तथा अन्य ७४ वटा सदस्य राष्ट्रले नोभेम्बर २५ लाई महिलाबिरुद्ध हुने हिंसा उन्मूलन दिवसको रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा पेश गरे । संयुक्त राष्ट्रसंघको १७ डिसेम्बर १९९९ मो साधारणसभाले त्यसै दिनलाई अन्तर्राष्ट्रिय महिला हिंसाबिरुद्धको दिवसको रूपमा घोषणा गरेको थियो । त्यसपश्चात विश्वव्यापी रुपमा यो दिवस भव्यताका साथ मनाउन थालिएको छ । नोभेम्बर २५ महिला हिंसाबिरुद्धको अन्तर्राष्ट्रिय दिवस तथा डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवस पर्दछ । महिलाबिरुद्धको हिंसा मानव अधिकारकै मुद्दा भएकोले यी दुई दिवसबीचका दिनलाई १६ दिने अभियानका रूपमा लिइने गरिन्छ ।

नेपालमा यसको शुरुवात ः नेपालमा पनि वि.सं. २०५४ सालदेखि लैङ्गिक हिंसाबिरुद्धको अभियान शुरु भएको भएता पनि नेपाल सरकारले वि.सं. २०७५ साल कार्तिक २९ गते गरेको निर्णय अनुसार नोभेम्वर २५ तारिकलाई महिला हिंसाबिरुद्धको दिवस र वर्ष ७६ लाई लैङ्गिक हिंसाबिरुद्धको वर्षको रुपमा घोषणा ग¥यो । यसको उद्देश्य लैङ्गिक हिंसाबाट कुनै पनि व्यक्ति (महिला, बालबालिका, लैङ्गिक, अल्पसंख्यक…) हिंसामा नपरुन, हिंसाको शिकार बन्नु नपरोस्, हिंसाबिरुद्ध आवाज उठाउन सकुन र हिंसामुक्त समाज र राष्ट्र निर्माण गर्न सकियो भन्ने रहेको थियो । यस वर्ष पनि नेपालमा ‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसाबिरुद्धको अभियान’ भन्ने नाराका साथ यस १६ दिने अभियानलाई विविध कार्यक्रमसहित मनाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातहतका निकायहरुलाई पत्राचार गरे बमोजिम देशभरका सम्बन्धित सरकारी निकाय र विभिन्न संस्थाले हिंसा न्यूनीकरणका अभियानहरु सञ्चालन गरिरहेका छन् ।

नेपालमा लैङ्गिक हिंसा : लैङ्गिक हिंसा र विशेषगरी महिलाबिरुद्ध हुने हिंसा महिला र पुरुषबीचको असमान शक्ति सम्बन्धको सबैभन्दा स्पष्ट अभिव्यक्ति हो । नेपालमा लैङ्गिक विभेदको शिकार खासगरी महिला हुने गरेका छन् । खासगरी पारिवारिक, सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक लगायतका क्षेत्रमा महिला र पुरुषबीचमा समान र न्यायसंगत तरिकाबाट अवसरहरु प्राप्त नभएका कारण यस्तो प्रकारको हिंसा हुने गरेको पाइन्छ । एउटै घरभित्र बस्ने परिवारको कुनै पनि सदस्यले नाता सम्बन्धको दुरुपयोग गरेर सोही परिवारमा बस्ने अन्य कुनै परिवारका सदस्य माथि गरिने शारीरिक, मानसिक, आर्थिक, यौनिक र भावनात्मक दुव्र्यवहार जस्ता अन्याय वा अत्याचारपूर्ण व्यवहारहरू घरेलु हिंसा भनेर बुझ्नुपर्दछ । यस्तो हिंसा श्रीमान्–श्रीमती, सासु–बुहारी, आमा–बाबु, दाजु–भाइ, दिदी–बहिनी, नन्द–आमाजु, काका–काकी, भतिजा–भतिजी जोसुकैको बीचमा हुन क्दछ । घरेलु हिंसा गरीब, अशिक्षित परिवारमा मात्र हुने नभई यो जुनसुकै वर्ग, उमेर, शहर, गाउँ र जातजातिमा हुने गर्दछ ।

महिला भएकै कारणले महिला माथि गरिने सबै प्रकारका हिंसाहरू महिलाबिरुद्धका हिंसाहरू हुन् । वास्तवमा महिलामाथि हुने घरेलु हिंसा लैङ्गिक भेदभावको रूप हो । हाम्रो समाजमा महिलामाथि भइरहेका घरेलु हिंसालाई व्यक्तिगत कुरा, घरायसी मामिला भनेर खासै महत्व दिइँदैन । तर, यस्तो हिंसाले महिलाको व्यतिmगत र सार्वजनिक जीवनमा असर गर्दछ । यसले महिलाको स्वास्थ्यका साथै समग्र राज्यको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासमा समेत असर पार्दछ । घरेलु हिंसा महिलाबिरुद्धको सबैभन्दा पुरानो हिंसाको स्वरूप हो भने घरेलु हिंसाबाट महिला सबैभन्दा बढि पीडित हुन सक्ने स्थान घर हो । महिलामाथि गरिने हिंसात्मक कार्यहरूले स्वरुप विभिन्न छन् । घरमा श्रीमान्ले मदिरा सेवन गरी कुटपिट गर्नु, बहुविवाह गरेर विभिन्न प्रकारका यातनाहरू दिनु, दाइजोको कारण कुनै पनि प्रकारको हिंसात्मक दुव्र्यवहार गर्नु, छोरा नजन्माएकोमा अपमानित गर्नु, बोक्सीको आरोप लगाएर विभिन्न प्रकारका यातनाहरू दिनु, छाउपडी प्रथा, श्रीमतीको सल्लाहको सम्मान नगर्नु, खान लाउन नदिनु, घरबाट निकाल्नु, दुर्वचन बोल्नु, छोराछोरीमा भेदभाव गर्नु, चरित्र माथि शंका गर्नु, वैवाहिक बलात्कार, यौन दुव्र्यवहार आदि ।


लैङ्गिक हिंसाका कारणहरु
लैङ्गिक हिंसा विभिन्न कारणले हुन्छन् ती मध्येका प्रमुख कारणहरु :
– सांस्कृतिक कारण : पितृसत्तात्मक र यौनवादी दृष्टिकोणले पुरुषको प्रभुत्व र श्रेष्ठता सुनिश्चित गर्न हिंसालाई वैधता दिन्छ । यसको अतिरिक्त लैङ्गिक रूढीवाद र पूर्वाग्रह, स्त्रीत्व र पुरुषत्वको मानक अपेक्षाहरू, लिङ्गको सामाजिकीकरण, पारिवारिक क्षेत्रलाई निजी र पुरुष अधिकार अन्तर्गतको रूपमा बुझ्नु लैङ्गिक हिंसाका सांस्कृतिक कारण हुन् ।

– कानूनी कारणहरु

लैङ्गिक हिंसाको शिकार हुनुलाई धेरै समाजमा लज्जाजनक र कमजोर मानिन्छ । धेरै महिलाहरू अझै पनि आफ्नो व्यवहारको माध्यमबाट आफूबिरुद्ध हिंसा आकर्षित गर्ने दोषी मानिन्छन् । यो आंशिकरूपमा रिपोर्टिङ र अनुसन्धानको निम्न स्तरको लागि खाता हो । समलैङ्गिकतालाई अपराधको श्रेणीबाट बाहिर निकाल्ने कार्य अझै पनि धेरै समाजहरूमा भर्खरको कुरा हो । जब कि धेरै राज्यहरूमा समान विवाह अपनाएर प्रगति हासिल गरिएको छ । यसले कहिलेकाहीँ प्रतिक्रियाको नेतृत्व गरेको छ । उदाहरणका लागि परम्परागत परिवारलाई पुरुष र महिलाबीचको मिलनको रूपमा धारण गर्ने रायलाई बलियो बनाएर वा जहाँ देशहरूले ‘समलिङ्गी प्रचार’लाई निषेध गर्ने कानूनहरू अपनाएका छन् ।

– आर्थिक कारकहरू

आर्थिक स्रोतहरूको कमीले सामान्यतया महिलाहरूलाई बनाउँदछ, तर एलजीबीटी+व्यक्तिहरू विशेषगरी हिंसाको चपेटामा पर्छन् । यसले हिंसा र गरिबीको ढाँचा सिर्जना गर्दछ जुन आत्म–स्थायी हुन्छ, जसले पीडितहरूलाई आफैलाई बाहिर निकाल्न अत्यन्तै गाह्रो बनाउँदछ । जब वेरोजगारी र गरिबीले पुरुषलाई असर गर्छ, यसले उनीहरूलाई हिंस्रक तरिकाले आफ्नो पुरुषत्वलाई जोड दिन पनि सक्छ ।

– राजनीतिक कारकहरू

सत्ता र राजनीतिमा महिला र एलजीबीटी+व्यक्तिहरूको न्यून प्रतिनिधित्वको अर्थ उनीहरूसँग छलफललाई आकार दिन र नीतिमा परिवर्तनलाई प्रभावित गर्न वा लैङ्गिक–आधारित हिंसाको सामना गर्न र समानतालाई समर्थन गर्ने उपायहरू अपनाउने कम अवसरहरू छन् । लैङ्गिक हिंसाको विषय कतिपय अवस्थामा महत्वपूर्ण मानिएको छैन, घरेलु हिंसालाई पनि अपर्याप्त स्रोत र ध्यान दिइएको छ ।

– लैङ्गिक हिंसाका असरहरु

लैङ्गिक हिंसाले महिला र बालिकाहरूको शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा ठेस पु¥याएको छ । यसले महिला तथा बालिकाहरुको समानता, विकास, शान्ति र महिला तथा बालिकाको मानव अधिकारको परिपूर्तिका लागि बाधा पु¥याएको छ । हिंसाकै कारण उनीहरु आत्महत्याको तहसम्म पुग्छन् । नेपालमा बढ्दो आत्महत्याको तथ्याङ्कले पनि यो कुरालाई पुष्टी गर्दछ । यस्ता प्रकारका हिंसाले महिलाको जीवनको समग्र पक्षमा असर गरेको छ भने परिवार, समाज र राष्ट्रको समग्र विकासमा पनि वाधा उत्पन्न गरेको छ ।

नेपालमा लैङ्गिक हिंसाको अवस्था र अन्तर्राष्ट्रिय प्रतिबद्धता : नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबाट प्राप्त तथ्याङ्क अनुसार गत तीन आ.व.मा जम्मा ५५ हजार ८४६ वटा हिंसाका उजुरी दर्ता भएका छन् । जसमध्ये आ.व. २०७६/०७७ मा १५ हजार ६९२ वटा, आ.व. २०७७/०७८ मा १८ हजार ८४३ वटा उजुरी दर्ता भएका छन् भने आ.व. २०७८/०७९ मा यो संख्या बढेर २१ हजार ३११ पुगेको देखिन्छ । हिंसाको बढ्दो यो तथ्याङ्कले नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा हिंसा न्यूनीकरण गर्न गरेको प्रतिबद्धता पूरा नहुने संकेत देखिएको छ ।

नेपाल सरकारले दीगो विकास लक्ष्यको लक्ष्य पाँचमा लैङ्गिक समानता हासिल गर्न नेपालमा सन् २०३० सम्ममा सार्वजनिक क्षेत्रमा महिलाको सहभागिता ३३% पु¥याउने, लैङ्गीक असमानताको हालको सूचकलाई ०.४९ बाट घटाएर ०.०५ मा झार्ने र लैङ्गिक सशक्तिकरण मापनलाई ०.५७ बाट बढाएर ०.६९ पु¥याउने लक्ष्यसहित साझा प्रतिबद्धता व्यक्त गरेको छ । तथापि नेपालमा महिला तथा बालिकाबिरुद्ध बढिरहेका हिंसाका घटनाले सरकारको लक्ष्य प्राप्ति गर्ने कुनै संकेत देखिँदैन । सूचना र प्रविधिको विकास सँगसँगै हिंसाका स्वरुपहरु समेत बदलिरहेका छन् । सार्वजनिक सञ्जालको माध्यमबाट हुने हिंसाको दर बढ्दो छ । कानूनको दायरा र नियन्त्रण भन्दा बाहिरका यस्ता प्रकारका हिंसालाई नियन्त्रण र न्यूनीकरण गर्न राज्यमा थप चुनौति बढेको छ ।

झापामा लैङ्गिक हिंसाको अवस्था : जिल्ला प्रहरी कार्यालय झापाबाट प्राप्त तथ्याङ्क अनुसार आ.व. २०७६/०७७ मा १८१ वटा, आ.व. २०७७/०७८ मा २२० वटा र आ.व. २०७८/०७९ मा २४७ वटा घरेलु हिंसाका घटनाहरु दर्ता भएका छन् यस तथ्याङ्कले झापामा पनि वर्षेनि हिंसा बढीरहेको तथ्य पुष्टि गर्दछ ।

हिंसा नियन्त्रणका उपायहरु : त्यसैले हिंसा न्यूनीकरणका परम्परागत विधि वा प्रयासहरु असफल प्रायः भएको वर्तमान परिवेशमा समयसापेक्ष वातावरण सुहाउँदो हिंसा न्यूनीकरणका उपायहरु अवलम्बन गर्दै विद्यमान कानूनको प्रबद्र्धन, प्रभावकारी कार्यान्वयन र परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको छ । हिंसा न्यूनीकरणका लागि नयाँ थालनी गर्नुपर्ने, विद्यमान पाठ्यक्रममा यस्ता विषयलाई प्राथमिकताका साथ समावेश गर्दै वर्तमानको पाठ्यक्रममा थप सुधार गर्नुपर्ने, घर, अफिस र सार्वजनिक संस्था वा स्थानहरुमा महिलामैत्री वातावरण सृजना हुनुपर्ने, पुरुषको अर्थपूर्ण सक्रियतालाई प्राथमिकता दिइनुपर्ने र पीडकको आचरण सुधारमुखी व्यवस्था हुनुपर्ने जस्ता नविनतम् अवधारणाको कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि जिम्मेवारी निकायहरु स्थानीय पालिका, जिल्ला प्रशासन कार्यालय, न्यायिक निकायहरु, प्रहरी प्रशासन र राष्ट्रिय महिला आयोग अझ बढी सशक्त हुनुपर्ने आवश्यकता देखिन्छ । यसको साथै लक्षित समुदायमा काम गर्ने सरकारी, गैह्र सरकारी, अर्धसरकारी, संघ–संस्थाहरु, आम सञ्चारमाध्यम, राजनीतिक दल लगायत आम सरकोरवाला र समुदायको सक्रियता र भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।

अन्त्यमा, महिला हिंसा अन्त्य गर्न महिलाका साझा मुद्दामा तर्कसंगत रूपमा सशक्त आवाज उठान गर्नुपर्छ । महिलाको समानुपातिक समावेशी अर्थपूर्ण सहभागिता संविधानसभा मात्र सीमित नगरेर अब शैक्षिक संस्था, स्वास्थ्य, न्यायालय, लोकसेवा, सुरक्षा निकाय लगायत सबै निकायमा संवैधानिक व्यवस्था अनुसारको गुणत्मक प्रतिनिधित्वको सुनिश्चितता कसरी गर्ने भन्ने बारेमा पनि गृहकार्य हुन जरुरी छ । सबै निकायमा महिलाको सम्मानजनक प्रतिनिधित्व गराउन पूर्वाधार निर्माण गर्दै जान आवश्यक छ । यसो भएको खण्डमा महिलामा आर्थिक परनिर्भरता कम हुने, पारिवारिक द्वन्द्व कम हुने र महिला हिंसा सम्बन्धी घटनामा पनि कमी आई यौन दुराचार, सम्बन्धविच्छेद र सामाजिक विचलन जस्ता समस्या कम भई सामाजिक लागत पनि घट्दछ । त्यसपछि हिंसाका घटना क्रमशः कम हुँदै जाने छन् र हाम्रो समाज सभ्य बन्नेछ । अनि मात्र राज्यले दिगो विकास लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा जनाएको प्रतिबद्धता अनुसारको उपलब्धी हासिल हुनेछ । त्यसैले व्यक्ति, परिवार, समाज र सवैको प्रयासबाट मात्र हिंसा न्यूनीकरण र नियन्त्रण हुने भएकोले हामी सबैले ऐक्यबद्धता जनाऔं । सबैमा शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here