पथरी शनिश्चरे, 
नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले सहमतिमा सरकार गठन हुँदा प्रदेश- १ को मुख्यमन्त्रीको लागि आफ्नो दावेदारी रहेको बताएका छन्।
प्रदेश मन्त्री एवम् नेता आङबोले प्रदेशमा गठबन्धनको सरकार बन्ने र प्रदेश १ भागबण्डामा माओवादी परे आफ्नो मुख्यमन्त्रीको दाबेदारी रहने बताएका हुन्।
उनले निर्वाचन अघि भएका गठबन्धनसँगै केही दलहरूलाई समेटेर गठबन्धनको सरकार गठन गर्ने प्रष्ट पारेका छन्। एक कार्यकाल प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी वहन गरिसकेका आङ्बोले मुख्यमन्त्री बाहेक अन्यतर्फ आफू नजाने बताएका हुन्।
उनले ‘सहमतिमा सरकार हुँदा मेरो दावेदारी मुख्यमन्त्रीमै रहनेछ । त्यसबाहेक अन्यत्र नजानेमा प्रस्ट छु। मन्त्री भएर एक कार्यकाल जिम्मेवारी वहन गरिसकेको हुंदा त्यहाँ नेतृत्वदायी भूमिकामा रहन्छु। ‘ भनेका छन्। उनले यसपटक मन्त्रीको जिम्मेवारीमा पार्टीका अन्य साथीलाई अवसर दिने बताएका छन्। यसैबीच उनले प्रदेश १ को सरकार सत्ता गठबन्धनकै बन्ने कुरा बताएका थिए । तैपनि, यसमा केन्द्रीय भागबन्डाले भने मुख्य अर्थ राख्ने उनले औल्याए।
‘ सात प्रदेशमा कस्तो प्रकारको भागबन्डा रहन्छ ; त्यो महत्वपूर्ण हुन्छ। यता, राप्रपा र जसपासँग पनि सरकारबारे हामी छलफलमा जानेछौँ।’ भन्दै उनले अगाडि थपे । नेकपा माओवादी केन्द्रले प्रदेश निर्वाचनमा प्रत्यक्षतर्फ ९ र समानुपातिकमा ४ गरी कुल १३ सिट हासिल गरेको छ।
























