झापा– ३ बाटै आठ सांसद

0
216

भद्रपुर।

देशकै राजनीतिमा चर्चा पाएको झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी आठ जना सांसद बनेका छन् ।

यस क्षेत्रबाट तीन जना प्रत्यक्ष र पाँच जना समानुपातिकबाट सांसद बनेका हुन् । ती मध्ये सङ्घीयतर्फ चार र प्रदेशतर्फ चार जना रहेका छन् । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै दोस्रो पटक सांसद बनेका छन् ।

राप्रपाबाटै समानुपातिकतर्फ कचनकवलकी निमसरी राजवंशी प्रदेश सांसद बनेकी छिन् । राजवंशी कचनकवल गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् । त्यस्तै नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ कचनकवलका भूमिप्रसाद राजवंशी प्रदेश सांसदमा निर्वाचित भएका छन् । राजवंशीले नेकपा एमालेका नेता तथा निवर्तमान प्रदेश सांसद वसन्त बानियाँलाई पराजित गरेका हुन् ।

कांग्रेसबाटै समानुपातिकतर्फ भद्रपुरका मोहन महर्जन प्रदेश सांसदमा चुनिएका छन् । महर्जन कांग्रेसका पूर्व भद्रपुर नगर सभापतिसँगै सिटौलाका विश्वास पात्र हुन् । त्यसैगरी नेकपा एमालेबाट प्रत्यक्षतर्फ छविलाल चुडाल प्रदेश सांसदमा निर्वाचित भएका छन् ।

हल्दिबारीका चुडालले माओवादी केन्द्रका नेता तथा निवर्तमान प्रदेश सांसद पूर्णसिंह राजवंशीलाई पराजित गरेका थिए । एमालेबाटै समानुपातिकतर्फ आर.के. खम्बू (कालूराम राई) सङ्घीय सांसद बनेका छन् । खम्बू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका राजनीतिक सहयात्री हुन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ भद्रपुरकी निशा डाँगी सङ्घीय सांसद बनेकी छिन् । डाँगी हाल काठमाडौँमा बसेर पत्रकारिता गर्दै आइरहेकी छिन् । त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिकतर्फ भद्रपुरकी सहनाज रहमान सङ्घीय सांसद बनेकी छिन् ।

मुस्लिम कोटाबाट रहमान जसपाका अध्यक्ष उपेन्द्र यादवकी विश्वास पात्र हुन् । २०७४ सालको आम निर्वाचनमा यस क्षेत्रबाट चार जना सांसद थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here