बुद्धशान्तिका १२ हजार बढी किसानको सूचीकरण गरिँदै

0
374

बुद्धशान्ति ।

झापा बुद्धशान्ति गाउँपालिकाले किसान सूचीकरण कार्यक्रमको सुरुवात गरेको छ । असंगठित रहेका किसानका बारेमा विस्तृत जानकारी वेभसाइटमा राख्न र उनीहरूको पहिचानको लागि परिचय पत्र वितरणको लागि गाउँपालिकाले किसान सूचीकरण कार्यक्रमको सुरुवात गरेको छ ।

गाउँपालिकाले किसान सूचीकरण गर्न सहजकर्ता समेत परिचालन गरेर किसानको सूचीकरणको सुरुवात गरेको हो । ७ वटा वडा रहेको बुद्धशान्ति गाउँपालिकामा १ नम्बर वडामा यस अघि नै सूचीकरण गरिसकेकाले अब बाँकी ६ वटा वडाहरुमा सूचीकरणका लागी कर्मचारी परिचालन गरिएको गाउँपालिका कृषि बिकास शाखाका प्रमुख अर्जुन पौडेलले बताएका छन् ।

१ नम्बर वडामा १ हजार ८ सय २१ जना किसान परिवार यस अघि नै सूचीकृत भएको र अब अरु वडामा गरि जम्मा बुद्धशान्ति गाउँपालिका भरीका १२ हजार किसान परिवार सुचीकृत गरिने गाउँपालिका कृषि बिकास शाखाका कृषि प्राविधिक कृष्ण ढुंगेल बताउँछन् । करिव ५ महिना भित्र तथ्याङ्क संकलन गरिसक्ने उद्धेश्य राखेर उक्त कार्यक्रमको सुरुवात गरेको बताइएको छ । ‘गाउँपालिकाले किसान सूचीकरणका लागि सहजकर्ताको छनोट गरेपछि उनीहरूलाई तालिम गराएपछि काम सुरु गरेका हौँ’ कृषि प्राविधिक कृष्ण ढुंगेल बताउँछन् ।

उनले किसानको सूचीकरण गरीसकेपश्चात वर्गीकरण गरी बास्तविक किसानलाई परिचय पत्र नम्बर सहितको किसान परिचय पत्र वितरण गरिने समेत बताए । किसानको सूचीकरण मार्फत किसानको व्यक्तिगत विवरणदेखि जग्गा, खेतीबाली, पशुपालन, मत्स्यपालनका साथै आधारभूत विवरण, पारिवारिक विवरण, खेतबारीको विवरण, जमिन करारमा लिए दिएको विवरण, कृषि व्यवसाय दर्तासँग सम्बन्धित विवरण, आय र खर्चको विवरण संकलन गरिने छ ।

त्यस्तै बालीको उत्पादन सम्बन्धी विवरण, बालीको बजारीकरण सम्बन्धी विवरण, कृषिमा मेसिनको प्रयोग सम्बन्धी विवरण, कृषि र पशुपालन सम्बन्धी संरचनाको विवरण, पशुपालन सम्बन्धी मेसिनको प्रयोग सम्बन्धी विवरण, ह्याचरी तथा मत्स्यपालन सम्बन्धी संरचनाको विवरण संकलन गरिने छ ।

त्यस्तै मत्स्य पालन सम्बन्धी मेसिनको प्रयोग, पशुपन्छी तथा मत्स्य उत्पादनको बजारको विवरण संकलन गरिने छ । सूचीकृत किसानको विवरण वेभसाइटमा राखिने छ । वेभसाइटमा राखिएको किसानको विवरणले उनीहरूको वास्तविकता थाहा पाउन सजिलो हुनेछ । किसान सूचीकरणले वास्तविक किसानको पहिचान हुनेछ । सरकारमार्फत् सञ्चालन हुने किसान लक्षित कार्यक्रमहरु वास्तविक किसानसम्म पुग्ने कृषि प्राविधिक ढुङ्गेल बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here