धान फल्ने खेत वनमाराले ढाक्यो

0
308

गलेश्वर,

लाहुरेहरुको जिल्लाका रुपमा परिचित म्याग्दीबाट श्रमका लागि विदेशिने बढेसँगै खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । बाह्रै महिना खेती गरी जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयहरु कृषि गर्न छाडेर सहर पस्न थालेका छन् ।

जिल्लाबाट अधिकांश युुवाहरु श्रमका लागि विदेशिएपछि गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र बाँकी छन् । जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा धेरैजसो खेतीयोग्य जमिन बाँझै देख्न सकिन्छ ।

सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका– २ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझो रहेको स्थानीय चित्रबहादुर रिजालको भनाइ छ । “खेती गर्नका लागि जनशक्ति नै छैनन्, बुढाबुढीले गर्न नसक्ने भएपनि जग्गाजमिन बाँझै छाड्नु बाध्यता बनेको छ ।”

उब्जाउ हुने जमिन बाँझो भएपछि स्थानीयहरु सदरमुकामदेखि खाद्यन्न किनेर खान थालेको मालिका– ३ का जगबहादुर बुढाको भनाइ छ । “कोही रोजगारी खोज्दै विदेश गए, विदेश नजाने गाउँ छाडेर सहर पसेपछि खेती गर्ने मान्छे नै पाइन छाडे”, उहाँले भन्नुभयो, “उत्पादन नभएपछि आयातित खाद्यान्न किनेर खानुको विकल्प छैन ।” केही स्थानमा खेतीयोग्य जग्गा ‘प्लटिङ’ हुने क्रम बढेको उहाँको भनाइ छ ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले हरेक वर्ष खेतीयोग्य जमिन १५ प्रतिशतले घटदै गएको बताउनुभयो । तरकारी उत्पादन हुने खबरा, बगरफाँट, सिम, थामडाँडा, बाबियाचौरमा पनि जमिन बाँझो हुने क्रम बढेको छ । सिङ्गा, बगरफाँट, डाँडाखेतका खेतीयोग्य जमिनमा ‘प्लटिङ’ बढेपछि धान उत्पादन घट्दै गएको उहाँको भनाइ छ ।

कृषि कार्यालय र स्थानीय तहले कृषिउपजको उत्पादन बढाउन प्रोत्साहनका लागि खाद्यन्न, तरकारीबाली, माछा व्यवसाय, च्याउखेतीमा अनुदान दिन थालेका छन् तर यति हुँदा पनि किसानलाई त्यसतर्फ आकर्षित गर्न सकिएको छैन ।

भूकम्पपछि गाउँबाट सहर झर्ने क्रम बढेसँगै खेतीयोग्य जमिनमा पल्टिङ बढेको हो । जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक पचासभन्दा बढी जग्गाको कारोबार हुन थालेको मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here