ऋद्धी सिद्धी महिला कृषि सहकारीको १४औं सभा सम्पन्न

0
266

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित ऋद्धी सिद्धी महिला कृषि सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामको सभाहलमा संस्था सञ्चालक समितिकी अध्यक्ष कुसुम राईको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघ लेखा समितिका सदस्य प्रेमसागर सापकोटाले उद्घाटन गरेका थिए ।

सभामा समितिकी अध्यक्ष राईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिकी संयोजक कमला भट्टराईले लेखा समितिको प्रतिवेदन, व्यवस्थापक चन्द्रकला राईले गत आर्थिक वर्ष ०७८÷०७९ तथा चालु आर्थिक वर्ष ०७९÷०८०को अनुमानित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ५६ लाख ५१ हजार पाँच सय रुपैयाँ, जम्मा बचत संकलन दुई करोड ९५ लाख सात हजार ५२ रुपैयाँ, जम्मा ऋण लगानी एक करोड एक लाख ६० हजार चार सय ९५ रुपैयाँ, विभिन्न शिर्षकमा रहेको कोषमा जम्मा १५ लाख २२ हजार पाँच सय ९१ रुपैयाँ र जमिनमा लगानी १० लाख ६० हजार रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा जम्मा आम्दानी २८ लाख १९ हजार तीन सय ९४ रुपैयाँ, जम्मा खर्च २५ लाख ७९ हजार छ सय ६० रुपैयाँ र शुद्ध नाफा दुई लाख ३९ हजार सात सय ३४ रुपैयाँ गरेको संस्थाले चालु आर्थिको वर्षको लागि अनुमानित नौ करोड ३० लाख ५० हजार पाँच सय रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सभामा पेश गरेको छ ।

सोही सभामा असल बचतकर्ता अञ्जना राई, भानुराज घिमिरे र सुनिता शाह, असल उद्यमी माया पौडेल, मुना राजवंशी, सुमित्रा बस्नेत र होमबहादुर मैनाली, ज्येष्ठ शेयर सदस्यद्वय पवित्रा गौतम र हर्कमाया मगर र उत्कृष्ट कृषि पशुपालनतर्फ श्यामबहादुर पौडेललाई सम्मानित गरिएको थियो ।

त्यसैगरी शेयर सदस्यहरुका सन्तानमध्ये गत शैक्षिक वर्ष २०७८ को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने आस्था राई, एलिना राई र निकेश मगरलाई प्रशंसा पत्रसहित नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो । त्यस्तै गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुने संस्थाका शेयर सदस्यद्वय देवकुमार राई र सरु बुढाथोकीलाई सम्मानित गरिएको थियो ।

सभामा लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष चन्द्रकुमारी सुब्बा, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष रञ्जना कार्की, शनिश्चरे सुपारी कृषि सहकारी संस्थाका ऋण समितिका संयोजक भानु जोशी, सम्मानित व्यक्तित्व राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिकी सदस्य कलामाया खड्काले स्वागत गरेको उक्त सभाको सञ्चालन व्यवस्थापक राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here