अर्जुनधारा ।

‘हुनेले दिने, नहुनेले लिने’ भन्ने मुख्य नारासहित झापाको अर्जुनधारा–३स्थित खुदुनावारीमा बिहीबारदेखि निःशुल्क न्यानो कपडा वितरण केन्द्र सञ्चालनमा आएको छ ।
सामाजिक कार्यमा सक्रियमा स्थानीय युथ अफ खुदुनावारीले सञ्चालनमा ल्याएको उक्त केन्द्रको प्रमुख अतिथि अर्जुनधारा–३ वडा समितिका वडाध्यक्ष सीताराम भट्टराईले उद्घाटन गरेका थिए ।
पोशाक अभावमा कोही पनि बाँच्न नपरोस् साथै प्रयोग नगरी थन्काएर राखिएको पोशाकहरुलाई प्रयोगमा ल्याउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष मनोज सिटौलाले जानकारी दिए ।
केन्द्रमा पुरुष, महिला, ज्येष्ठका लागि हुने जीन्स पेन्ट, ज्याकेट, वीन्डप्रुफ, स्वीटर, ट्राउजर, टिसर्ट, दौरा सुरुवाल, कुर्ता सुरुवाल, टोपी आदि रहेको संस्थाका सचिव आनन्ददेव कट्टेलले जानकारी दिए ।
संस्थाका अध्यक्ष सिटौलाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष मदनकुमार गिरीले गरेका थिए ।





























