कचनकवल गाउँपालिकाले खरिद गरिएको लाखौँको मनोरञ्जनात्मक सामग्री अलपत्र

0
119

झापा, कचनकवल गाउँपालिकाले नमुना चिल्ड्रेन पार्कको नाममा खरिद गरिएको मनोरञ्जनात्मक सामग्री अलपत्र अवस्थामा छाडेको पाइएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०७७÷७८ को योजना अन्तरगत मनोरञ्जनात्मक सामग्री खरिद गरेका थिए । तर, खरिद गरिएका लाखौँ मुल्य बराबरका मनोरञ्जनात्मक सामग्रीहरू गाउँपालिका परिसरभित्र अलपत्र अवस्थामा राखिएको थियो । अहिले सो सामग्री त्यहाँबाट हटाएर गाउँपालिकाले सडक छेउको खाली जमिन राखेको देखिन्छ ।

हात्ती लगायतका विभिन्न जनावरको मूर्तिहरू झन्डै दुई वर्षदेखि गाउँपालिकामा थन्काउँदा कुनैको पुच्छर छैन भने कुनैको खुट्टा भाँचिएर अवस्थामा जीर्ण बनेको छ ।

तत्कालीन सङ्घीय सांसद राजेन्द्रप्रसाद लिङ्गदेनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विनियोजित रु १५ लाख र तत्कालीन प्रदेश सांसद वसन्तकुमार बानियाँले सरकारबाट विनियोजित ५ लाख गरी करिब २० लाख मुल्य बराबरको मनोरञ्जनात्मक सामग्रीसहित देवीदेवता मूर्ति तत्कालीन गाउँपालिका अध्यक्ष अञ्जार आलमको पालामा खरिद गरेका थिए ।

हात्तीसहित पूर्व राजाको मूर्ति र शिव भगवानको मूर्ति खरिद गरेर ल्याए पनि केचना झिलमा राजाको मूर्ति र भुवनेश्वर शिवालयमा शिवको मूर्ति स्थापना गरिसकेको छ । हालसम्म हात्तीका मूर्तिहरू प्रयोगमा नल्याएको हो ।

लक्ष्मी माध्यमिक विद्यालय बनियानीको नाममा रहेको जमिनमा कचनकवलकै नमुना चिल्ड्रेन पार्क बनाउने उद्देश्य गाउँपालिकाको थियो । गाउँपालिकाले प्रदेश सरकारको बजेट सो जमिनमा लगाइएको कम्पाउन्ड वालको काम अधुरै छ ।

यता गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले हात्ती लगायत मनोरञ्जनात्मक सामग्री अघिल्लो जनप्रतिनिधि के र कस्तो प्रयोजनका लागि खरिद गरेको गाउँपालिकामा त्यसको अभिलेख नहुँदा समस्या भएको बताए । गाउँपालिका परिसरमा थन्काइएको सो सामग्रीहरू पार्किङ अभावका कारण अन्य सारिएको बताउँदै उनले भने, ‘ती सामग्रीहरू अब ६ नम्बर वडा कार्यालय परिसरमा लगेर राख्ने छौँ ।’

खरिद गरिएका सामग्रीहरू कसरी र कहाँ उपयोग गर्ने विषयमा कार्यपालिकाको बैठकबाट निर्णय गरी त्यसको व्यवस्थापन गरिने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here